१२ मङ्सिर,धनगढी । प्रविधि प्रसारका लागि अष्ट्रेलियाबाट ल्याइएका उन्नत जातका बाख्राका पाठापाठीमा रोग लागेर मर्ने समस्या देखिएको छ ।
कैलालीको बुढेतोलास्थित बाख्रा विकास फर्ममा अष्ट्रेलियाबाट ल्याएर पालिएका‘अफ्रिकन ब्वायर‘ जातका यी बाख्रा ब्याउँदा दुईदेखि तीनवटासम्म पाठापाठी जन्मेपनि कतिपय पाठापाठी मर्ने समस्या देखिएको फर्मका प्राविधिक घनश्याम तिवारीले बताउनुभयो ।
‘फर्ममा २५ वटा बाख्रा गएको फागुनमा ल्याइएकामा दुईवटा मरेका छन्, तिवारीले भन्नुभयो— “यी बाख्राबाट अहिलेसम्म जन्मिएका २९ पाठापाठीमध्ये १४ वटा जन्मिने वितिक्कै मरेको तिवारीले बताउनुभयो ।
यी बाख्रा हाल अध्ययनको चरणमा समेत रहेको फर्मका अर्का प्राविधिक गोरखबहादुर धामीले बताउनुभयो ।
कृषि तथा खाद्य सुरक्षा आयोजनाको पहलमा ल्याइएको एउटा बाख्राको रु दुई लाख ५० हजार मूल्यमा अष्ट्रेलियाबाट ल्याएको थियो ।
सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी तथा हिमाली जिल्लामा कृषि तथा खाद्य सुरक्षा आयोजना कार्यान्वयनमा छ । आयोजनाले सिफारिस गरेका किसानलाई फर्मले यी बाख्राका पाठापाठी बिक्री वितरण गर्ने लक्ष्य राखेको छ ।
यी बाख्रा नेपालमा पाइने विभिन्न जातका बाख्रा भन्दा बढी तौलका भएकोे बताइएको छ । फर्ममा यसबाहेक खरी जातका बाख्रापालन हुँदै आएको छ । विस २०५८ अघि जमुनापारी जातका बाख्रापालन हुँदै आएको थियो ।
पशुसेवा विभाग, पशु उत्पादन निर्देशनालय अन्तर्गतको यो फर्मले उत्पादित खरी नश्लका बोका एवम् पाठापाठी स्रोत बीउका रुपमा स्थापनाकालदेखि नै किसानलाई उपलब्ध गराउँदै आएको छ ।
चालु वर्षमा २५० वटा पाठापाठी उत्पादन गर्ने लक्ष्य रहेकामा लक्ष्य पूरा भई बिक्री वितरण हुन भने बाँकी रहेको जनाइएको छ । रासस
वि.सं.२०७३ मंसिर १२ आइतवार ०९:४१ मा प्रकाशित