पिमला न्यौपाने, धादिङ । बैदेशिक रोजगारबाट फर्किएर उत्पादनमा लागेका धादिङका युवाहरुले सरकारसँग उपयुक्त बजार र प्राविधिकको माग गरेका छन् ।
सिड्स नेपाल धादिङ्गको आयोजना, संस्थागत विकास संजाल वेड फर द वर्डको सहयोग तथा थाक्रे वडा नं. २ को समन्वयमा आयोजना गरिएको एक कार्यक्रममा युवाहरुले वैदेशिक रोजगारीबाट फर्केपछि आफ्नै समुदायमा प्रयोग गरेको सीप तथा लगानीमा उपयुक्त बजार र यसको प्रतिस्पर्धा साथै कृषि प्राविधिकको ब्यबस्था गर्न जनप्रतिनिधि लगायत जिम्मेवार निकायलाई आग्रह गरेका हुन् ।
धादिङ्गको थाक्रे गाँउपालिका अन्तर्गत वडा नं. २ मा युवाहरुको सक्रिय भूमिका सहितको सहभागितामा जोड दिइएको उक्त कार्यक्रममा युवाहरुलाई विभिन्न समुहमा विभाजन गरी सामुहिक परियोजना कार्य गर्न लगाइएको थियो ।
४ वटा समुहमा विभाजित युवाहरुलै आँफू र आफ्नो समुदायको साझा समस्याको पहिचान गर्दै सम्भावित समस्या समाधानका बारेमा आफ्नो परियोजना कार्य निर्माण गर्दै प्रस्तुति दिएका थिए ।

उक्त कार्यक्रममा युवा सहभागिता र उनीहरुको सीप विकास तथा आत्मनिर्भरतामा जोड दिइएको थियो । उक्त वडाका अध्यक्ष राज कुमार पौडेल र सिड्स नेपाल धादिङ्गका निर्देशक गोकर्ण रुपाखेती लगायतको संयुक्त पहलमा युवाहरुको सक्रिय सहभागिता सहितको आत्मनिर्भरतामा केन्द्रित रहेको बताइएको छ ।
त्यसैगरी वैदेशिक रोजगारी विशेष गरी खाडी मुलुकबाट फर्किएका धादिङ्गको थाक्रेका युवाहरुको स्वास्थ्य विषयमा केन्द्रित रही जानकारी लिने उद्धेश्यले उपस्थित ग्रिन तारा नेपालका निर्देशक रामचन्द्र सिलवाल लगायतको अनुसन्धान टोलीले पनि युवाहरुको उक्त समस्याहरुको समाधान अपरिहार्य रहेको र समुदायमा गरिएको युवाहरुको सहभागिता सहितको सक्रिय भूमिकाको खुलेर प्रसंशा गरेका थिए ।
सिड्स नेपाल धादिङ्गका निर्देशक गोकर्ण रुपाखेतीले सम्पूर्ण सहभागी युवाहरुलाई उनीहरुको व्यक्तिगत र सामुहिक धारणा, समस्या र आवश्यकताको बारेमा खुला धारणा राख्नको लागि उत्प्रेरित गर्दै उनीहरुको आवश्यकता, सीप तथा आत्मनिर्भरतामा समुदाय, संस्थाहरु लगायत आँफूहरुको पहल समेत सदैव जारी रहने कुरामा प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा वडा अध्यक्ष राज कुमार पौडेलले उक्त समुदायमा विभिन्न संस्थाहरु तथा व्यक्तिहरुको सहयोग, सहकार्य, सहभागिताप्रति आभार प्रकट गर्दै आगामी दिनहरुमा युवाहरुको सीप विकास सँगसँगै आत्मनिर्भतामा जोड दिने बताउँदै आफ्नो तर्फबाट सधैँ सकारात्मक पहल हुने कुरामा जोड दिएका थिए ।
वि.सं.२०७६ कात्तिक ५ मंगलवार १०:४७ मा प्रकाशित






























