back
CTIZAN AD

क्यानडाबाट यदु गौतमका भाइ भन्छन्–‘हाम्रो जस्तो पीडा अरुले भोग्नु नपरोस्’

वि.सं.२०७५ फागुन २१ मंगलवार

597 

shares

२० वर्षअघि तत्कालिन माओवादीबाट हत्या गरिएका रुकुमका एमाले सचिव यदु गौतमका भाइ मुक्ति गौतमले जनयुद्धका नाममा आफूहरुले भोगेजस्तो पीडा, फेरि पीडादिनेहरुले भोग्न नपरोस् भनेर नेताहरुलाई सचेत गराएका छन् ।
क्यानडाको टिमिन्समा रहेका मुक्ति गौतमले दाजु यदु गौतमको बिसौं बार्षिकीमा श्रदान्जली दिदैं नेताहरुले गल्ती महसुस गरेर हिजो गरिएका गल्तीहरुको जिम्मेवारी पूरा गरे मात्र समाज परिवर्तन हुने अन्यथा समाजले उहि समस्या भोगिरहने बताएका छन् ।
उनले भनेका छन् ‘यहि कुराको महशुष अझैँ नहुँने हो भने हामीले भोगीसकेको यो पीडा अहिले बूझ्न नचाहानेहरुले नै भोली भोग्नु पर्नेछ । फेरी अर्को उन्माद जन्मिनेछ र क्षति दोहोरिने छ ।’

उनले लेखेका छन्

‘आज दाइ यदु गौतमको तत्कालिन माओबादीबाट हत्या भएको २० बर्ष पुरा भएको छ । राजनैतिक अवस्था फेरिएको छ । हिजो लुक्दै हिँड्ने एमालेहरू हिजो लखेट्दै हिँड्ने कमरेडहरुसँग कुम जोडेर हिँडिरहेका छन् ।
‘राजनीतिमा जे पनि सम्भव छ’ पहिले के भनिएको होला झैँ लाग्ने यो वाक्य कमसेकम मैले प्रस्ट बुझ्न थालेको छु । राजनीतिशास्त्रको त्यति ज्ञान नभएकोले राजनीतिमै साँच्चीकै यो भनाई कति लागू हुन्छ त्यो त थाहा भएन तर नेपालका राजनैतिक दल र नेताहरूको सन्दर्भमा भने यो अत्यन्त सान्दर्भिक देखिन्छ । अझ सत्ता र शक्तिको मामिलामा यो भनाई लाइ जति लचकदार बनाए पनि त्यति कम देखिन्छ विगतको इतिहास हेर्दा ।

भेरी किनारमा दिनदहाडै अमानवीय हत्या भएको धेरै भएको छैन, कमसेकम परिवारका लागि । हरेक दिन आउँने यादहरूले खाटा नै बस्न दिँदैनन्, हिजो जस्तै लाग्छ रुकुम र जाजरकोटको बीचमा रहेको दुई भेरीको संगम रिम्नाको बगरमा आतङ्कको त्यो कालो छायाँ परेको क्षण ।

दशै लाग्दा पनि सम्झिन्छ, मीठो पाक्दा पनि
दुःख पर्दा पनि सम्झिन्छ, पात झर्दा पनि
हावा चल्दा पनि सम्झिन्छ र मन जल्दा पनि
रोकिए पो सम्झनाको बाढी बिर्सन सहज हुन्थ्यो !

त्यतिबेला म काठमाडौंमा जागिरे थिएँ । मेरा दुइटा स–साना छोरीहरू र दाइको १० कक्षामा पढ्ने ठूली छोरी गरेर हामी ५ जनाको डेराको बसाई थियो । म बच्चाहरूसँग जिस्किदैं ‘कि बोर्ड’ बजाइरहेको थिएँ बेसुरमा । कहिले काँही बच्चा बन्नमा अत्यन्त मजा हुन्छ । तर बारम्बार अरूले रोक्छन् त्यो मजा लीनवाट । ‘कस्तो बच्चा जस्तो’ ‘कस्तो केटाकेटी भएको’ आदि आदि भन्दै निरुत्साहित गरि रहन्छन् । मलाई भने आफूभित्रको त्यो बच्चा नमरुञ्जेल जीवनको छुट्टै महत्व हुन्छ जस्तो लाग्छ ।

फोन थिएन हाम्रो मा । कसैले नजीकैको पसलमा फोन आएको खबर ल्यायो त्यही बेला र म त्यतातिर हुत्तिएँ बाजा छोडेर ।

दाइको हत्याको खबर थियो । म फर्किएर कोठामा आएँ , मनमा भने त्यही बेसुरमा बाजा बजाएको बारम्बार आइरहेको थियो । मेरो आफ्नो त्यही कारणले पो यस्तो नराम्रो समाचार आएको होकी भन्ने पनि नलागेको हैन कुनै बेला । अहिले पनि जब केटाकेटी झैँ बन्न मन लाग्छ, म हच्किन्छु । रोक्छु आफूलाई । मेरो बालापन मरेकै त छैन तर त्यो दिन देखि दबाएको भने छु मैले ।

त्यो सशस्त्र विद्रोहले भौतिक रूपमा मात्र क्षति गरेन, भावनात्मक क्षति पनि भयो नेपाली समाजमा । स–साना भावनाहरू पनि मरे । केहि बाँकी भएन क्षत विक्षत हुनबाट । घर भत्किए, मन भत्किए । सपनाहरू भत्किए । खण्डहर बन्यो ।

सधैँ उही रूपमा द्धन्द्ध हुनुपर्छ भनेको हैन, बदला लिनुपर्छ त झन् भनेकै होइन । मिल्नु पर्छ, मिल्नाको विकल्प छैन । तर हिजो गरिएका गल्तीहरूको खै त जिम्मेवारी ? कि कसैले महशुष गरे आफ्ना गल्तीहरु रु आफूले गरेको गल्ती अनुभुत गर्नु नै पनि ठूलो कुरा हो समाज परिवर्नको लागि । गल्ती महशुष नहुँने हो भने कालान्तरसम्म समाजले उही समस्या भोगीराख्छ । स्वार्थ पूरा हुने कुराले नेताहरूले त सबै बिर्सेलान्, तर पीडितहरुले बिर्सिँदैनन् ती कहाली लाग्दा क्षणहरू !

उति बेला लाससँगै लम्पसार प्रश्नहरू जस्ताका त्यस्तै छन् । आफ्नै काखमा अमानवीय मृत्यु हेरेका निःशब्द पहाडहरू, असामयिक मृत्युमा सुसाइरहेको भेरी नदी, पाखाहरू उस्तै छन्, उही शोक मनाई रहे झैँ हामी जस्तै । बुढ्यौलीले खाल्टो परेका आँखामा छोराको निर्मम हत्याले भरेका प्रश्नहरू त म पढ्न सक्दिन अहिले, निभिसके ती आँखाहरू मेरी आमाका–तर उनको छोरा निर्दोष थियो भन्ने सुन्न उनका कानहरू यतै वरिपरि भए झैँ लाग्छ मलाई ।

मृत्युलाई उत्सवका रुपमा मनाए उनीहरुले । मृत्यु कहिल्यै उत्सव हुँन सक्दैन । त्यो उन्माद थियो बरु युद्धको, बरु बन्दुकको, बलको निसहायमाथि । उनीहरुको अपराध, सजाय हाम्रो भयो र उनीहरुको उन्माद, क्षति हाम्रो भयो । यहि कुराको महशुष अझैँ नहुँने हो भने हामीले भोगीसकेको यो पीडा अहिले बूझ्न नचाहानेहरुले नै भोली भोग्नु पर्नेछ । फेरी अर्को उन्माद जन्मिनेछ र क्षति दोहोरिने छ । अब, हाम्रो झैँ पिडा अरुले फेरी भोग्नु नपरोस् हार्दिक श्रद्धाञ्जली दाइ’

वि.सं.२०७५ फागुन २१ मंगलवार ०९:५८ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...