Logo
१४ मंसिर २०७९, बुधबार
     Wed Nov 30 2022
E-paper
  English Edition
   Unicode
Logo

राजकुमारी नै हुन् त सुपाकी देवी ?



पश्चिम र मध्यपश्चिममा ठूलो आस्था, श्रद्धा र महिमा रहेको अर्घाखाँची जिल्लास्थित सुपा देउराली दर्शन गर्ने मेलोमेसोमा अस्ति बुधबार कपिलवस्तुको एतिहासिक ब्यापारिक नाका पथ्थरकोट आतेजाते २ पटक कुल्चिइयो । बटौली (बुटवल) र पथ्थरकोट पुराना पश्चिम पहाडी जिल्लाका एतिहासिक ब्यापारिक नाका हुन् । आज जस्तो सडक र मोटर उ बेला थिएनन् र हाम्रा बाउ बाजेहरुले कैयौँ पुस्ता उकाली ओराली गर्दै बर्षेनी पैदल यहीँबाट आफ्ना घरका टिन र हाफ्टिनका घिउ संग नून र लत्ता कपडा साटेर ढाकरमा बोकेर ल्याउँथे । साँघुरा पगडण्डी गोरेटामा माथिदेखि तल सम्मै आउने जाने सयौँ ढाक्रेहरुका लस्कर देख्दा पनि मान्छेले आफ्नो कठीनाइ भुल्न सजिलो हुन्थ्यो । नून खेप्न जाँदा चुरे र महाभारतको फेँदीमा रहेको पथ्थरकोटमा उतिबेला एक्का दुक्का पक्की मकान बाहेक लहरै खर र फुसका छाना भएका घर मात्रै थिए । यहाँबाट अर्घाखाँचीको सन्धिखर्क र अन्यत्र सडक सञ्जाल फैलिए पछि पथ्थरकोट अब उस्तो वाणिज्य हब रहेन यद्यपि बजार बिस्तार भएको छ र सबैजसो घर पक्की बनेका छन् ।

एक वर्ष हिउँदमा हाम्रो तिरका २० र ३० जनाको टोली नून खेप्न पथ्थरकोट गएछन् । किनमेल सकेर उनीहरु कतै बजारको छेउमा बाँस बसे । राती डाँकाको टोलीले बजार लुट्यो तर थकाइले निस्लोट भएका हाम्रा मान्छेले केही थाह पाएनन् । सक्ने र भ्याउने बानियाहरुले आफ्ना नगद र बहुमूल्य बस्तु बचाएर राती नै भागे । हाम्रा मान्छेहरुले बिहान हेर्दा बजार पुरै सुनसान थियो । कैयौँले पाप लाग्छ भनेर पनि ब्यापारीका लथालिङ्ग सामान छोएनन् । तर कसै कसैले अरुले नदेख्ने गरी हल्काफुल्का सामान भने उठाए । ती मध्येको एकजनाले एउटा ताला लगाएको सानोसानो तर गह्रौँ सन्दुक भेटेछ्न् । उ बेला कागजी नोट भन्दा सिक्का कै बढी चल्ती हुनाले यो अवश्य पैसाले भरिएको हुनुपर्छ भन्ने लागेछ र उनी त्यही बोकेर हिँडेछन् । ३ दिन बडा कष्टपूर्ण हिँडाइ सकेर घरमा आई खोल्दा बाकस पैसा होइन लुगा खुट्ने सियोले भरिएको थियो जसको कुल मूल्य केही रुपैयाँ भन्दा ज्यादा थिएन ।

गुल्मीको धुर्कोटमा २०१६ साल देखि विद्यालय खुलेको हो । माध्यमिक तह चले पछि योग्य शिक्षकको समस्या पछि सम्मै रह्यो । गाउँघर र जिल्ला भरि नै पढेलेखेका मान्छे पाइदैनथे । शिक्षक सीमापारी गोरखपुर वा वरपरका देहातमा पुगेर बिन्ती गरेर ल्याउनु पथ्र्याे । भूगोल विषयको शिक्षक खोज्न एकपटक टोली गोरखपुर गयो र राम लोटन चौधरी वा यस्तै नाम गरेको एउटा शिक्षकलाई फकाई फुलाई लिएर आयो । पथ्थरकोट सम्म उ सजिलै रमाइलो मान्दै आयो । तर पथ्थरकोट नाघेर पहाडी उकालो जब सुरु भयो गोरखपुरमा वरपर ढुङ्गा कहिल्यै नदेखेको उ बाटो वरपर जङ्गलभरि ऐमानका ढुङ्गा यत्रतत्र देख्दा बडा रोमाञ्चित बन्यो । सोधिरहन्थ्यो–यी कसका ढुङ्गा हुन ? केही ठूला ढुङ्गा त उसले बोकेरै ल्याउन पनि चाह्यो । तर जसोतसो उकालो सकिएर ठाडा आइपुग्यो उत्तरतर्फ हिमश्रृङ्खला देखेर उसको सातोपुत्लो गयो । सायद उसलाई आफू अपरिचित मान्छेसंग उत्तरी ध्रुवको विकट साइबेरिया क्षेत्रमा निर्वासनमा जाँदै गरेको पो अनुभूति पो भयो कि ! उ बेहद हड्बडाएको र चिन्तित देखिन थाल्यो । उ घरी बरपरका डाँडाकाँडा हेथ्र्याे घरी आफूलाई लिन आउने मान्छेका अनुहार नियाल्थ्यो । एक ठाउँमा त उसले घुँडा टेकेर भूइँमा थचक्क बस्यो र भन्यो “हमेँ घर की याद आई !“ उसलाई फकाई फुलाई ल्याउन टोलीलाई कम्ता मेहनत गर्नु परेन !

शिक्षक राम लोटन चौधरीको ’राम’ र ’चौधरी’ भुलेर सबैले उनलाई ’लौटन’ सर भन्न थाले । त्यस्तो भिरु,नर्भस, र डरपोक लौटन सर गाउँमा आएपछि सिंह पल्ट्यो । विद्यार्थीलाई निर्मम यातना दिएर आफ्नो विषयगत कमजोरी लुकाउनु उसको शैली बन्यो । बेलुका शरणहरी श्रेष्ठको नेपाली भाषाको भूगोलका पाठ्यपुस्तक उ कक्षा १० का तेज विद्यार्थीलाई डेरामा बोलाएर पढ्न र बुझाउन लगाउँथ्यो र भोलि कक्षामा त्यहीकुरा पढाउथ्यो । शिक्षक नपाइने त्यो बेलामा कैयौँ विद्यार्थीहरुले अकारण उसको हातबाट गोरु चुटाइ खाएर पनि चुपचाप सहनु पर्यो । विद्यालयमा लौटन सर आतंकको पर्याय नै बन्यो । सञ्चालक समिति पनि यो अत्याचारमा अनदेखा रहन बाध्य थियो । पथ्थरकोटको नाम सुन्दा यी दुई सन्दर्भ अनायास याद आइहाल्छन् ।

पूर्व–पश्चिम राजमार्ग देखि ४७ किमीको दुरीमा रहेको अर्घाखाँची जिल्लाको सुपा देउराली गोरुसिंघे–सन्धिखर्क पक्की सडक खण्डमा पर्ने ठूलो महिमा भएको एउटा निकै प्राचीन शक्तिपीठ हो । पूर्वको पाथीभरा र बीचको मनकामना मन्दिरकै हाराहारी यस मन्दिर प्रतिको आस्था र श्रद्धा देख्न पाइन्छ । २०४२ सालमा नयाँ रुप दिइएको यो मन्दिर ४५ सय फीटको उचाइमा भीरको छाँगोमा अवस्थित भएपनि अहिले पक्कीबाटो हुँदै सुरक्षित भ्रमणका लागि साना ठूला नियमित यातायातका साधन पाइन्छन् र पंक्तिबद्ध भएर दर्शन र पुजापाठ गर्न पाउनेगरी अत्यन्त व्यवस्थित भएको छ । अन्तरात्मा देखि स्वच्छ मनले देवीका नाममा गरेको हरेक भाकल पुरा हुन्छ भन्ने जनविश्वास सुनिन्छ ।

बाइसे चौबिसे राज्यका पालामा खाँचीकोटका राजाको भारतको बलरामपुर राज्यकी राजकुमारी संग विवाह सम्पन्न भए पछि दुलहीको डोली खाँचीकोट ल्याइँदै गर्दा जन्तीहरुको बीचमा आपसमा बाझाबाझ हुँदा आफूसंग केहीकुरा ढाँट र छल भएको राजकुमारीले चाल पाइन् । सुपा आइपुग्दा डोलीबाट रगतका थोपा तरतर झरेको देखेपछि डोली बिसाई हेर्दा राजकुमारीले आत्महत्या गरेको थाह लाग्यो । अनि खाँचीकोट राज्यमा एक पछि अर्को रोगब्याधी र विपत्तिहरुले घेर्न थालेपछि धामी झाक्री र ज्योतिषी समेत लगाई हेर्दा त्यसरी आत्महत्या गर्ने कन्या देवीको रुपमा उत्पत्ति भएको भन्ने राय आएकोले यहाँ शक्तिपीठ स्थापित भएको भन्ने गरे पनि सुपा देउरालीको प्राचिनता स्थापित गर्ने अनेक तथ्यहरु रहेको जानकारहरु बताउँछन् ।

काठमाण्डौबाट स्वर्गद्वारीको लागि साइत गरेर नागढुङ्गा काट्दा साथ शरीरमा अलिकन असजिलो जस्तो अनुभूति भयो । नाडीको गति छाम्दा प्रतिमिनट ७२ हुनु पर्नेमा ११५ र १२० को हाराहारी द्रुतचाल ( tachycardia) भेटियो । स्वर्गद्वारी तपोभूमि ७५०० फीटको उचाइँमा रहेको र २५ मिनट जति उकालो सिँढी चढ्नु पर्ने हुनाले पनि यात्रा अवधिभर हल्का डर लागिरहेको थियो । नाडीको तीव्र चालले हार्ट अट्याकको बलियो सम्भावना रहन्छ तर के गर्नु काठमाण्डौ छोडेर बाहिरिएकोले पनि अन्त कतै स्वास्थ्यसेवा लिन मनले मानेन । स्वार्गद्वारी जाँदा बाटोभरि, उकालो चढ्दा र फर्किँदा समेत पटक पटक नाडी छामिरहेँ । तर सुधार आएन । तापनि यसले अरु गम्भीर स्वास्थ्य समस्या भने केही ल्याएन । भोलीपल्ट फर्किँदा गोरुसिंघेबाट अर्घाखाँची तर्फ मोडिएर सुपा देउराली दर्शन गर्ने रहर भएपनि स्वास्थ्य अवस्थाले गर्दा तत्काल काठमाण्डौ फर्केर स्वास्थ्य जाँच गर्नु पर्ने परिस्थिति थियो । फर्केर गोरुसिंघेमा आइपुगेपछि जे होला पर्ला भनेर रुट बदलेर सन्धिखर्कको गाडी समातेर सुपाका लागि बाटो तताइयो । पथ्थरकोटको मैदानी भाग काटेर उकालो सुरु भएपछि फेरि नाडीको गति नापेर हेरेको पल्सबीट (मुटुको चाल) एकाएक बिना कुनै मेडिकेशन ७२ मा झरिसकेको थियो । विश्वास नलागेर दोहोर्याई तेहर्याई जाँचे तर सुधार आइसकेको थियो । त्यति डराएको मान्छे म आफै अचम्म परें । के यो उनै सुपा देवीको अनुकम्पा थियो ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको

काठमाडौं । हालसम्ममा जम्मा दुई लघुवित्त वित्तीय संस्थाले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४