
५ चैत्र, काठमाडौँ । भारतीय कलाकारहरुले प्रतियोगिताका लागि खेलाडी किन्ने गरेको समाचार सुनेका हामी नेपालीले पनि अब यस्ता खबर सुन्न पाउने भएका छौँ । कलाकार रेखा थापाले आगामी वैशाख ७ देखि १४ गतेसम्म विराटनगर स्थित बैजनाथपुर रंगशालामा हुन लागेको ‘एनसिएल महिला टी- २० प्रतियोगिता’ का लागि क्रिकेट टिम किनेकी छन् । उनले उक्त प्रतियोगिताका लागि काठमाडौं सुपर च्याम्पियन्स टिम किनेकी हुन्।
पत्रकार सम्मेलन गर्दै नायिका थापाले यो कुराको जानकारी दिएकी हुन् । उनले महिला खेलकुदका क्षेत्रमा पनि योगदान पुर्याउने उद्देश्यले महिला क्रिकेट टिम खरिद गरेको बताइन्। आयोजकले योगदानका लागि आफू समक्ष प्रस्ताव राखेको र आफूले सो प्रस्ताव स्विकार गरेको पनि उनले बताइन् ।
पत्रकार सम्मेलन कार्यक्रममै टी-२० लिगमा सहभागी हुने चार टिम, टिम मालिक र खेलाडीसमेत घोषणा गरिएको छ। जसअनुसार काठमाडौं सुपर च्याम्पियन्समा नेरी थापा मार्की खेलाडी छानिएकी छिन् भने विराटनगरको मार्की खेलाडीमा करुणा भण्डारी छिन्। । विराटनगर रोअरिङको स्वामित्व अनुप सक्सेराले लिएका छन् ।
त्यस्तै भैरहवा क्विन्सको स्वामित्व अनिल भण्डारी र दीपक सुवेदीले लिएका छन्। भैरहवामा राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्री बेलावसे मार्की खेलाडी बनेकी छिन्। टिम धनगढी वन्डरवुमेन हरि खनालले लिएका छन् । यो टिममा सीता रानामगर मर्की खेलाडी छिन्।
प्रतियोगिताका लागि अब खेलाडी भित्र्याउनका लागि हुने अक्सनको मिति चाँडै घोषणा गर्ने आयोजकले जानकारी दिएको छ। नेपालमा हुन लागेको यो पहिलो महिला फ्रेन्चाईज क्रिकेट लिग ‘एनसीएल वुमन्स टी- ट्वान्टी क्रिकेट लिग’को विजेताले १० लाख तथा उपविजेताले ५ लाख प्राप्त गर्नेछन्।
वि.सं.२०७५ चैत ५ मंगलवार १०:१३ मा प्रकाशित






























