९ मसिंर, काठमाडौँ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको सचिवालयमा दिगो विकास लक्ष्य स्रोत केन्द्र स्थापना गरिएको छ ।
दिगो विकासका तथ्याङ्क एकै थलोबाट दिने उद्देश्यले आइतबार केन्द्र स्थापना गरिएको हो । केन्द्रमा दिगो विकासका १७ वटै क्षेत्रलाई समेट्ने गरी ‘इन्फोग्राफिक्स’को माध्यमबाट तथ्याङ्क देखाइएको छ ।
दिगो विकासका १७ लक्ष्यमा गरीबीको अन्त्य, शून्य भोकमरी, स्वस्थ जीवन, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, दिगो सफा पानी तथा सरसफाइ सेवा, आधुनिक ऊर्जामा पहुँच, समावेशी आर्थिक वृद्धि तथा मर्यादित काम, उद्योग नवीन खोज र पूर्वाधार, असमानता न्यूनीकरण, दिगो शहर र बस्तीहरु, दिगो उपभोग तथा उत्पादन, जलवायु परिवर्तन अनुकूलन, समुद्री संरक्षण, भू-सतह र स्रोतको उपयोग, शान्तिपूर्ण, न्यायपूर्ण र सशक्त समाज एवं दिगो विकासका लागि साझेदारी गरी १७ लक्ष्य रहेका छन् ।
केन्द्रको उद्घाटन कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले यसबाट दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताए । “दिगो विकासका लक्ष्य विश्वकै साझा लक्ष्य हुन्, यसैलाई कार्यान्वयन गर्न सहयोग गर्ने उद्देश्यले समिति गठन भएको हो, यसलाई सरकारले मात्र नभई गैरसरकारी संस्था, निजी क्षेत्र र व्यक्तिले समेत कार्यान्वयनमा सहयोग गर्नुपर्छ”, उनले भने ।
धेरै विकास निर्माणसम्बन्धी बजेट स्थानीय तहमा गएकाले दिगो विकास लक्ष्यका बारेमा जानकारी दिई कार्यान्वयनमा शाखा नै स्थापना गरिनुपर्ने अध्यक्ष तिमल्सिनाले बताए । समिति सभापति तारादेवी भट्टले दिगो विकास लक्ष्यसम्बन्धी कामको अनुगमन गर्न केन्द्रले योगदान दिने विश्वास व्यक्त गरे । केन्द्रलाई सुधार गर्दै बढी जानकारीमूलक बनाई लक्ष्य प्राप्तिमा प्रभावकारी अनुगमन गर्ने उनको प्रतिबद्धता थियो । लक्ष्य प्राप्त गर्न राष्ट्रिय एकता कायम हुनुपर्ने सभापति भट्टको माग थियो ।
महालेखापरीक्षक टङ्कमणि शर्माले दिगो विकास लक्ष्यसम्बन्धी कार्यक्रमको लेखापरीक्षण गर्ने कार्ययोजना बनाइ दुई वटा प्रतिवेदनसमेत तयार भएको बताए । उपमहालेखा परीक्षकको संयोजकत्वमा अलग्गै समिति बनाएर दिगो विकास लक्ष्यसम्बन्धी लेखापरीक्षण गरी प्रतिवेदन प्रकाशन शुरु गरिएको जानकारी उनले दिए ।
राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले दिगो विकास लक्ष्य हासिल गर्ने गरी योजना बनाउन वार्षिक रु २० खर्ब २५ अर्ब बजेट आवश्यक पर्ने औँल्याए ।
कार्यक्रममा सभामा सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता दीनानाथ शर्मा, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डे, सांसदद्वय डा बिमला राई पौडेल र प्रमिला कुमारी, सभाका सचिव राजेन्द्र फुयाँल, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का ऐसानी, पोर्टल तयार गर्ने प्राविधिक सन्तोष बर्तौलालगायतले दिगो विकास लक्ष्य हासिल गर्न केन्द्रले सहयोग गर्नेमा जोड दिएका थिए ।
केन्द्रलाई https://digobikas.gov.np वेब पोर्टलमा गएर दिगो विकास लक्ष्यसम्बन्धी सामग्री हेर्न सकिने कम्प्युटर प्रणाली तयार गरिएको छ ।
यो पोर्टलमा तीनै तहका ७६१ वटै सरकारका सबै वेबसाइटमा जान सकिने प्रणाली विकास गरिएको जानकारी पनि सो अवसरमा दिइएको थियो ।
वि.सं.२०७६ मंसिर ९ सोमवार १०:०२ मा प्रकाशित






























