back
CTIZAN AD

करोडौँको बेमौसमी आलु उत्पादन

वि.सं.२०७३ मंसिर १२ आइतवार

810 

shares

 १२ मङ्सिर,भक्तपुर । कोदो रोप्ने बारीमा बेमौसमी आलु फलाउँदै आएका भक्तपुर नगरकोट नगरपालिका सुडालका किसानले आलुको उचित मूल्य नपाएपछि मर्कामा परेका छन् । मकै र कोदो फल्ने बारीमा करोडाँैको आलु फलाए पनि उचित मूल्य नपाएपछि यस वर्ष सोचेजस्तो आम्दानी नभएको किसानको गुनासो छ ।

जिल्ला विकास समिति स्थानीय विकास कोषको सहयोगमा बेमौसमी आलुखेतीमा आकर्षित भएका यहाँका पाँच सयभन्दा बढी बासिन्दाले हरेक वर्ष आलुखेती गर्दै आएका हुन् । उक्त कोषले नगरकोट नगरपालिका–८ सुडालस्थित नेपाल गाउँमा गरेको बेमौसमी आलुखेतीको अनुगमनका क्रममा यहाँका किसानले आलुले पर्याप्त बजार नपाएर मूल्य घट्दा मर्कामा परेको बताएका हुन् ।

आलु खन्दै गरेकी गोपिनी नेपालले पाँच रोपनी जग्गामा आलुखेती गर्दा गत वर्ष तीन लाख रुपैयाँ आम्दानी गरेकामा यस वर्ष एक लाख रुपैयाँ पनि नआउने भएको बताउनुभयो । यस वर्ष आलु राम्रै उत्पादन भए पनि मूल्य नपाउँदा विगतको वर्षमा जस्तो फाइदा नहुने भएको उहाँको भनाइ थियो ।

नेपालले भन्नुभयो, “यस वर्ष ९० रुपैयाँ धार्नीमा आलुको बीउ किनियो, अहिले आलु धार्नीको ५५ रुपैयाँमा बिक्री गर्नु परेको छ, विगतका वर्षमा आधा मूल्य पनि नआएपछि नोक्सान व्यहोर्नु परेको छ ।” गत वर्ष धार्नीको ९० देखि एक सय पाँच रुपैयाँ सम्ममा खेतबाटै बिक्री गरेको आलु यस वर्ष भने ५० देखि ६० रुपैयाँसम्म बिक्री भइरहेको छ ।

विगत १८ वर्षदेखि आलुखेती गर्दै आएकी नेपाल गाउँकै रमा नेपालको गुनासो पनि उस्तै छ । तीन रोपनी बारीमा बेमौसमी आलुखेती गर्दा वर्षदिनभरि परिवार पाल्न, छोराछोरीको पढाइ खर्च धान्न पुग्ने भए पनि यस वर्ष भने आलुको उचित मूल्य नपाउँदा ऋण गर्नु पर्ने अवस्था आउने चिन्ता बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत वर्ष यति नै क्षेत्रफलमा लगाएको आलुले एक लाख ६० हजार आम्दानी भएको थियो, यस वर्ष ८० हजार पनि नआउने भो, आलु राम्रो फले पनि मूल्य आएन ।” बजारमा आलुको भाउ महँगो भए पनि किसानले भने आलुको उचित मूल्य पाउन सकेका छ्रैनन् । बजारमा आलु एक धार्नीको एक सय ३० रुपैयाँ पर्छ तर किसानले ५० रुपैयाँमा बिक्री गर्नुपर्छ । नेपाल गाउँकै रेनुका नेपालले विचौलियाले आलुको मूल्य बिगारेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “विचौलियाले यस वर्ष आलुको मूल्य बिगारे, बजारमा आलु महँगो भए पनि किसानलाई धेरै मूल्य नदिँदा हामी किसान मर्कामा परेका छौँ ।” आफूहरुले बजारमै लगेर आलु बिक्री गर्न खोजे पनि व्यापारीले उचित मूल्य नदिने तर बिचौलियाले व्यापारीलाई समेत प्रभावमा पार्दा बजारमा समेत आलुको उचित मूल्य नपाएको उहाँको भनाइ थियो ।

उत्पादन भएको आलु घरमै भण्डार गरेर राख्न नहुने र आलु बिग्रिने भएकाले अधिकांश किसानले खेतबाटै आलु बिक्री गर्ने गरेका छन् । जिविस स्थानीय विकास कोषका संयोजक राजन शर्माले घरमा खान मात्रै उत्पादन गर्दै आएका यहाँका किसानलाई कोषले विभिन्न समूह बनाएर आलु उत्पादन गर्न तालिम, बीउ, विभिन्न प्राविधिक सामान हस्तान्तरण गरेपछि किसान यसतर्फ आकर्षित भएको बताउनुभयो ।

मकै र कोदो मात्रै फल्ने बारीमा कोषको तालिम र विभिन्न सहयोगले किसानले साउनमै मकै भित्रै आलु लगाउने गरेको उहाँले बताउनुभयो । मकै भाँचेर भित्र्याएपछि आलुमा उकेरा दिने र कात्तिकदेखि मङ्सिरसम्ममा आलु खन्ने गर्दछन् । आलुखेती गर्न थालेपछि यहाँका किसानलाई घर खर्च गर्न र समूहमा पैसा बचत गर्न एवम् ऋण लिनसमेत सहज भएपछि पैसाको खाँचो पर्न छाडेको स्थानीय सामाजिक परिचारिका गङ्गा सुवेदीले जानकारी दिनुभयो ।

सुडालमा मात्रै अहिले पाँच सय परिवारले आलुखेती गर्ने गरेको र आलुबाटै उनीहरुको जीवनस्तर उकासिँदै गएको तर यस वर्ष उचित मूल्य नपाउँदा निराश भए पनि आलुखेतीलाई भने निरन्तरता दिने उनीहरुले बताए ।

वि.सं.२०७३ मंसिर १२ आइतवार ०९:२८ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...