२६ कात्तिक, झापा । सुपारी निर्यातको लागि जारी हुने उत्पतीको प्रमाण पत्र प्राप्तिको सिफारिस गर्न पाउँ भन्दै नेपाल सुपारी उत्पादन तथा व्यवसायी संघ बुधबारे झापा र राष्ट्रिय सुपारी खेती प्रर्वद्धन एवं कृषि विकास संघ विर्तामोडले सवोच्च अदालतमा मुद्धा दायर गरे पछि यतिवेला ‘सुपारी समस्या’ जल्दो बल्दो समस्याका रुपमा देखा परेको छ । जसका कारण सुपारी २ बर्ष देखि गोदाममा थन्किएको नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले दावी गरेका छन् ।
उनले भने ‘यस संस्था २०५१ सालमा गठन भयो, २०५८ सालमा विधिवत दर्ता भयो । संस्थाले स्थापनाको समय देखि नै किसानलाई सुपारी रोपन, बजारीकरण सहित औजार उपकरण वितरण गरी सुपारीमा आत्म निर्भर गर्ने कार्य ग¥यो ।’
उनी थप्छन् ‘ जसले सर्वोच्चमा मुद्धा हाल्यो त्यो गलत नियतबाट हालिएको हो , आज संस्था दर्ता गर्ने र भोली सर्वोच्चमा मुद्धा हाल्नेले किसानको हितमा कदम चालेका छैनन , हामी नेपालमा उत्पादित सुपारी यहीँ प्रशोधन गरेर किसानलाई रोजगारी दिऔं, सुपारीले राम्रो मुल्य पाओस् भन्दैछौं भने उहाँहरु काँचो सुपारी निर्यातको माग राख्दै सर्वोच्चमा पुग्नुभएको छ ।’
उनले मुद्धा हाल्ने व्यक्ति किसान नभएको दावी गर्दै अहिलेको अवस्थामा सुपारी निर्यात हुन नसक्नु यसै कुराको असर भएको दावी गरेका छन् । कोटा खोज्न भौंतारिएका केही निहित स्वार्थ बोकेकाहरुले सुपारीमा समस्या निम्त्याएर किसानको ढाड सेक्ने काम भएको दावी गर्दै नेपाल सुपारी खेती विकास संस्था किसानलाई सुपारीबाट भरपुर आम्दानी दिने र त्यसको बजारीकरणको समस्या दिर्घकालका लागि हल गर्ने कुरामा योजनाबद्ध तरिकाले अगाडि बढिरहेको खुलासा समेत गरेका छन् ।
गोदाममा सुपारी खोजी रित्तै
लंकामा सुन छ कान मेरो बुच्चै भनेझैं पूर्वी नेपालमा नगदेवालीको रुपमा स्थापित सुपारीमा पछिल्लो समय देखिएको विवादका कारण किसान र व्यापारी वर्गले त्यसबाट फाइदा लिन सकेका छैनन । आम्दानीको राम्रो स्रोतका रुपमा स्थापित भइसकेको सुपारीको विषयमा यतिवेला सर्वोच्च अदालतमा मुद्धा परेको छ । मुद्धाको फैसला हुने टुंगो पनि छैन । किसानका वारीमा रहेका सुपारीमा फल लागिसकेको छ, सहकारी तथा व्यापारीका गोदाममा विक्रि हुन नसकी २ बर्ष देखि थन्किएका सुपारी कुहिन थालिसकेको छ ।
सरकारको उदासिनताका कारण मुख्य नगदेवालीका रुपमा चिनिएको सुपारी खेतीमा लागेका किसानमा नैरास्यता पैदा भएको छ भने यो वर्ष पनि सुपारीले भाउ नपाउने निश्चित प्रायः भएको छ । सुपारी सहकारी तथा व्यापारी वर्गको लगानी गोदाममा नै सडन थालेपछि यो वर्ष पनि सुपारीले भाउ नपाउने लगभक पक्का जस्तै भएको हो ।
यता सुपारीको विक्रि नभएर निरास सुपारी किसान सुपारीमा देखिएका विभिन्न रोगका कारण पनि चिन्तित बनेका छन् । सुपारी खेतीमा फल नलाग्ने, फल लागे पनि सोचे अनुरुप नफल्ने, मर्ने, गुबो कुहिने समस्या देखा पर्न थालेको छ । जसले सुपारीको उत्पादनमा ह्रास आउन थालेको छ ।
पूर्वि नेपालको झापामा सुपारी अत्यधिक हुने गरेको छ । झापाको बाहुनडाँगी, शान्तिनगर, बुधबारे, धाइजन, तोपगाछि, खुदुनावारी, गरामनी गाविस, शनिअर्जुन, दमक, शिवसताक्षी, मेचीनगर, भद्रपुर, कन्काई नगरपालिकामा व्यवसायिक रुपमा सुपारीको खेती हुने गरेको छ । झापामा मात्र होइन इलामको दक्षिणी भेग, मोरङ, सुनसरी, उदयपुर, चितवन, नवलपरासी, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा पनि सुपारीको खेती भएको पाइएको छ । ती जिल्लामा पनि सुपारी खेतीलाई व्यवसायिक बनाउने तर्फ सरकारको ध्यान जान सके आम्दानीको राम्रो स्रोत बन्न सक्ने सुपारी खेतीमा लागेकाहरुले बताएका छन् ।
तर सरकारको उदासिनताका कारण फस्टाउँदो क्रममा रहेको सुपारी खेती प्रति किसानको आकर्षण घटन थालेको छ । नेपालमा उत्पादित सुपारीले प्रयाप्त भाउ नपाइरहेको अवस्थामा विदेशबाट सुपारी आयात गर्न मिल्ने सरकारी नीतिका कारण नेपाली सुपारीले समस्या भोगिरहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले नीतिगत तथा सरकारी धारणाका कारण सुपारीमा समस्या देखिएको बताएका छन् । उनले उत्पादनलाई क्रमश बढाउँदै लगी आयात घटाउनु पर्ने बताए । कृषि मन्त्रालयको संरचना कमजोर भएको दावी गर्दै उनले सुपारीमा दक्ष जनशक्ति तयार गर्न र वजेट पर्याप्त गर्न जरुरी रहेको बताएका छन् भने पछिल्लो समय कमाउ धन्दामा यातायात व्यवसायी सुपारीमा लागेकाले समस्या निम्तिएको बताएका छन् ।
कृषकहरुको आशाको केन्द्र नेपाल सुपारी खेती विकास संस्था रहेको बताउँदै उनले सदनमा यस विषयमा जोडदार प्रश्न उठाउन झापाली सांसदहरु सँग माग गरेका छन् ।
त्यस्तै केन्द्रीय सुपारी सहकारी संघका अध्यक्ष लयप्रसाद भण्डारीले २ बर्ष देखि सुपारी गोदाममा कुहिराखेको अवगत गराउँदै सरकार विदेशबाट सुपारी आयात गर्न लिप्त रहेको दावी गरेका छन् । सरकार सुपारी किसानको हितमा लाग्नुपर्नेमा त्यो नगरी सरकार मौन बसेको प्रति तिर्व असन्तुष्टि व्यक्त गर्दै भण्डारीले संसदमा यस बारे जोडदार कुरा उठाउन सांसद कोइरालासँग माग गरेका छन् ।
यता सांसद रविन कोइरालाले सुपारीमा नेपालको आवश्यकता यहीँको उत्पादनले धान्न सक्छ भन्ने नबुझे नजानेका नीति निर्माताका कारण वर्षेनी हजारौं टन विदेशी सुपारी नेपाल भित्रिरहेको दावी गर्दै सांसद रबिन कोइरालाले नेपालमै उत्पादित गुणस्तरीय सुपारीले नेपाललाई सुपारीमा आत्मनिर्भर बन्न र सुपारी खेतीमा आश्रित कृषक परिवारलाई जिविकोपार्जन गर्न सघाउँछ भन्ने कुरा नीति निर्मातालाई थाहा नभएको दावी गरे । उनले सुपारीको विषयलाई लिएर झापाली सांसदहरुलाई विभिन्न दृष्टिले हेरिएको सुनेको छु भन्दै यस विषयमा संकृणता नराखेको स्पष्ट पार्दै साथ सहयोग सदैव दिने जनाएका छन् । नीति निर्माताहरुलाई सुपारी टुप्पामा फल्छकी फेदमा फल्छ भन्ने थाहा नभएको बताउँदै सुपारीमा देखिएको समस्या यसैको उपज भएको उनले संकेत गरेका छन् ।
वि.सं.२०७३ कात्तिक २६ शुक्रवार ११:४६ मा प्रकाशित