१० मङ्सिर,दाङ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सङ्ग्राम खोलामा दुईवटा सवारी साधन एकापसमा ठोक्किँदा १० यात्रु घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।
आज बिहान तुलसीपुरबाट यात्रु बोकेर जाँदै गरेको बा२ख २५४९ नंको फोर्स गाडी र घोराहीबाट बालबालिका लिएर पश्चिम पुरन्धारातर्फ पिक्निकका लागि जाँदै गरेको ना३ख ७९७४ नंको बस सङ्ग्राम खोला नजिकै एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी गम्भिर घाइते भएका मानपुर गाविस–९ निवासी ४० वर्षीया बालिका सुनार, तुलसीपुर नगरपालिका–११ निवासी २७ वर्षीया विमला रिजाल र तुलसीपुर–६ निवासी ३३ वर्षीया सरिता लामिछानेलाई राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँके पठाइएको छ ।
त्यस्तै गम्भिर घाइते चितवन जिल्ला पिप्ले–३ निवासी २२ वर्षीया शान्ता थपलियाको भने घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो । अन्य घाइतेहरुको अवस्था भने सामान्य रहेको बताइएको छ । रासस
वि.सं.२०७३ मंसिर १० शुक्रवार ०८:०८ मा प्रकाशित