
१५ जेठ, काठमाण्डौं । भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थराज घिमीरे खुट्टामा गोली लागेपछि पाँच घण्टा पर अस्पताल लैजादै गर्दा अत्यधिक रक्तश्रावको कारण मारिएको आवेगमा पत्रकार कृष्ण सेन मारिएको दिन बन्द रोज्दा विप्लव समूहका थप कार्यकर्र्ता प्राविधिक गल्तीले बर्बाद भएका छन् ।
केही महिनादेखिको घरभाडा नतिरेका अखिल कार्यकर्ता प्रज्वल शाहीले जेठभरिमा भाडा तिर्ने र कोठा पनि छाड्ने बताएका थिए । बिहान घरभेटीसँग यस्तो सल्लाहपछि दिनभर कतै निस्किएनन् । बरु एकैछिनमा केही साथी जम्मा भए । विद्यार्थीको कोठामा प्राय ? ढोका लाग्ने नै भयो । तर त्यहि कोठामा दिउँसो टोलै थर्काउने गरी बम विस्फोट भयो । जेठभरीमा कोठा छाड्छु भनेका प्रज्वल आफैले बनाएको बम लागेर कोठाभित्रै संसार त्यागे ।
ओम अस्पताल अगाडि सैलुन निक्कै चलेको थियो । आम्दानीले आफूमात्र हैन, साथीहरु पनि पालिने अवस्था थियो । तर, पार्टीले भन्यो, ‘अब पेशा पनि रणनीतिक तवरले चलाउनु पर्यो ।’ यही निर्देशन पाएर जीव कुमार ठाकुर ६ महिनादेखि नयाँ टहरामा सरे । सैलुन राखे ग्राहक उति धेरै आउदैनथे । तर, उनी दिनभरी नै व्यस्त हुन्थे । अघिल्लो दिन साँझ चुनिखेलका सुरेन्द्र मर्हजनसहित आठ–दशजना मान्छे पुगे । बाहिर सैलुन खुल्लै थियो । तर, उनीहरु भित्र व्यस्त भए । कपाल काट्ने हजामबारे कसैले केही शंका वा चासो राख्ने कुरा पनि भएन । तर, ती ठाकुर शसस्त्र द्धन्द्धकालदेखिकै माओवादी, विभाजनामा बैद्यतिर गएर फेरि विप्लवमा लागेका थिए । त्यहा पनि दिउँसो बनाउँदा बनाउँदै बम पड्कियो । सैलुन अगाडि अण्डाझै टाउको फुट्यो र ठाकुरको प्राण त्यहि गएको बुधबारको जनआस्था साप्ताहिकमा समाचार छ ।
बुढानीलकण्ठसँगै जोडिएको चुनिखेलमा दीपेन्द्र विश्वकर्माको डेरा थियो । तर, उनी कहिलेकाँहीमात्र पुग्थे । पत्नी र दुई बच्चा त्यहि बस्छन् । अघिल्लो दिन साँझ कोठाबाट निस्कनु अघि चोकमा एकजनाले सोधे, के काम गर्नुहुन्छ ? उनले भने, ‘पाटनमा एनजिओ चलाउँछु ।’ तर, भोलिपल्ट दिउँसो सुकेधारामा विस्फोट भएको बममा परेर घाइते भए । उपचारको क्रममा अत्यधिक रक्तश्राव हुँदा ओम अस्पतालमा उनले पनि प्राण त्यागे ।
दीपेन्द्रसँग अघिल्लो साँझदेखि बसुन्धरास्थित ठाकुरको सैलुनसँगै कोठामा बसेका हाडिगाउँका सुरन्द्र मर्हजनको दुवै खुट्टा बमले खाएको छ ।
अर्का घाईते हरि खड्काको एउटा खुट्टा कामै नलाग्ने भएको छ । ठाकुरले भनेजसरी टाइमर बम सेट गर्न नजान्दा बम विस्फोट भएको प्रहरीको अनुमान छ । यी घटनाक्रम हेर्दा विप्लवले मर्न तयार जत्था तयार पारेका छन् भन्ने प्रष्ट हुन्छ ।
वि.सं.२०७६ जेठ १५ बुधवार १०:३५ मा प्रकाशित






























