
कसलाई के को धन्दा, कसलाई के को धन्दा भने झै अहिले केही मानिहरुलाई विप्लवकै राजनीति, विप्लवकै नेता, विप्लवकै कार्यकर्ता, विप्लवकै समर्थक र शुभेच्छुकहरुका बारेमा चियो चर्चा र टिप्पणी गर्ने फुर्सद नभएको जस्तो देखिएको छ ।
ध्वंशात्मक गतिबिधिमा लागेको, राज्यविरुद्ध संगठीत भएको र सत्ता पल्टाउन हिडेको भन्दै विप्लव समूहलाई असंबैधानिक तरिकाले प्रतिवन्ध लगाएपछि सो पार्टीका हेमन्त प्रकाश वली र जीवन्त लगायतका नेता तथा सयौं कार्यकर्ता पक्राउ गरेर सरकार अहिले अलिकति शान्त अनुभुति भएको प्रचार गर्दैछ । यहि अवस्थामा वार्ताको प्रचार पनि बेजोड बढिरहेको छ ।
प्रसंग अहिले भिन्दै छ । बाग्लुङको गल्कोटमा जन्मेर नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण र विशिष्ठ योगदान पुर्याएका घनश्याम पाठकको बारेमा ठूलै हो–हल्ला गरिएको छ । २०४६ पछिको खुल्ला अवस्था र राजनीतिमा आस्था राख्न पाउने एवं संगठित हुन सक्ने अधिकार बमोजिम घनश्याम पाठकले तत्कालिन मशाल, एकता केन्द्र, संयुक्त जनमोर्चा, नेकपा माओवादी तथा जनयुद्ध प्रति पनि आस्था राखेको र योगदान पुर्याउँदै आएको विदितै छ । उनले शिक्षामा आमुल सुधारको लडांई निरन्तर जारी राखेका छन् भने प्रशासकिय तथा व्यवस्थापकिय अब्बलता देखाउँदै आएका पनि छन् ।
लामो समय सम्म शिक्षकहरुको हकहितको आवाज उठाउँदै आउँदा उनले शिक्षक संगठन र शैक्षिक आन्दोलनमा आफ्नो नेतृत्वदायी कौशलता पनि राम्रैसँग पर्दशन गर्दै आएका छन् । पछिल्लो समय उनले बुटवलको कालिका मावि अर्थात् हालको कालिका मानवज्ञान माविमा प्रधानाध्यापकको उदाहरणीय भूमिका देखाएका छन् । धेरै राष्ट्रिय पुरस्कार पाएको सो मावि प्रदेश नं ५ को मात्र नभएर देशकै उत्कृष्ट मध्येको सामुदायिक विद्यालय मानिन्छ । उनले आफ्नो अनुभवलाई अहिले अखिल नेपाल शिक्षक संगठन मार्फत् पनि संप्रेषण गरिरहेका छन् । देशैभरीका शिक्षकहरु संगठीत भएको र नेपाल सरकारमा दर्ता भएको सो संगठनको उनी केन्द्रीय अध्यक्ष पनि रहेका छन् ।
यो सत्य हो कि, उनले नेतृत्व गरेको अखिल नेपाल शिक्षक संगठनमा रहेका कतिपय व्यक्तिहरुले विप्लव नेतृत्वको नेकपालाई समर्थन गरेको देखिन्छ । मेडियाहरुमा आएको अर्को के पनि सत्य हो भने सो संगठनका कैयौं जिल्ला अध्यक्ष र सदस्यहरुलाई विप्लव समूहसँग जोडेर गिरफ्तार समेत गरिएको छ । यहि विचमा उनले राष्ट्रपतिको हातबाट प्रवल जनसेवाश्री पाएपछि ‘विप्लवका मान्छेलाई राष्ट्रपतिको पदक !’ भनेर निकै कोकोहोलो मच्याइएको छ ।
यो सबैलाई थाहा छ कि २०७६ बैशाख १ गते राष्ट्रपतिको हातबाट दिइएको सो पदक २०७५ कै शिफारिस र घोषणा बमोजिम भएको हो । देशप्रतिको निष्ठा, त्याग, योगदान, प्राज्ञिकता र पेशागत व्यवसायिकताको सहि मूल्यांकन हुन्थ्यो भने यो तक्मा उनले धेरै वर्ष पहिले पाउनु पर्दथ्यो । ढिला भएपनि उनले पाए उनका हकमा यो अझै कमि हो ।
यसबाहेक घनश्याम पाठक आफैमा एक रुपान्तरणकारी शिक्षक हुन् र गणतन्त्र प्राप्तिमा उनले पुर्याएको योगदान अहिलेका कैयौं मन्त्री, सांसद र ठूलावडाका अैरेगैरेको भन्दा निकै ओजिलो पनि छ । यो कुरा नबुझ्ने र उनको तौल आंकलन गर्न नसक्नेले ‘कार्यकर्ता जेलमा नेता राष्ट्रपतिको तक्मामा’ भनेर समेत प्रचार गरेका छन् । यो टिप्पणीकारलाई के विश्वास छ भने राज्य उनीबाट बेखबर छैन । उनको गरिमा, योगदान र प्रभावका अगाडि हात हाल्न नसकेको मात्र हो । ‘जेल हाल्नुपर्नेलाई किन तक्मा ?’ भन्ने भावमा एकाथरीले संप्रेषण गरेका छन् भने अर्काथरीले ‘नेतालाई पदक !’ भनेर व्यंग पनि गरिरहेका छन् । यी दुवै अतिवादी सोच हुन भन्दा फरक नपर्ला ।
यी दुई अतिवादी दृष्टिकोण व्यक्त गर्नेहरुले भ्रष्टाचारी कर्मचारी, राष्ट्रघाति नेता, राजस्वमारा ठगहरु र नेतालाई प्रयोग गरेर सरकारी जमिन हडप्नेहरुले तक्मा पाएको कुरालाई खासै उठाएका छैनन् । पंचायतकालमा पनि केही बहुदलवादी आस्थाका मान्छेले पदक लिएका छन् भने २०४६ पछि त राजाको हातको धाप खोज्दै राजाले तक्मा दिएर लाएका थुप्रै नेताहरु अहिले गणतन्त्र संस्थागत गर्ने कोर्षमा छन् ।
घनश्याम पाठक त गणतन्त्रका लागि लडेका एक योद्धा हुन् । आस्थाका आधारमा विभेद गर्नुपर्छ भन्नेहरुलाई अहिले घनश्यामले पाएको पदकले टाउँको दुखाएको देखिन्छ । राम्रो काम गर्छन् भने विप्लव वा जसका समर्थकलाई पनि राज्यले प्रत्साहन गर्नैपर्छ । कति टाउको दुखाउछौ हे एकसरुवाहरु ।
वि.सं.२०७६ वैशाख ३ मंगलवार १०:१४ मा प्रकाशित