२ मसिंर, बैंकक । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले गर्न लागेको संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरिकी रक्षामन्त्री मार्क एस्परले बताएका छन् । उत्तर कोरियासँग जारी आणविक निःशस्त्रीकरण वार्तालाई सहजीकरण गर्न उक्त संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरिकी भनाइ छ ।
उत्तर कोरियाले आफ्नो मुलुकमाथि आक्रमण गर्ने नियोजित षडयन्त्रस्वरूप संयुक्त सैन्य अभ्यास गरिएको भन्दै विरोध गर्दै आएको थियो । उत्तर कोरियाले अमेरिकालाई यस वर्षको अन्त्यसम्ममा दुवै मुलुकलाई स्वीकार्य स्पष्ट योजनासहित अघि आउन आग्रह गरिआएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–अनबीच सिङ्गापुरमा भएको पहिलो शिखर वार्तापछि अमेरिका र दक्षिण कोरियाले गत वर्ष पनि धेरैवटा संयुक्त सैन्य अभ्यास रद्द गरेका थिए । तर यसै महिनाको अन्त्यतिर संयुक्त हवाई अभ्यास गर्ने तयारी गरिएको थियो ।
अमेरिकी रक्षामन्त्री एस्परले संयुक्त सैन्य अभ्यास स्थगित गरिएको जानकारी दिए । उनले भने – कोरियाली द्वीपमा शान्ति स्थापना गर्ने र उपयुक्त वातावरण निर्माण गर्ने उद्देश्यले यो मित्रवत निर्णय गरिएको हो ।
थाइल्याण्डको राजधानी बैंककमा एशिया प्रशान्त क्षेत्रका रक्षामन्त्रीहरूको बैठकका क्रममा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी रक्षामन्त्री एस्परले उत्तर कोरिया पनि वार्ताको टेबुलमा चाँडै आउने विश्वास व्यक्त गरे । उनले संयुक्त सैन्य अभ्यासमा गरिएको ढिलाइले दुवै मुलुकका कूटनीतिज्ञबीच जारी वार्ता फलदायी हुन सहज बनाउने बताए ।
स्वीडेनमा गत अक्टोबरमा शुरु भएको दुवै मुलुकबीचको वार्ता एकाएक भङ्ग भएको थियो । वार्तामा उत्तर कोरियाली प्रतिनिधिमण्डलले अमेरिकाबाट पुरानै प्रस्ताव आएको भन्दै असन्तोष प्रकट गरेका थिए ।
वि.सं.२०७६ मंसिर २ सोमवार ०९:१५ मा प्रकाशित





























