
समस्या सिके राउत या भारत या अमेरिका होइन। मूल समस्या त यो दशका शासकहरूको दिमागमा रहेको ‘पहाडीया शुध्द राष्ट्रवाद’को भ्रम हो। नेपालका शासकहरूले आफूलाई वदल्ने हो भने सिके राउतहरू जन्मने जमीन समाप्त हुन्छ। पहाडे वाहेकका फरक रंगका अनुहारलाई ‘सेकेण्ड सिटिजन’देख्ने रोगग्रस्त पहाडिया आँखाको सही उपचार नगरी यस प्रकारका समस्याबाट देशले निदान पाउँदैन।
सिके राउतसँगको संझौताको दुई नम्वर वुँदा सवैभन्दा अन्यौलग्रस्त र षड्यन्त्रकारी वुँदा हो । दुवै पक्षले जीतको दावी गर्न मिल्ने गरी भाषाको प्रयोग गरिएको छ । सरकार पक्षले त्यही वुँदाको व्याख्या लोकतन्त्रिक तरिकाले जनअभिमत लिने भनिएको सामान्य चुनावको अर्थमा गरेको छ । यसरी हेर्दा हो जस्तो पनि लाग्छ ।किन भने दुई नम्वर वुँदामा जनमत संग्रह भन्ने कुनै शब्द छैन। अनि सिके राउत पक्षधरले दुई नम्वर वुँदाको आशयलाई जनमत संग्रह हो भनेको छ। त्यो भनाई पनि गलत होइन। किन भने जनअभिमत लिने लोकतान्त्रिक तरिका भनेको जनमत संग्रह पनि हो। दुवै पक्षले जेन्टल मेन एग्रिमेन्ट गरेको कुरा केही होला, जुन संझौतामा छैन। अनि दुवै पक्षले एकले अर्कोलाई पछार्न लुकाएको रणनीति होला, त्यो झन संझौता पत्रमा हुने कुरै भएन।
मधेशमा सशस्त्र गतिविधि गरेर अलग देश बनाउँने भनेर सिके राउतले जुन सपना देखेका थिए, देशभित्रको अवस्था र देश बाहिरको समर्थनको अवस्था हेर्दे सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गरेर आफ्ना कुरा शान्तिपूर्ण तरिकाले भन्नु पर्ने या विस्तारै विर्सनु पर्ने जरुरी थियो । त्यसरी विर्सनु पर्ने, जसरी प्रचण्डहरूले विर्से । एता सरकारलाई पनि मधेशको टेन्सन हल गरेको देखाएर मधेशमाथि मनौवैज्ञानिक जीत थोपर्नु थियो। यी दुवै स्वार्थहरूको संयोग सरकार सिके राउत संझौता हो। सरकारको आँखाबाट हेर्दा सरकारले हारेको छैन, जितेको छ।
यहाँ प्रश्न उठ्छ के सिके राउतसँग संझौता गरेकै भरले मधेश टेन्शनबाट सरकारले मुक्ति पाउँछ त ? पक्कै पाउँदैन। नेपालका शासकहरूले मधेशप्रति गरेको विदेशी व्यवहारले भड्केको मधेशी युवाहरूको मनलाई सिके राउतले उपयोग गरेका थिए। अव स्वयम सिके राउत मधेशको मुक्तिप्रति कति इमान्दार थिए त्यो भने छिटै थाहा हुने छ। मधेशीहरूको काँधमा चढेर अरु कैयन मधेशी नेताजस्तै सिंहदरवार छिर्ने थप अर्को लोभीमा सिके राउतको नाम थपियो भने त्यो धोकाबाट आक्रान्त मधेशमा अरु सय पचास सिके राउतहरू जन्मन्छन। समस्या सिके राउत या भारत या अमेरिका होइन। मूल समस्या त यो दशका शासकहरूको दिमागमा रहेको ‘पहाडीया शुध्द राष्ट्रवाद’को भ्रम हो। नेपालका शासकहरूले आफूलाई वदल्ने हो भने सिके राउतहरू जन्मने जमीन समाप्त हुन्छ। पहाडे वाहेकका फरक रंगका अनुहारलाई ‘सेकेण्ड सिटिजन’देख्ने रोगग्रस्त पहाडिया आँखाको सही उपचार नगरी यस प्रकारका समस्याबाट देशले निदान पाउँदैन।
त्यसैले शासकहरूले भन्ने गरेजस्तो मधेश समस्या, लिम्वुवान समस्या या विप्लव वाला समस्या कुनै समस्या होइनन। ती त गलत शासन व्यवस्थाका कारणले उव्जेका प्रतिकृयाहरू हुन। मूख्य समस्या यो देशको शासन व्यवस्था र त्यसलाई रक्षा गर्ने शासकहरू हुन।
वि.सं.२०७५ फागुन २६ आइतवार १५:३९ मा प्रकाशित






























