
(शाखा अधिकृत वा सो सरहको द्धितिय चरण दोस्रोपत्रको श्रोत व्यवस्थापन र योजना विषयसँग सम्बन्धीत)
लेखापरीक्षण वित्तीय व्यवस्थापन प्रणालीको अन्तिममा आउने विषय हो । सार्वजनिक वित्तीय व्यवस्थापन अन्तर्गत पर्ने बजेटको विश्वस्नीयता, विस्तृतीकरण र पारदर्शिता, नीतिमुखी बजेट, बजेट कार्यान्यनमा पूर्वानुमानयोग्य र नियन्त्रण, लेखापालन अभिलेखन प्रतिवेदन र वाह्यपरीक्षण एवं लेखापरीक्षण जस्ता मुख्य वित्तीय कृयाकलापमध्ये अन्तमा मात्र लेखापरीक्षण गरिन्छ ।
सरकारी लेखापरीक्षणबाट सार्वजनिक पदमा आसिन पदाधिकारीहरुलाई नागरिकहरु प्रति उत्तरदायी वनाउने, नागरिकहरुलाई स्रोत साधनको उपयोग प्रति आश्वस्त तुल्याउने महत्वपूर्ण विधि लेखापरीक्षण हो । लेखापरीक्षणबाट जवाफदेहीता, पारदर्शिता एवं निश्ठा प्रवर्धन गर्ने भएकोले सुशासन प्रवर्धनमा सहयोग पुग्दछ ।
वित्तीय कारोवारको जांच गर्ने कार्य लेखापरीक्षण हो । लेखापरीक्षण लेखा र परीक्षण दुई शव्द मिलि वनेको छ । लेखा भन्नाले आर्थिक कारोवार भएको देखिने गरि कानून वमोजिम राखिने अभिलेख, खाता, किताव वा अन्य कागजात र विधुतीय माध्यमको कारोवार र अभिलेखको समष्टी हो भने लेखापरीक्षण भन्नाले लेखा संग सम्बन्धीत कामको परीक्षण र त्यसको आधारमा गरिने मूल्यांकन र विश्लेषण समेत लाई जनाउंछ ।
लेखापरीक्षण शव्द ल्याटीन भाषाको Audire बाट आएको हो जसको अर्थ सुन्नु (To hear) हुन्छ । प्राचिनकालमा निरक्षरताको कारणले संस्था वा निकायको हिसाव किताव त्यसको प्रमुख मालिक(Owner) लाई सुनाउने गरिन्थ्यो । त्यस अनुरुप स्वतन्त्र परीक्षकले मालिकलाई र हिसावकिताव राख्ने व्यक्तीले परीक्षकलाई सुनाउने चलन थियो ।
लेखापरीक्षण सम्बन्धमा विभिन्न विद्धानहरुले विभिन्न परिभाषा गरेको पाईन्छ । ति विद्धानका परिभाषा र व्यवहारिक अवस्था समेत लाई ध्यान दिंदा कुनै पनि संस्था वा निकायको समग्र ईनपुट, प्रकृया, उपलव्धी एवं प्रभाव सम्बन्धमा परीक्षण गरि देखिएका मुख्य कमजोरी र सुधारका मार्ग दर्शाई प्रतिवेदन दिने कार्यलाई लेखापरीक्षणको रुपमा लिईन्छ ।
लेखापरीक्षणको उदेश्य
लेखापरीक्षण वित्तीय सूचनाहरुको वैधता, विश्वसनीयताको साथै आन्तरिक नियन्त्रण प्रणालीको मूल्यांकन भएकोले वित्तीय विवरणमा तात्वीक (Material) किसिमका गल्तिीहरु छन छैनन भनि नमूना (Sample)को आधारमा छनौट गरि त्यसैलाई सामान्नीकरण गरेर सरोकारवालापक्षलाई विश्वस्त तुल्याउने कार्य लेखापरीक्षण हो । नेपालको सरकारी लेखापरीक्षणका निम्न उदेश्य रहेका छन् :
1) संगठनको लक्ष्य अनुरुप स्रोत परीचालन भए नभएको जांच गरि एकिन गर्नु,
2) स्रोत परीचालन गर्दा मितव्ययी, दक्षतापूर्ण र प्रभावकारी भए नभएको जांचगर्नु,
3)ड वित्तीय प्रतिवेदनले संस्थाको आर्थिक कारोवारको यथार्थ चित्रण प्रस्तुत गर्ने नगर्ने निश्चीत गर्नु,
4) सम्बन्धीत संस्थाको कार्य संचालन प्रणाली उपयुक्त र कानून सम्मत भए नभएको जांच गर्नु,
5) नीति, प्रकृया र संगठनात्मक संरचनाको सुधारका उपायवारे सुझाव दिनु,
6) कानून वमोजिम आम्दानी र खर्चको लेखांकन, अभिलेख र प्रतिवेदन ठीक भए नभएको एकिन गर्नु ।
सरकारी आर्थिक कृयाकलाप संचालन गर्दा माथि उल्लेखित अवस्था भए नभएको सम्वन्धमा परीक्षण गर्न स्थापित महालेखापरीक्षकको कार्यालयको निम्न उदेश्य रहेको छ ।
1) सार्वजनिक जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्ने,
2) सार्वजनिक स्रोतको परिचालनमा मितव्ययिता र कार्यदक्षता कायम गर्ने,
3) सार्वजनिक निकायको प्रभावकारिता वृद्धि गर्ने,
4) प्रशासनिक, वित्तीय र व्यवस्थापकीय कार्यप्रणालीको स्वच्छता सुनिश्चित एवं सुदृढ तथा सुधार गर्ने,
5) प्रचलित कानूनको परिपालनामा सहयोग पुर्याउने,
6) स्वविवेकीय कार्य शैलीलाई निरुत्साहित गर्न प्रोत्साहन गर्ने,
7) प्रचलित विधि, प्रक्रिया तथा कानूनी व्यवस्थाको कमी, कमजोरी पहिल्याई सुधारका लागि व्यवहारिक सुझाव प्रदान गर्ने,
8) राम्रो काम गर्नेलाई पुरस्कृत र खराब काम गर्नेलाई दण्डित गर्न प्रोत्साहित गर्ने ।
लेखापरीक्षणका प्रकारहरुः लेखापरीक्षणको उद्देश्य अनुसार लेखापरीक्षणको नाम अलग अलग राखेकोले लेखापरीक्षणको प्रकारहरु पनि धेरै रहेका छन् । सामान्यतः लेखापरीक्षणका प्रकारहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
लेखापरीक्षण गर्ने निकायको आधारमा : क) आन्तरिक लेखापरीक्षण र (ख) अन्तिम लेखापरीक्षण
लेखापरीक्षण गर्दा हेर्ने विषयको आभारमाः क) वित्तीय लेखापरीक्षण(Financial Audit) ख) नियमितताको लेखापरीक्षण (Compliance Audit) ग) कार्यमूलक लेखापरीक्षण (Performance Audit) घ) व्यवस्थापन लेखापरीक्षण (Management Audit) रहेको देखिन्छ ।
सार्वजनिक लेखापरीक्षण सम्बन्धमा विश्वका सर्वोच्च लेखापरीक्षण संस्थाहरुको विश्व संस्था रहेको छ । जसलाई INTOSAI भनिन्छ । त्यसले विभिन्न गाईडलाईनहरु जारी गरेको हुन्छ । ति समेतका आधारमा सामाजिक, हिनामिना मस्यौट, वातावरणीय, समतामा आधारित, लैंगिक, सूचना प्रविधि, सहकारी, सुशासन, दैविप्रकोप जस्ता विभिन्न विषयका विषयगत लेखापरीक्षण पनि रहेका छन् ।
समान्यत वित्तीय लेखापरीक्षणले Fradulant Activity को अवस्था पत्ता लगाउंदैन । पूर्व सूचनाको आधारमा वा त्यस्ता सूचना लिने पद्धती निर्माणगरि सो वमोजिम योजना तयार गरि Fradulant Activityको लेखापरीक्षण गर्ने अभ्यास अन्य देशमा रहेको छ । त्यसैले लेखापरीक्षण कार्य अनुसन्धानात्मक कार्य होईन । नेपालमा वित्तीय लेखापरीक्षण र नियमितताको लेखापरीक्षणलाई एउटै रुपमा लिईएको र कतिपय अवस्थामा वित्तीय भन्दा नियमितताको लेखापरीक्षण तर्फ बढी जोडदिएको कारण सामान्य वित्तीय त्रुटी पनि लेखापरीक्षणबाट हेर्न छुटेको अवस्था समेत देखिएको छ । त्यसैले नियमितता र वित्तीय लेखापरीक्षणलाई पूर्णत अलग गरि त्यस्ता निकाय छुट्याई कुन निकाय वित्तीय र कुन निकाय नियमितताको लेखापरीक्षण गर्ने भनि एकिन गरि पर्याप्त समय, स्रोत साधन एवं क्षमता विकासको माध्यमबाट सरकारी लेखापरीक्षण थप प्रभावकारी वनाउनु आजको आवश्यक्ता हो ।
लेखक : महालेखापरीक्षकको कार्यालयका निर्देशक हुन ।
वि.सं.२०७६ जेठ १५ बुधवार १३:१९ मा प्रकाशित
























