back

महामहिम राष्ट्रपतिज्यूलाई खुलापत्र

वि.सं.२०७५ फागुन ६ सोमवार

465 

shares
GLOBAL IME AD
NTC AD

महामहिमज्यू , हजुर हामी सबै नेपालीहरुको अविभावकत्व हुनुहुन्छ । देश विदेशमा उच्च स्तरिय काम गरिराखेका स्वतन्त्र बौद्धिक व्यत्तित्वहरुले हजुरसँग दर्शन भेट गर्नको लागि सहजता भएमा अझ धेरै सहि सुचना प्रवाहमा उत्कृष्ठ हुने थियो भन्ने मलाई लाग्दछ । किनकी कतिपय बौद्धिक व्यत्तित्वहरु राजनितिक सिफारिसमा, भनसुन गरेको रुचाउँदैन् उनिहरुको हजुरसँग भेट््ने चाहना र आशा निराशमा परिणत नहोस भन्ने मेरो आशय हो

 

महामहिम राष्ट्रपतिज्यू ,
गणतन्त्र नेपालमा दोस्रो राष्ट्रपति तथा पहिलो महिला राष्ट्रपतिको रुपमा र दोस्रो कार्यकालमा पनि हजुरलाई निरन्तरता पाउँदा हामी सम्पुर्ण नेपाली ज्यादै हर्षित छौं । विगत ६ बर्षदेखि वातावरणीय तथा पर्यावरणीय गतिविधिको चिन्तन र संरक्षण सम्बन्धि नेपालका विभिन्न भौगोलिक स्थानमा भईरहेको चेतनामुलक मिलानकोली अभियानमा हजुर पनि जोडिनु भएकोमा म लगाएत यस अभियानसँग जोडीनु भएका सम्पुर्ण कलाकारहरु, व्यक्ति र संघ संस्थाहरु धेरैनै गौरवान्वित बनेका छौं ।

राष्ट्रकवि माधव घिमिरेज्यू सँगै संगीत पेशालाई आफ्नो जिवन बनाएका राष्ट्रका ३६५ गायक गायीकाज्यूहरुको स्वरमा रहेको तथा गिनिज वल्र्ड रेकर्डसमा दर्ता भएको मिलानकोली गित तथा वृत्तचित्र हजुरको बाहुलिबाट लोकार्पण हुँदा यस अभियान सँग आवद्द सयौं संयोजक, प्राविधिक, स्वंयसेवकहरुलाई ठुलो हौसला मिलेको थियो । हजुरको प्रेरणा, शुभकामना र आर्शिबादले आज यो अभियान देशका हरेक कुनामा अगाडि बढिरहेको जानकारी गराउन पनि चाहन्छु । यो ६ बर्षको समयमा यस अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपालका विभिन्न भौगोलिक स्थानका हजारौ स्थानिय जनसमुदायहरु, लाखौ स्कुल कलेजका नानीबाबुहरु लाभान्वित हुनुभएको छ । हजुर समेत जोडिनुभएको देशको गौरब, सहिसुष्णता, सामाजिक एकता बोकिरहेको यो अभियानको एक अभियन्ता हुन पाउँदा गौरबको महसुस भएको छ । यो अभियानमा हजुरको सहभागिताले देशमा केहि काम गरौं भन्ने म जस्ता हजारौं युवाहरुलाई ठुलो प्रेरणा र दायीत्वबोध मिलेको छ ।

आदरणीय महामहिमज्यू , नेपालमै संभावना छन् भन्ने दृढ संकल्प लिएर मातृभुमीको माटोमा केहि गरौं भन्ने सोच र उदेश्यले नेपाल फर्किएको म एक युवा, २०५६ सालमा यो देशले नागरिता दिएको छ । यो राष्ट्रले मलाई कक्षा १ देखि स्नातकोत्तरसम्म अति न्युन शुल्कमा पढाएको छ । राष्ट्रले मलाई गरेको यो सम्मान र योगदानबाट आफुले सिकेको सिप र ज्ञान भोलिका पुस्ताहरुका लागि दिनुपर्दछ भन्ने उदेश्य र दृढ अठोट लिई जर्मनीबाट वातावरण विज्ञानमा दास्रो स्नातकोत्तर गरेर २०६९ सालमा स्वदेश फर्किएको थिय । उतै बस्न मिलेन ? अरु देश तीर स्थानतरण हुन मिलेन ? नेपाल किन आएको ? जस्ता अनेकौं अनुत्तरित प्रश्नबाट र आफन्तबाटै मुर्ख र पागलको उपमा मिलेको तर निरन्तर यहि माटोको सुभाष र सुगन्धलाई आफ्नो प्राण ठानेर मातृभुमिमा रमाईरहेको यो युवा देशमा पनि संभावना र अवसर छ भन्ने उदारण दीनको लागि कटिबद्ध छु भन्ने कुरा हजुरलाई जानकारी गराउन पाउँदा गौरवान्दित भएको छु ।

महामहिमज्यू हजुरसँग मेरो प्रत्यक्ष भेट २०७४ भाद्र १७ गते शनिबारको दिन मिलानकोली गीत तथा वृत्तचित्र लोकार्पण कार्यक्रम आर्मी अफसिर्स क्लबको मञ्चमा भएको थियो । राष्ट्रका सष्ट्रा, सर्जक र कलाकारहरु जोडिएको राष्ट्रभाव बोकेको यो अभियानमा हजुरको उपस्थितिले कार्यक्रमको गरिमा बढेको थियो । हजुरको त्यो गरिमामय उपस्थितिले हामि सम्पुर्ण कलाकार, संयोजक र स्वंयसेवकहरुलाई ठुलो हौसला मिलेको थियो । हजुरलाई त्यो कार्यक्रममा उपस्थित गराउन करिब ३ महिनाको निरन्तर प्रयास र हजुरको सचिवालयको भेटघाट र दौडानबाट मात्र हजुरलाई त्यस कार्यक्रममा उपस्थिति गराउन सकिएको हो । कार्यक्रमको मिति तय भईसक्दा पनि हजुर सँग प्रत्यक्ष भेटेर कायक्रमको बारेमा केहि सल्लाह सुझाव लिने ठुुलो ईच्छा थियो तर अपसोच हजुरको सचिवालय द्वारा त्यसलाई ठाडै ईन्कार गरियो । त्यो ३ महिनाको समयमा विशुद्ध राजनिति व्यत्तीलाई हजुरको सचिवालय सँग समन्यम गर्नको लागि कति कठिन र मुस्कील भोग्नु पर्दौ रहेछ भन्ने कुराको म प्रत्यक्ष अनुयायी हुँ ।

महामहिमज्यू, करिब बाह्र सय आदरणीय विशिष्ट व्यत्तिहरु, कलाकारज्यूहरु, विज्ञ, समाजसेवि, राष्ट्र सेवकहरुको र अभियानका संयोजक तथा स्वयंमसेवक उपस्थिति भएको सो लोकापर्ण कार्यक्रमको चलिरहँदा हजुर सँग मेरो केहि संवाद भएको थियो । सायद हजुरलाई याद पनि होला, हाम्रो संवादमा हजुरसँग कार्यक्रम अगाडि कयौ पटक भेट्न अपिल गर्दा पनि भेट्न नपाएको कुरा मैले राखेको पनि थिय । कार्यक्रमको अगाडि दिनहरुमा भेट्न पाएको भए अझ राम्रो हुने हजुरको आशय मैले बुझेको थिय । कार्यक्रमको समापन सँगै अभियान र समसामयीक रुपमा थप सुझाव र सल्लाह लिनको लागि छिट्टै भेट्ने बाचा सहित हजुर कार्यक्रमबाट बहिरगमन हुनुभएको थियो । तर अपसोच आज एकबर्ष भन्दा बढि समय वितिसक्दा पनि हजुरसँग भेट्न सकेको छैन । हजुरको त्यस उपस्थिति मेरो लागि पक्कै पनि अन्तिम थियन मलाई लाग्छ शुरुवात थियो । किनकी त्यस पछि म देशका लाखौ विद्यार्थी नानीबावुहरुलाई चेतनामुलक अभियान निरन्तर लागिरहेको छु । हरेक भौगोलिक स्थानमा त्यहाँको विविधता, सांस्कृतिक, सामाजिक पाटोको अध्ययन गरिराखेको छु । अहिले देशमा भएको सामाजिक परिवेशलाई बुझ्न र जानकारी लिनको लागि म उत्कृष्ट माध्यम हुने सोचले हजुरलाई भेट्न खोजेको हुँ । अहिले निरन्तर रुपमा चलिरहेको अभियानामा हजुरबाट सल्लाह सुझाब पाउनको लागि र अभियानलाई थप पे्ररणा मिलोस भन्ने सोचले पछिल्लो १ बर्षमा हजुरसँग दर्शनभेट गर्नलाई करिब २० पटक अपिलहरु हजुरको सचिवालयसँग गरिसकेको छु । त्यो अपिलले काम नगरेर आज खुलापत्र कोर्देछु ।

महामहिमज्यू , यहि अभियानको दौडानमा म विदेशका केहि कार्यक्रमहरुमा सहभागि भैरहेको छु । मलाई राम्रो सँग थाहा छ वातावरणीय तथा पर्यावरणीय क्षेत्रमा हजुरलाई अत्यन्त चासो र सरोकार राख्नुहुन्छ । हजुरको स्वदेश तथा बिश्वमा भएको विभिन्न कार्यक्रममा भएको उपस्थितिले पनि यसलाई अझ प्रष्ट पार्दछ । किनकी वातावरणीय समस्या हरेक समाजको चिन्तन, सोच र सामाजिक पक्षसँग जोडिएका हुन्छन् । केहि समय अगाडि फ्रान्सको पेरिसमा भएको अन्तराष्ट्रिय जलवायु परिवर्तन सम्बन्धि सम्मेलनमा नेपालको प्रतिनिधिको हिसावले कार्यक्रममा प्रस्थान गर्नुअघि हजुरलाई भेट्नको लागि पनि ठुलो प्रयास गरेको थिय त्यो पनि सफल हुन सकेन । हुनत सचिवालयको व्यस्तता होला, हजुरलाई कार्यक्रमको निमन्त्रणामा दैनिक रुपमा दर्जनौ निवेदन आउने गर्दछन् । प्राय जसो स्कुल, क्याम्पस, मन्दिर तथा सांस्कृतिक कार्यक्रम उद्घाटनका कार्यक्रमका लागि आउँदा रहेछन् सो कुरा हजुरको कार्यलयमा मैले ३ महिनाको समयमा भेटघाटमा भएको अनुभव हो । सो समयमा हजुरको सचिवालयमा गाउँपालिका तथा नगरपालिकामा निर्वाचित अध्यक्ष, उपाध्यक्षहरु, विदेशमा आफ्ना छोरा छोरीको भिषा लागेर हजुरबाट शुभकामना लिन आउनेहरु, राजनितिक निकट कार्यकर्ताहरु भेट्नको लागि तछाड मछाड गर्नेहरुको फोन संवाद र भेटघाटमा नै हजुरको सचिवालयमा व्यस्तता मैले प्रत्यक्षदर्शीको रुपमा देखेको थिए ।

राष्ट्रको हितमा कामगर्ने सोच भएका व्यक्ति र संस्थाहरुको उपस्थिति त्यस समयमा न्युन देखे । मलाई राम्रो सँग थाहा छ हजुरको यो गरिमामय संस्थाले देशमा भईरहेको कार्यक्रममा औपचारिक उपस्थिति मात्र सिमित नरहेर प्रत्यक्ष समाजमा जागरण ल्याउन सक्ने खालका कार्यक्रमहरुमा मात्र हजुरको सहभागिता र उपस्थिति देख्न हामी चाहन्छौं । महामहिमज्यू , हजुर हामी सबै नेपालीहरुको अविभावकत्व हुनुहुन्छ । देश विदेशमा उच्च स्तरिय काम गरिराखेका स्वतन्त्र बौद्धिक व्यत्तित्वहरुले हजुरसँग दर्शन भेट गर्नको लागि सहजता भएमा अझ धेरै सहि सुचना प्रवाहमा उत्कृष्ठ हुने थियो भन्ने मलाई लाग्दछ । किनकी कतिपय बौद्धिक व्यत्तित्वहरु राजनितिक सिफारिसमा, भनसुन गरेको रुचाउँदैन् उनिहरुको हजुरसँग भेट््ने चाहना र आशा निराशमा परिणत नहोस भन्ने मेरो आशय हो ।

आदरणीय महामहिमज्यू म अभियानको दौडानमा देशका लगभग सबै स्थानको सामाजिक, सांस्कृतिक र भौगोलिक स्थितिबाट परिचित छु यो कुरा हजुरलाई राम्रो सँग थाहा छ । मैले बझाङ, बाजुरा, कालिकोट, मुगुका जनजिवन, विकटता सँगै सुगम ठाउँ मानिएका सप्तरी, धनुषा, बर्दिया जस्ता तराईका जिल्लामा भएको चरम गरिबिबाट पिल्सीएका जनजिवन देखेको छु । त्यहाँका नानीबाबुहरुको खुटामा लगाउने चप्पल त के हरमा लाउने एकसरो कपडा पनि छैन । शिक्षाको गुणस्तर खस्कदो छ कति ठाउँमा त नानीबाबुहरु पढ्नलाई स्कुल समेत छैन । स्वास्थ्यको लागि अस्पताल त के सिटामोल पनि पाईदैन । समयमा जिवनजलको अभावबाट झाडाबान्ताको कारणले मृत्युको मुखमा पुग्नुपर्ने अवस्था छ । कयौं दिन हिडेर पुग्ने ति विगट, दुर्गम ठाउँका समस्या र वस्तुस्थिति संचारमाध्यममा कहिल्यै सुन्न र पढ्न पाईदैन जुन मैले आफ्नै आँखाले देखेको छु । यहि राजधानी नजिको धादिङ्गका चेपाङ्ग जनसमुदायको अवस्था पनि उस्तै बिकराल छ । कति ठाउँमा महिलालाई चरम यातना दिईन्छ । बोक्सीको नाउँमा एकल महिलालाई दण्डित गरिन्छ । लैङिक भेदवाद र छुवाछुत जस्ता कुरिति र कुसंस्कृति कतिपय समाजमा यथावत छन् । तुलनात्मक रुपमा विकसीत मुलुकमा यो २१ औं शताब्दिको जनजिवन देख्दा लाग्दछ अहिलेका हाम्रा सामाजिक पक्षहरु अतिनै पिछडिएको र अन्धकारमा रुमल्लीरहेको आभाष हुन्छ ।

महामहिमज्यू नेपालका यी अहिलेका सामाजिक कुसंस्कृति र कुरितिको अश्रुपातले विचलन यो मानसपटल हजुरको यो कार्यलय अगाडि आउँदा भक्कानिन्छ किनकी त्यसको संयोजन गर्ने सामथ्र्य हजुरको संस्थामा सम्भव देखेको छु । हजुर आँफै एकल महिला, राष्ट्र प्रमुखको हैसियले यस्ता संवेदनशिल कुराहरुको सुचनाहरु हजुरसँग कसरी आईपुग्छन् यो मेरो मानसपटलमा खेलेको प्रश्न पनि हो । विगत ६ बर्ष यता राज्यबाट कुनै सहयोग नपाएको यो अभियान हजुरको पनि सहभागिता सर्वोच्च ठानेको छु । हजुरसँग भेटका लागि हजारौं नेपाली आतुर छन् त्यो अत्यन्त असम्भव छ, तथापी देशको महिमा जगेर्ना गर्नुपर्छ भन्ने चेतनामुलक अभियानमा अनवरत रुपमा लागेका म जस्ता युवाहरुलाई हाम्रो जस्तो अविकसीत देशमा के कस्ता समस्याहरु आईलाग्दा रहेछन् भन्ने कुराहरुपनि हजुरले पनि थाहा पाउनु पर्दछ भन्ने मेरो व्यक्तिगत आशय हो ।

अहिलेको यो हाम्रो समय देशमा अझै पनि कुण्ठीरहेका कुसंस्कृति र कुरितिहरुलाई निमिट्यान्न पार्ने सुनौलो अबसर हो । नेपालको ईतिहाँसमा हामीबाट यो राष्ट्रले के लाभ लियो भन्ने लेखाजोखा ईतिहाँसले अवस्यपनि हिसावकिताव राख्नेछ । त्यसैले हजुरबाट चालेका कदमले देशमा सहिसुणता र मित्वव्ययिता बढाउने र यो गौरबमय समयमा विभिन्न अनुयायी, अभियन्ताहरुसँग हजुरले समाजमा प्रत्यक्ष सरोकार राख्ने खालका अभियानहरु अगाडि बढ्नुहुनेछ भन्ने कुरामा हामिले ठुलो आश लिएका छौं । त्यस्ता व्यक्तिहरु जो राष्ट्रको लागि प्रत्यक्ष रुपमा योगदान गरिरहेका छन् उनिहरुको विचार र योजनालाई हजुरबाट हौसला प्रदान गर्ने र उत्पेरणा जगाउने खालको सम्बन्ध कायम राख्न पनि म अपिल गर्दछु । हजुरलाई भेट्नका लागि गरिएको प्रस्तावित व्यतिmहरु र निमन्त्रणा गरिएका कार्यक्रमको बारेमा हजुरलाई जानकार होस भन्ने पनि अपिल गर्दछु ।

हजुरको सचिवालयमा यस्ता व्यक्तिहरु हुन् जो विशुद्ध राजनितिबाट आएका प्रभावशालि, देशको लागि र हजुरको संस्थाको गरिमा बुझेका व्यत्तिहरु, भौतिक सुखबाट टाढा रहेका सीर्जनशिल व्यक्तिहरु हुन सकुन जसले देशकै गरिमामय संस्थाको कदर सम्मान र मर्म बुझेका छन् । नेपालका हरेक संस्थाहरुमा राजनितिको गुठबन्दि लाई निरुत्साहित पार्न र काम गर्नेहरुका लागि समानता भनेर चिनाउन पनि यस राष्ट्रको गोरव बोकेको संस्थाबाट निरन्तरता होस भन्ने मेरो व्यत्तिगत चाहना हो ।

महामहिमज्यू, राष्ट्रको गौरब बोकेको यो गरिमामय संस्था राष्ट्रपति कार्यलय र सचिवालयको उच्च सम्मान गर्दै कसैलाई दोष वा पुर्वाग्रहि नराखीकन लेखिएको मेरो यो भावनात्मक सन्देश हजुर समक्ष पुग्नेछ भन्ने विश्वास लिएको छु । रुपन्देहिकोे सियारी र सुद्धोधन गाउँपालिकामा गरिब समाजका अवोध वालक र किसानहरु सँग रमाईरहेको म फेरि काठमाडौं आउने मौका पायमा हजुर सँग दर्शन भेट गर्नको लागि एकचोटि अवश्य प्रयत्न गर्नेछु । यदि हजुरसँग भेट भएमा राष्ट्रको हितमा लिईएका महत्वपुर्ण लक्ष्यमा आधारित र सामाजिक गतिविधि सम्बन्धि विषयमा छलफल हुनेछ भन्नेमा म पुर्ण विश्वस्त छु ।

उहि राष्ट्रपे्रमि
निपेश ढाका
हाल रुपन्देहि, ६ फाल्गुण २०७५

वि.सं.२०७५ फागुन ६ सोमवार १२:५० मा प्रकाशित