२० भदौ, अमरगढी । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइअन्तर्गत आलु सुपरजोन एकाइले डडेल्धुरा जिल्लाभर नै आफ्नो कार्यक्षेत्र विस्तार गर्नेे भएको छ । चालू आर्थिक वर्षदेखि नैै आलु सुपरजोनको कार्यक्षेत्र जिल्लाभर नै विस्तार गरिने उक्त एकाइले जनाएको हो ।
गत आवमा जिल्लामा सो कार्यका लागि उपलब्ध रू दुई करोड ७९ लाख ९० हजार बजेटमध्ये रु दुई करोड ६३ लाख १३ हजार खर्च भएको थियो । उक्त खर्चमध्ये रू एक करोड ७३ लाख विभिन्न कार्यक्रमका लागि किसानलाई अनुदान दिइएको उक्त एकाइका प्रमुख खेमराज जोशीले बताए ।
गत आवदेखि नै आलु सुपरजोनको कार्यक्षेत्र विस्तार गरीे अमरगढी नगरपालिकाको वडा नं १, २, ३, ७ र ११, गन्यापधुरा गाउँपालिकाको वडा नं १, २, ४ र ५, पर्शुराम नगरपालिकाको वडा नं ४, ५ र १२, नवदुर्गा गाउँपालिकाको वडा नं १ र आलिताल गाउँपालिकाको वडा नं १, २, ४, ५ र ८ मा कार्यक्रम लागू गरिएको उनले बताए ।
“यो आर्थिक वर्षदेखि आलु अजयमेरु र भागेश्वर गाउँपालिकाका साथै जिल्लाभर नै यसको कार्यक्षेत्र विस्तार गरिने र नयाँ क्षेत्रमा जाँदा स्थानीय सरकाले आलु पकेटका लागि प्राथमिकता दिएका क्षेत्रलाई पनि समेटिने छ,’’ एकाइ प्रमुख खेमराज जोशीले बताए ।
दुवै याममा आलुखेती गर्न सकिने
जिल्लामा दुबव याममा सहजै व्यावसायिक आलुखेती गर्न सकिने देखिएको छ । हाल जिल्लामा एक हजार ४५० मेट्रिकटन क्षमताको शीतभण्डार स्थापना गरिएको छ भने हिउँदे आलुका साथै वर्षे आलु पनि उत्पादन गरी तराईका जिल्लामा निर्यात गरेर अधिक आयआर्जन गर्न सकिने भएकाले जिल्लामा उक्त परियोजना सञ्चालन गरिएको एकाइ प्रमुख जोशीले बताए ।
आलु सुपरजोनले गत वर्ष आलु चिप्स उद्योग सञ्चालनमा सहयोग गर्नाका साथै कस्टम ह्यारिङ सेन्टरअन्तर्गत ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण, पोष्ट हार्भेष्ट सेन्टर स्थापना, साना सिँचाइ निर्माण सुधार, प्राङ्गारिक मल कारखाना स्थापनामा सहयोग, भकारो सुधार, भूमिको वैज्ञानिक व्यवस्थापनका लागि बाँझो जमीन व्यवस्थापनलगायत कार्यक्रम सञ्चालन गरेको थियो । (रासस)
वि.सं.२०७६ भदौ २० शुक्रवार ०९:३५ मा प्रकाशित






























