२४ भदौ, जनकपुर । प्रदेश २ सरकारको सचिवालय ‘मधेस भवन’स्थित सभाकक्षमा आइतबार बिहान प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवको ‘शपथग्रहण कार्यक्रम’ आयोजना गरिएको थियो । सोही कार्यक्रमकाबीच मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नीति आयोगको उपाध्यषका रुपमा डा. भोगेन्द्र झालाई चयन गरिएको घोषणा गरे ।
प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, सभामुख सरोजकुमार यादव,मन्त्री तथा सांसदसँगै झा पनि समारोहमा सहभागी थिइ । त्यसअघि नीति आयोगका उपाध्यक्ष रहेका डा. हरिवंश झा भने देखिएनन् । सञ्चारकर्मी चकित भए,‘एकजना उपाध्यक्षलाई हटाइएको थाहै छैन, अर्का नियुक्त भइसके ! प्रदेश लोकसेवा आयोगका अध्यक्ष यादवले शपथग्रहण गरेलगत्तै उनीसँगै डा. भोगेन्द्रलाई समेत माला लगाउनेको घुइँचो लाग्यो ।
आयोगका उपाध्यक्ष डा. हरिवंश झा काम विशेषले काठमाडौँमा थिए । शनिबार दिउँसो प्रदेश सरकारका एकजना मन्त्रीले फोनमै राजीनामा गरिदिन आग्रह गरे । ‘त्यसको केही घण्टामै मन्त्रिपरिषद् बैठकबाट डा. भोगेन्द्र झालाई मेरै पदमा चयन गरिदिएको रहेछ,’ डा. हरिवंशले नागरिकसँग भने ।
वि.सं.२०७६ भदौ २४ मंगलवार ०८:२५ मा प्रकाशित



























