१२ मङ्सिर,पोखरा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कास्की जिल्लामा ‘सुपरजोन’ कार्यान्वयन एकाइले आफ्नो काम सुरु गरेको छ ।
स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिको उपयोग मार्फत कृषि विकास गर्ने परियोजनाको लक्ष्य अनुरुप पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकामा तरकारी खेतीलाई प्राथमिकता दिएर काम अघि बढाउन लागिएको हो ।
समय सापेक्ष कृषिको आधुनिकीकरण गर्दै यसको व्यावसायिक विकास गराउने सरकारको योजना अनुसारको राष्ट्रिय गौरवको आयोजनाका रुपमा सो परियोजना अन्तर्गत कास्कीमा सुपरजोन कार्यान्वयन एकाइ स्थापना गरिएको वरिष्ठ कृषि अधिकृत एवम् एकाइका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यक्रम सञ्चालनका लागि एकाइले जिल्ला कृषि विकास कार्यालय अन्तर्गतका कर्मचारीलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।
उहाँले सुपरजोन कार्यक्रम अन्तर्गत कास्की जिल्लामा यस वर्षका लागि रु ११ करोड बनियोजन भएकोमा लगभग रु १० करोड कृषक केन्द्रित हुने जानकारी दिनुभयो ।
सुपरजोन कार्यक्रम अन्तर्गत कृषकलाई तरकारीको बीउ तथा बेर्ना खरिदमा ५० प्रतिशत, प्राविधिक सहयोगमा १०० प्रतिशत, प्रयोगशाला सेवामा ८५ प्रतिशत, कृषि औजार तथा उपकरण खरिदमा ५० प्रतिशत, साना सिँचाइका पूर्वाधार निर्माणमा ८५ प्रतिशत अनुदान छुट हुने छ । रासस
वि.सं.२०७३ मंसिर १२ आइतवार ०९:३९ मा प्रकाशित