
जसले नेपाली कम्युनिष्ट आन्दोलनलाई सुसंवद्ध विचार प्रणालीमा संगठित गर्यो, मरते दम तक लड्यो नेताको करिश्मामा होइन सामाजिक बिकासको वास्तविकता सुहाउँदो नीतिको जीवन भर वकालत गर्यो । यसैको निम्ति जसले भनि रहन्थ्यो – ‘नेता होइन नीति प्रधान’ कुरो प्रष्ट थियो, संगठन बाबुसाहेवको अघिपछि हिड्ने लावालस्कर होइन, त्यो तुष्टीकरणले बन्ने पनि होइन त्यो त सामाजिक मिशन प्रतिको निष्ठाले बन्ने हो । त्यसो भए मात्रै त्यो दिगो र प्रभावकारी हुन्छ । उसको काल्पनिकी बेजोड थियो । उ दुर क्षितिज निहाल्थ्यो । उ आफ्नो क्यानभासमा भएभरका सामाजिक रंग पोतेर सुन्दर चित्र प्रस्तुत गर्न चाहन्थ्यो जहाँ दुर्बलहरू शिर ठाडो पारुन, सबै रंगहरु हासुन र संगतिमा हातेमालो गरुन । उ समाजलाई कसैको रैती मान्दैनथ्यो न त समाजलाई कागती निचोरे झैं निचोरेर खडा गरेको वैभवलाई न्यायिक करार गर्थ्यो ।
उ भन्थ्यो – हाम्रो घरको भद्रगोल हामीले मिलाउने हो, त्यो क्षमता हामी राख्छौं पनि, तिमि आफ्नै घर हेर । हामीलाई तिमि साथी भए पुग्छ । बाबु साहेब पल्टिनु पर्दैन। स्वाभिमानको मूल्य उसलाई थाहा थियो । मित्रताको हैशियत पनि राख्दथ्यो ।
भोग र विलासमा उसको रुंची छदै थिएन । उ अभावको पाशविकतालाई बुझ्दथ्यो र सामाजिक तहमा त्यसको उन्मुलनको निम्ति मरिहत्ते गरेर लागेको थियो । आफैलाई भने त्यसले कुनै दाल गलाउन सकेन । जसले चना खाएर भोक टार्यो तर आफ्नो विश्वास डगमगाउन दिएन । सायद उ आफ्नो दाइको शहादतलाई स्मरण गर्दै भन्थ्यो “दाइ, यति जावो दुःखले मेरो रौं पनि झर्दैन । धन्दा न मान्नोुस तपाईको शहादत खेर जान दिने छैनौं ।”
उसलाई प्रतिपक्ष समेत पनि बडो आदर भावले हेर्दथे, उसको निष्ठा र समर्पण देखेर पानी पानी हुन्थे । हकिकत ! आफ्नै शिष्यले भने उसलाई अभरमा घचेटे । उ बेला शक्तिको रंगशालामा अर्कै खेल्थ्यो टप्परटुईया र उपबुज्रुक भन्थे उ प्राज्ञै छैन । कायर र कपटीहरु लान्छित गर्थे । उसको गन्तव्य बत्तीमा होमिने पुतली हो । तिनैले यस्तो पनि भन्न भ्याए उ विधर्मी हो । विधर्मीको पुच्छर हो । यो पनि त हकिकत हो ! इतिहासको न्यायको इजलासमा अर्कै इन्साफ हुनु थियो । उ अद्वितीय जागृत थियो । एक कुशल रणनितीज्ञ थियो । उ आफै जलेर गयो तर उसले प्रदीप्त गरेको मार्गमा अन्ततः उनका आलोचक र विपक्षी सहित सिंगो मुलुक होमियो पनि । उ थियो अटल नक्षत्र, यस्तो थियो उ जमानाको नायक ।