१४ जुलाई, ओमान । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ओमान च्याप्टरले भानु जयन्ती मनाएको छ ।
जुलाई १२ मा अलरिफ होटेल गोब्रामा एक साहित्यिक कार्यक्रम गरेर २०५ औँ भानुजयन्ती भब्यताका साथ मनाएको उक्त अवसरमा २२ साहित्यकारले आफना रचना वाचन गरेका थिए ।
समाजका अध्यक्ष सुशील पुन विरहीको सभापतित्व र गैरआवासीय नेपाली संघका सचिब डिबि क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा एनआरएन सोसल क्लब ओमानका अध्यक्ष सेवन्त पुर्जा पुनको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा अतिथिको रुपमा ओमानका क्रियाशील सबै संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार, साहित्यकार र अन्य साहित्यप्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको समाजले जनाएको छ ।

समाजका कोषाध्यक्ष तथा समाजसेवी तोलाकान्त भट्टराईको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सभापतित्व ग्रहण गरेका सुशील पुन विरहीले आदिकबि भानुभक्त आचार्यको जीवनी र योगदानको बारे प्रकाश पार्दै श्रद्वा सुमनका शब्दगुच्छाहरु अर्पण गरेका थिए । उनले आफ्ना गजलहरु पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि डिबि क्षेत्रीको मात्र मन्तब्य राखिएको थियो भने अन्य अतिथीहरुको मन्तब्य राखिएको थिएन सिधै साहित्य सर्जकहरुका रचना वाचनलाई स्थान दिईएको थियो ।
ओमानमा भएका साहित्यिक कार्यक्रम मध्ये अहिले सम्मकै सम्भवतः भब्य बन्न गएको हो । यस अवसरमा रचना वाचन गर्नेहरुमा राजु लामा, शालिकराम चापागाई, घनश्याम भण्डारी, तुक बहादुर राम्दान, जीवन कार्की, खेम खड्काथोकी, छबिलाल बस्नेत, कमल पराजुली, ईन्दिरा गुरुङ, सुशील पुन विरही, प्रतीक सँग्रामी, सोमकृष्ण श्रेष्ठ, कृष्ण भुसाल प्यासी, तोलाकान्त भट्टराई,ओमकार तामाङ्, यामप्रसाद पौडेल, शालिकराम आचार्य,हरि न्यौपाने,रञ्जित आचार्य, लोकेन्द्र सुनुवार सहित २२ जना जतिले आ–आफ्नो रचना प्रस्तुत गरेका थिए झण्डै ८० जनाको उपस्थिति रहेको समाज का अध्यक्ष सुशील पुन विरहीले जानकारी दिएका छन् ।

रचना वाचन गर्ने सबैलाई सम्मानपत्र र खादाद्वारा सम्मानित गरिएको थियो । एनआरएन सोसल क्लबको विशेष सहयोग रहेको कार्यक्रममा, समीर श्रेष्ठ (युनिमोनी एक्सचेन्ज) को पनि महत्त्वपूर्ण सहयोग रहेको थियो । अत्यन्तै राम्रो साहित्यिक माहौलमा सम्पन्न कार्यक्रमको सञ्चालन अनेसासकै महासचिव कृष्ण भुसाल प्यासीले गरेका थिए । सहयोगी र सहभागी सबैप्रति आभार प्रकट गर्दै सभापतिले गजलसहित कार्यक्रमलाई समापन गरेका थिए ।
वि.सं.२०७६ असार २९ आइतवार १२:१७ मा प्रकाशित


























