back
CTIZAN AD

विदेशबाट फर्केर स्वदेशमै कृषि क्षेत्रमा रमाएका बाग्लुङका यी युवा

वि.सं.२०७६ असोज ४ शनिवार

1.2K 

shares

४ असोज, बाग्लुङ । “विदेशको चक्करमा चार वर्ष भौँतारिएँ, कहिले काठमाडौँ त कहिले दिल्ली धाउँदा पैसा उड्यो, पढाइ पनि बिग्रियो”, ३४ वर्षीय विष्णु थापाले आफ्नो नमिठो विगत कोट्याए ।

गलकोट नगरपालिका–७ मल्म, टोकरीका थापालाई शुरुमा विसं २०६५ तिर कोरियाको मोहले तान्यो । स्नातकको पढाइ बीचमै छाडेर भाषा पढ्न थाले । कोरियाको सपना टुट्यो । मन जापानतिर गयो । “जापानका लागि प्रयास गरेँ, काम भएन, पैसा पनि गयो”, उनले भने “केही नलागेपछि दुई वर्ष दिल्लीमै बसेर भाँडा माझेँ, त्यसपछि घर फर्के ।”

सित्तैमा कसैले लान्छु भने पनि विदेश नजाने निर्णय लिएर थापा विसं २०६८ मा घर फर्किए । उनी विदेशको सपना त्यागेर गाउँ फर्कदाँ छिमेक र टोलका युवाहरु भने कोही जापान त कोही अरबतिर भविष्य खोज्दै थिए ।

“कहिल्यै विदेश नजाने सङ्कल्प गरेर म दिल्लीबाट घर आएँ, त्यतिबेला मेरो साथमा रु छ हजार मात्र थियो”, थापाले भने, “गाउँ आएपछि कृषिमा केही गर्ने सोच पलायो, व्यावसायिक बाख्रापालनतिर लागेँ ।” उनले आफूसँग बचेको त्यही रु छ हजारबाट बाख्रापालन शुरु गरे ।

दुईटा बाख्राबाट शुरु गरेको व्यवसाय अहिले ‘घुम्टे बाख्रापालन फार्म’मा परिणत भएको छ । फार्ममा अहिले स्थानीय खरी, बोयर र जमुनापारि जातका गरी ६० बाख्रा छन् । फार्ममा उत्पादन भएका खसीबोका चलेको मूल्यमा स्थानीय बजारमै बिक्री हुन्छन् । खर्च कटाएर बाख्रापालनबाट वार्षिक रु पाँच लाख बढी आम्दानी हुने गरेको थापा बताउछन् । उनलाई बाख्रापालन व्यवसायमा श्रीमती रीताको सहयोग र साथ छ ।

तत्कालीन जिल्ला पशु सेवा कार्यालय र गलकोट नगरपालिकाले पनि बाख्रापालनमा अनुदान सहयोग उपलब्ध गराएका छन् । उन्नत जातको बोका राखेर बाख्रापालन व्यवसायलाई थप विस्तार गर्ने योजना थापाको छ । “गाउँका अधिकांश युवा सबै विदेश छन् मैले भने स्वदेशमै केही गर्ने अठोटका साथ काम गरिरहेको छु, कृषिलाई नै मूल पेशा बनाएको छु”, थापाले भने ।

गत वर्ष मलेसियाबाट फर्किएका निसीखोला गाउँपालिका–३ झिवाखोलाका राजमान बुढा पनि विदेशको रहर पुरा भएको बताउछन् । प्रदेशी भूमिमा भोकनिद केही नभनी पसिना बगाउने बुढा अहिले आफ्नै बारीमा लगाएको तरकारीमा भविष्य देखिरहनुभएको छ । तीन वर्ष बहराइन र दुई वर्ष मलेसियामा काम गर्दाका कष्टपूर्ण क्षण भने उनको सम्झनामा ताजै छन् ।

“घरमा किराना व्यवसाय छ, तरकारी खेती गरेको छु, विदेशको जति कमाइ यहीँ छ”, उनले भने । धन कमाउने आशामा खाडीमुलुक चहारेका बुढा आखिरीमा घर फर्केर कृषिको व्यावसायीकरणतर्फ लागे । विदेशबाट फर्केर झिवाखोलामा कृषि कर्म गर्नेमा बुढा एक्लो हुनुहुन्न । बुढालाई कृषिमा साथ दिएका छन्, सोही ठाउँका विमल शाहीले ।

शाही पनि अघिल्लो वर्ष नै दुबईबाट घर फर्किएका हुन् । एक वर्ष पनि दुबई नबसी फर्किएका शाही, बुढा र अर्का स्थानीय श्यामबहादुर शाही मिलेर सामूहिक तरकारी खेती गरीरहेका छन् । “विदेशको दुःख, कष्ट देखेपछि स्वदेशमै फर्केर केही गर्ने सोच आयो”, बिमलले भने, “नेपाल आएपछि युवा मिलेर निसीखोला कृषि फार्म खोलेका छौँ ।”

कृषिबाटै आत्मनिर्भर बन्ने उद्देश्यसहित तीनै युवा व्यावसायिक कृषिमा लागेका हुन् । “मौसमअनुसारको तरकारी उत्पादन भइरहेको छ, बजारलाई कुनै समस्या छैन”, शाहीले भने “आम्दानी पनि राम्रै छ, लगानी थप्ने योजनामा छौँ ।” शुरुमा तरकारी खेतीका लागि रु चार लाख लगानी भएको उनको भनाइ छ ।

पाँच वर्षे कोरिया बसाइँ छोट्याएर बीचमै नेपाल फर्किएका जैमिनी नगरपालिका–१ कुश्मीसेराका भीमप्रसाद आचार्य पनि हिजोआज बाख्राको स्यहारसुसारमा व्यस्त छन् । आचार्यको फार्ममा अहिले २८ वटा स्थानीय खरी जातका बाख्रा छन् ।

तीन वर्षअघि कोरियाबाट फर्किएका आचार्य व्यावसायिक बाख्रापालनतिर लागेका हुन् । बाख्रासँगै कुखुरापालन र तरकारी खेतीलाई पनि व्यावसायिक बनाउने उहाँको योजना छ । “मासिक रु एक लाख कमाउने लक्ष्यसहित कृषिमा लागेको छु”, उनले भने, “अहिले बाख्राको बगाल बढाउने र लगानी थप्नेतिरै मेरो बढी जोड छ ।”

विगत १७ वर्ष प्रवासमा बिताउनुभएका गलकोट नगरपालिका–११ रिघाका जीतबहादुर रानामगरले पनि स्वदेश फर्केपछि कृषि रोजे । स्थानीय रामप्रसाद पुन र शेरबहादुर श्रीससँग मिलेर आठ वर्षअघि खोलेको ‘मिलिजुली कृषि फार्म’बाट अहिले वार्षिक रु २० लाखभन्दा बढीको तरकारी उत्पादन भइरहेको छ । करीब १४ रोपनी जग्गामा तरकारी खेती भइरहेको रानामगरको भनाइ छ ।

“१२ वटा हाइटेक प्रविधिको टनेलमा तरकारी खेती छ, अहिलेसम्म रु ४० लाख जति लगानी भइसक्यो”, उनले भने फार्मले कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट रु १० लाख अनुदानसमेत पाएको छ । फार्म सञ्चालनमा आएपछि दुई जनाले रोजगारीसमेत पाएका छन् ।

यी तिनै प्रतिनिधि पात्र हुन् जस्ले विदेश त्यागे, कृषि रोजे र गाउँका उदाहरण पनि बने । पछिल्लो समय विदेशबाट फर्केर कृषि उद्यममा लाग्नेको संख्या बढ्दो छ । त्यस्ता उद्यमीलाई सरकारले पनि विशेष अनुदान, सहुलियत दरको ऋण र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

विदेशबाट फर्केर व्यावसायिक कृषि गर्ने युवाले कृषिका कार्यक्रममा प्राथमिकता पाएको कृषि ज्ञान केन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए । लागत साझेदारीमा ५० प्रतिशतसम्म अनुदान दिन्छौँ, तालिमलगायत प्राविधिक सहयोग पनि उपलब्ध हुन्छ”, उनले भने ।

कार्यालयबाट सञ्चालन हुने जैविक तरकारी खेती, नमूना फार्म र हाइटेक टनेल खेतीसम्बन्धी कार्यक्रममा बढीजसो युवानै सङ्लग्न छन् । जैविक तरकारीतर्फ बागलुङमा सबैभन्दा बढी कार्यक्रम परेको केन्द्रले जनाएको छ । यो वर्ष उक्त कार्यक्रमका लागि रु डेढ करोड बजेट छुट्टिएको छ ।

“पहिले एउटामात्र टनेल पाउने अवस्था थियो, अहिले एउटै किसानलाई लाखौँ रुपैयाँसम्म अनुदान जान्छ”, अधिकृत रेग्मीले भने, “कृषिमा समर्पित भएर लाग्नेलाई राम्रो अवसर छ, परिश्रमीले निराश हुनु पर्दैन ।” रासस

फाइल : फोटो

वि.सं.२०७६ असोज ४ शनिवार १७:०४ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...