३१ भदौ, काठमाडौँ । लक्ष्मी बैंक र लक्ष्मी केयरस्को संयुक्त आयोजनामा सांगितिक कार्यक्रम सम्पन्न भएको छ ।
लक्ष्मी बैंक र लक्ष्मी केयरस्ले नेपालका प्रतिष्ठित गायक दीप श्रेष्ठको सांगितीक यात्राको ५० वर्षको अवसरमा कोष स्थापनाको लागि सांगितिक कार्यक्रम गरिएको हो ।
सोमबार सोल्टी क्राउन प्लाजामा भएको कार्यक्रममा नेपाली गीत संगीतसँग सम्बन्धित सर्जक, पारखी एवं संगीतकारहरुको उपस्थिति रहेको थियो । कोष स्थापनाको लागि आयोजना गरिएको कार्यक्रमबाट संकलन भएको रकम सम्पदा सूचीमा परेका दुई वटा स्थानहरुका लागि विद्युतीय सवारी साधनको व्यवस्थामा प्रयोग गरिने बताइएको छ । जसबाट वृद्ध एवं शारीरिक रुपमा अशक्त व्यक्तिहरुका लागि निःशुल्क रुपमा प्रयोग गर्न पाउनेछन् ।
लक्ष्मी केयर्स गत १४ वर्षदेखि निरन्तर रुपमा लक्ष्मी बैंकका कर्मचारीहरुले सञ्चालन गर्दै आएको एक सामाजिक संस्था हो । यसले आफ्नो स्थापनावर्षदेखि ग्रिन इनिसिएटिभ, नारी शिक्षा तथा वित्तीय साक्षरता जस्ता क्षेत्रहरुमा सक्रिय रुपमा कार्य गर्दै आइरहेको पनि विज्ञप्तीमा जनाइएको छ ।
वि.सं.२०७६ भदौ ३१ मंगलवार १२:४७ मा प्रकाशित






























