

५ मङ्सिर,बोगोटा । कोलम्बियाका राष्ट्रपति जुआन म्यानुएल सन्तोषले रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क)सँग भएको संशोधित शान्ति सम्झौता पारितका लागि संसद्मा पेस हुने शनिबार बताउनुभएको छ ।
पहिलो शान्ति सम्झौता गत अक्टोबर २ मा जनमतसङ्ग्रहबाट अस्वीकृत भएपछि सरकार पक्ष र विद्रोहीपक्ष तत्काल वार्तामा बसेर दुवै पक्ष संशोधित सम्झौता बनाएका हुन् ।
विपक्ष दलका नेता तथा पूर्वराष्ट्रपति एल्भारो उरिबेले पहिलो शान्ति सम्झौताले विद्रोहीले विगतमा गरेका अपराधप्रति जवाफदेही नबनाएको भन्दै विरोध गर्दै आउनुभएको थियो ।
उरिबेले पहिलेदेखि नै अर्को सम्झौता गर्न संसद्मा बोल्ने क्रममा सुझाव दिँदै आउनुभएको थियो । “म पूर्ण रुपमा उहाँसँग सहमत भइसकेको छु, आगामी बुधबार यो प्रस्तावलाई म संसद्मा पेस गर्नेछ । त्यही छलफल हुने छ,” उहाँले भन्नुभयो ।
सन्तोषले प्रतिपक्षी दलले उठाएका विषयवस्तुलाई सम्झौतामा कसरी समावेश गर्न सकिन्छ भन्ने बारेमा फार्कसँग परामर्श भइरहेको बताउनुभयो । दुवै तर्फका प्रमुख विषयवस्तुलाई समेटेर जतिसक्दो चाँडो सम्झौतालाई अन्तिम रुप दिन चाहिरहेको सन्तोषको भनाइ छ ।
यही महिनाको सुरुमा कोलम्बिया सरकार र फार्क विद्रोहीले नयाँ शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । कोलम्बियामा झन्डै ५० वर्षसम्म भएको द्वन्द्वका कारण झन्डै दुई लाख ६० हजार जनाको मृत्यु भएको थियो भने लाखौँ विस्थापित भएका थिए । रासस÷सिन्ह्वा
वि.सं.२०७३ मंसिर ५ आइतवार १०:३८ मा प्रकाशित