
९ जेठ ।क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० को ड्राफ्टमा ४ नेपाली क्रिकेट खेलाडी सहभागी भए पनि नेपाली युवा स्टार सन्दिप लामिछानेमात्र छनौटमा परेका छन् । बार्बाडोस ट्रीडेन्ट्सले युवा स्टार नेपाली खेलाडी लामिछानेलाई क्यारेबियन प्रिमियर लिग(सिपीएल) बार्बाडोस ट्राइडेन्टसले पाँचौँ राउण्डमा अनुबन्ध गरेको हो । ड्राफ्टमा कुल ५ सय ३६ खेलाडी रहेकोमा जम्मा १०२ खेलाडी मात्र अनुबन्धमा पर्न सफल भएका थिए । ड्राफ्टमा सन्दिपसँग नेपाली खेलाडी सोमपाल कामी, रोहित कुमार पौडेल र दिपेन्द्र सिंह ऐरीपनि सहभागी भएका थिए ।
नेपाली क्रिकेटर सन्दीप लामिछाने लगातार दोस्रो पटक क्यारेबियन प्रिमियर लिग सीपीएलको लागि छनोट भएका हुन् । उनले गतवर्ष सेन्ट किट्सबाट सीपीएल खेलका थिए । गत सिजन सन्दीपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले १३ औँ चरणमा लिएको थियो । उनले कम्तीमा ७० हजार डलर पाउने छन् ।
बाबौडोसले पहिलो चरणमा इंग्ल्याण्डका एलेक्स हल्स, दोस्रो चरणमा वेष्ट इन्डिजका ज्यासन होल्डर, तेस्रो चरणमा पाकिस्तानका आसिफ अली र चौथो चरणमा पाकिस्तानकै वाहव रियाजलाई लिएको छ । यस संस्करणको सीपीएल आगामी ४ सेप्टेम्बर देखि १२ अक्टोबरसम्म वेस्टइन्डिजमा चल्नेछ ।
वि.सं.२०७६ जेठ ९ बिहीवार ०९:५५ मा प्रकाशित



























