नदीमा माछा फसाउन राखिएका धिमरी र त्यसमा फसिएका माछा चोरी हुनबाट जोगाउन उनीहरु बगरमा बास बस्दै आएका हुन् । मङ्सिर महिनाको सुरुआतदेखि फागुनको अन्त्यसम्म माछा मार्नका लागि उनीहरु नदीमा धिमरी राख्ने गर्छन् ।
नदीको वारपार गरी माछा फसाउन राखिएका धिमरी बाँसबाट निर्माण गरिन्छन् । माछाभित्र छिर्न सक्ने र बाहिर निष्कन नसक्ने गरी बाकस आकारमा बाँसले बुनेर धिमरी बनाइने गरिन्छ ।
एक ठाउँमा दशदेखि पन्ध्र परिवारले माछा फसाउन नदीको बीचबीचमा लस्करै धिमरी राख्ने गरेका छन् । दोदा नदीको बीसभन्दा बढी ठाउमा यस वर्ष धिमरी राखिएको रामचरन रानाले बताउनुभयो । दिउँसो माछा र धिमरीको हेरचाह गर्न जाने गरेपनि रातिका बेला नदी किनारामा बनाइएका अस्थायी कटेरामा पालैपालो बस्दै आएको बन्धो रानाले बताउनुभयो ।
“रातिका बेला माछा चोरी हुने भएकाले माछा जोगाउन नदीको बगरमा बस्दै आएका छौँ”–उहाँले भन्नुभयो, “रात कटाउनका लागि कथा, गाउँ खाने कथा र गीत गाएर बस्छौँ ।”नदीमा धिमरी राखेर माछा मार्ने कार्य पुर्खादेखि चल्दै आएको हो, कन्हैया रानाले भन्नुभयो, “पुर्खाले माछा मार्न सिकाएको सीपलाई छाड्न सकेका छैनौँ ।” दुईदेखि तीन दिनमा नदीमा राखिएका धिमरी खोलेर माछा बाँडेर सबैले लिने गरेको फगुनी देवी रानाले बताउनुभयो ।
यस वर्ष नदीमा पानीको बहाव बढी हुँदा माछा पनि बढी फस्ने गरेकाले एक पटकमा प्रतिपरिवार बीस किलो भन्दा बढी माछा भागमा पर्ने गरेको उहाँले बताउनुभयो । भागमा परेको माछा केहीले सुकुटी बनाएर राख्ने र केहीले स्थानीय बजारमा लगेर बेच्ने गरेका छन् । रासस
वि.सं.२०७३ मंसिर ४ शनिवार ११:२६ मा प्रकाशित