back
CTIZAN AD

सोह्र श्राद्धका लागि मुक्तिनाथमा चहलपहल

वि.सं.२०७६ भदौ २९ आइतवार

738 

shares

२९ भदौ, पोखरा । आश्विन कृष्णपक्ष पितृपक्षका अवसरमा हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जाने तीर्थयात्रीहरूका कारण पोखरादेखि मुक्तिनाथसम्म चहलपहल बढेको छ ।प्रत्येक वर्ष पितृपक्षका अवसरमा मुस्ताङको कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृको उद्धार हुने विश्वासका कारण देशका विभिन्न भागका दर्शनार्थी मुक्तिनाथ पुग्ने गरेका हुन् ।
मुक्तिनाथ जाने प्रमुख नाका पोखरा भएकाले यहाँबाट पर्वत, म्याग्दी हुँदै स्थलमार्गबाट एक दिनको यात्रामा मुक्तिनाथ पुग्न सकिन्छ भने हवाई मार्गबाट आधा घण्टाको उडानमा जोमसोम विमानस्थल हुँदै पनि जान सकिन्छ । पोखरा विमानस्थलबाट जोमसोमसम्म समिट र तारा एयरलायन्सले दैनिक उडान गरिरहेकामा सोह्र श्राद्धको समयमा केही उडान थप गर्ने गरेको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिए ।
मुक्तिनाथ जाने आन्तरिक तीर्थयात्रीभन्दा भारतीय तीर्थयात्रीले हवाई उडान बढी प्रयोग गर्ने गरेको जानकारी दिँदै उनले सोह्र श्राद्धको समयमा लगभग १० वटासम्म उडान हुने गरेको बताए । प्रशासकीय अधिकृत पौडेलका अनुसार यति एयरलाइन्सले पोखरा भैरहवा उडान गरेका कारण भैरहवा नाका हुँदै आउने भारतीय पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अघिल्लो वर्ष मुक्तिनाथको दर्शन गरेपछि भारतीय पर्यटकको सङ्ख्या बढ्न थालेको पर्यटन व्यवसायीहरू बताउँछन् । पोखरादेखि पर्बत, म्याग्दी हुँदै स्थलमार्गबाट पुग्ने बाटो पनि राम्रो भएका कारण स्थलमार्गबाट मुक्तिनाथ जानेको सङ्ख्या पनि उत्तिकै बढेको छ । कतैकतै बाटो बिग्रने भत्कनेजस्ता समस्याले स्थलमार्गबाट आवागमन कहिलेकाही असहज हुने भए पनि अधिकांश बाटो राम्रो भएकोले स्थलमार्ग नै तीर्थयात्रीको रोजाइमा पर्ने गरेको छ ।
सोह्र श्राद्ध शुरु भएसँगै दुई दिनदेखि तीर्थयात्रीको चहलपहल बढेको मुक्तिनाथको रानीपौवास्थित होटेल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिए ।“तीर्थयात्रीको सङ्ख्या बढेसँगै यहाँका होटेलमा व्यवसायीले लगानीसँगै सेवा सुविधा पनि बढाएका छन,” उनले भने, “दर्शन एवम् भ्रमणका लागि आउने पर्यटकका लागि खान बस्नको कुनै असुविधा रहँदैन ।”

रानीपौवामा दैनिक दुई हजारसम्म पर्यटकलाई राख्न सक्ने गरी होटेलको व्यवस्था गरिएको छ । सोह्र श्राद्ध गर्न जाने तीर्थयात्रीले कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गर्ने गरेको त्यहाँका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।सोह्र श्राद्ध शुरु भएसँगै मन्दिरमा दर्शनार्थीको चाप बढेको उल्लेख गर्दै उनले यो क्रम आश्विन कृष्णपक्ष नसकिदासम्म जारी रहने बताए । तीर्थयात्रीको बढ्दो चापका कारण यतिखेर यहाँका होटेल व्यवसायीलाई भ्याइ नभ्याइ भएकोे छ । पछिल्ला वर्षमा पोखरा, काठमाडौँ र चितवनलगायत शहरका होटल शरहमा पाइने सेवा सुविधा यहाँका होटेलले दिने गरेका छन् ।
जोमसोमदेखि २२ किलोमिटर पूर्वोत्तरमा रहेको मुक्तिनाथ मन्दिर समुन्द्री सतहबाट तीन हजार ७०० मिटरको उचाइमा छ । त्यहाँ पुग्न पोखरा, काठमाडौँ, सुनौली, बेनी र मालढुङ्गाबाट सवारीसाधन पाइन्छन् । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथलाई भगवान् विष्णुको पूण्यभूमि मानिन्छ । भगवान् विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १०८ धारा बनेको किम्बदन्ती छ ।

त्यहाँका १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ । प्राचीनकालदेखि नै यहाँ रहेको मुक्तिनाथको मूर्तिलाई विसं १८७१ मा मन्दिर बनाइएको थियो । यही स्थलमा बौद्ध गुरु पद्मसम्भवले पनि तिब्बत जाने बेला तपस्या गरेको भन्दै यहाँ विभिन्न गुम्बासमेत बनाइएका कारण बौद्ध धर्मावलम्बीले पनि यस स्थललाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् ।कागबेनीस्थित कालीगण्डकी नदीको तटमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृ तर्ने विश्वासका कारण आश्विन कृष्णपक्षको अवधिमा यहाँ गरिने दर्शनलाई अत्यन्त महत्वका साथ हेर्ने गरिन्छ । (रासस)

वि.सं.२०७६ भदौ २९ आइतवार १५:१९ मा प्रकाशित

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगरपालिका स्थापना दिवस यस वर्ष भव्य कार्यक्रमसँगै सम्पन्न भएको...

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

स्याङ्जा । स्याङ्जाकाे अर्जुनचौपारी गाउँपालिका ले अत्यधिक भार बोकेर सञ्चालन...

पाहुनालाई कोसेली कोदोको बिस्कुट

पाहुनालाई कोसेली कोदोको बिस्कुट

मङ्गलबारे । इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको...