back

नारायणगोपाल को थिए र कस्ता थिए?

वि.सं.२०७३ मंसिर १९ आइतवार

1.4K 

shares

narayan-gpal

एउटा मान्छेको मायाले कति फरक पर्द छ जिन्दगीमा
एउटा साथीको साथले कति फरक पर्द छ जिउनुमा ।

नारायणगोपालले गाएका प्रायः प्रत्येक गीतले जनजनको हृदयको ढुकढुकीलाई छुने गर्छन् । नेपाली गीतिसंसारमा नारायणगोपाल नै एउटा भाग्यमानी गायक हन् जो नेपालका प्रत्येक गाउँबेसी, पहाडकन्दरा र तरार्ईका घरघरमा सुपरिचित, श्रद्धेय र प्रिय छन् ।
नारायणगोपाल प्रसिद्ध सितारवादक आशागोपाल गुरुवाचार्य तथा रामदेवी गुरुवाचार्यका सुपुत्रका रूपमा काठमाडौँको किलागलमा १९९६ साल असोज १८ गते जन्मेका थिए ।
नारायणगोपालले सानै देखि सङ्गीतमा रुचि राखे । आफ्ना बाबु सङ्गीतका साधक भएको हुँदा नारायणगोपाललाई सानै देखि सङ्गीतमा पिङ मच्चाउने वातावरण पैदा भएको थियो । त्यसै वातावरणमा नारायणगोपालको सङ्गीतप्रतिको मोह, परिश्रम र लगनशीलता हुर्कंदै , झाङ्गिदै र मौलाउँदै जान थाल्यो । उनी शास्त्रीय सङ्गीतमा आराधना गर्दै जान थाले । त्यसपछि उनले क्रमशः शास्त्रीय र आधुनिक सङ्गीतमा सँगसँगै पाइला चाल्न थाले । परिणामस्वरूप उनले सर्बप्रथम रेडियो नेपालको स्टुडियोमा २०१७ सालमा एउटा आधुनिक गीत रेकर्डिङ गराए
स्वर्ग की रानी मायाकी खानी नजाऊ तर्के र
लाजै नमानी रिसाउने बानी छाडी आऊ फर्के र ।
नारायणगोपाल नेपाली आधुनिक गायनका महेश्वर थिए, उनी आधुनिक नेपाली गायनका शिखर थिए र उनी पृथ्वीमा सबै भन्दा मीठो नेपाली गीत गाउने साधक थिए । उनले जीवनको सबै भाग नेपाली सङ्गीतको उत्थान, विकास र समृद्धिमा चढाएका थिए । उनले नेपाली आधुनिक गीतलाई देशदेशान्तरमा पु¥याएका थिए । संसारमा जहाँजहाँ नेपाली बस्छन् त्यहाँत्यहाँका नेपालीले नारायणगोपालका मधुर, कर्णप्रय र सुमधुर स्वर सुन्ने गर्छन् । उनी नेपाली स्वरका एउटा प्रतिनिधि गायक थिए, सर्वाधिक लोकप्रिय गायक थिए र ओजस्वी स्वरलहरीका गायक थिए । उनको स्वरमा जादु हुन्थ्यो । त्यसैले उनले गाएपछि जुनसुकै गीत पनि उच्चकोटिको हुन्थ्यो । वास्तवमा उनी शब्द चुनीचुनी गीत गाउँथे । उनी गीत गाउँदा जनभाका गाउँथे । त्यसैले उनका गीत श्रोताहरूले अत्यधिक मन पराए ।
आँखा छोपी नरोऊ भनी भन्नुप¥र्या छ
मुटुमाथि ढुङ्गा राखी हाँस्नुप¥र्या छ ।
नारायणगोपाल एउटा संवेदनशील सङ्गीतकार पनि थिए । उनले आफ्ना सङ्गीतमा पनि गीत गाए । केही वरिष्ठ गायकहरूले पनि उनीद्वारा सङ्गीतबद्ध गीत गाएका थिए । त्यतिमात्र होइन उनी सङ् गीतबारे लेखरचनाको निर्माण पनि गर्थे । उनले ‘बागीना’ (बाजा, गीत, नाच) त्रैमासिक पत्रिकाको पनि सम्पादन गरे । साथै उनी प्रशासनमा पनि रहे । अथवा भनौँ उनी सांस्कृतिक संस्थानका महाप्रबन्धक पनि भए । उनले त्रिभुवन विश्वविद्यालय अन्र्तर्गतको नेपाल ललितकला क्याम्पसमा सङ्गीतविषयमा प्राध्यापन पनि गरे । तर उनी चाहीं स्नातक परीक्षा मात्र उत्तीर्ण थिए । ‘पढेर भन्दा परेर जानिन्छुु भन्ने लोकोक्तिका उनी पनि एउटा नमुना थिए । त्यसैले उनले शैक्षिक प्रमाणपत्रको भन्दा व्यावहारिकतामा आधारित ओजपूर्ण काम गरे । उनी आफ्नो श्रुतिमधुर स्वरका कारणले ‘स्वरसम्राट’मा रूपान्तरित भए । नेपाली संसारमा उनको स्वर एउटा अपरिहार्य आविष्कार बन्यो
आजै र राति के देखेँ सपना मै मरिगएको
बतासबिना हाँगाको फूल भै झरिगएको ।
नारायणगोपाल नेपाली माटोमा एउटा होनहार प्रतिभा थिए । उनका लागि देशदेशान्तरका नेपाली पनि एउटै थिए । उनी जातीयतालाई समेत नेपालीत्वमा टयाप्पै बाँध्ने हिम्मती पुरुष थिए । त्यसै ले उनले दार्जी लिङकी पेमला लामासँग प्रेमविवाह गरे । एउटा कट्टर नेवार परिवारमा हुर्के का नारायणगोपाले २०२६ सालमा पेमला लामासँग हार्दि कताका साथ लगनगाँठो कसेका थिए ।
नेपाली साङ्गीतिक आकाशमा नारायणगोपाल एउटा अद्वितीय व्यक्तित्व थिए । उनी प्रस्ट व्यवहारका लखपति थिए । उनी मनमा कुरा लुकाउँदैनथे र भन्नुपर्ने कुरा प्याच्चै भनिदिन्थे । उनी नेपाल र नेपालीत्वप्रति सारै गर्व मान्थे । उनी राष्ट्रभाषा, राष्ट्रिय पोसाक र राष्ट्रिय नीतिका कट्टर पक्षपाती थिए । उनी अशिष्ट र छोटो प्रवृत्तिका मान्छेलाई पटक्कै पन पराउँदैनथे । उनी स्वयं सहृदयी, मिलनसार र सृजनशील थिए । उनी गायनका एउटा आदर्श प्रतिमूर्ति थिए । त्यति मात्र होइन उनी आफ्नै सङ्गीतमा भाका मिलाई मिलाई गीत गाउने सफल गायक थिए
दुइटा फूल देउरालीमा साथै राख्यौ जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिँडयौ जस्तो लाग्छ ।
नारायणगोपालले २०२३ सालको प्रतियोगितात्मक आधुनिक सङ्गीतसम्मेलनमा सर्वाेत्कृष्ट सङ्गीतकारको पुरस्कार प्राप्त गरेका थिए । उनले २०२४ सालमा गायनमा सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरेका थिए । अनि यो क्षण उनको जीवनको एउटा चिरस्मरणीय सुखद घटना थियो । साथै उनी नेपाली सङ्गीत र स्वरका माध्यमबाट उत्कृष्टताको चुचुरोमा पुगेवापत रत्न रेकर्डिङ पुरस्कार, इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार, जगदम्बाश्री पुरस्कार, छिन्नलता गीत पुरस्कार, प्रबल गोरखादक्षिणबाहु र विख्यात त्रिशक्तिपट्टबाट सम्मानित र विभूषित भए ।
नारायणगोपालले गायनका सिलसिलामा नेपालका विभिन्न जिल्लाहरूका अतिरिक्त भारत, बङ्गलादेश, बर्मा , चीन, थाइल्यान्ड, हङकङ, सोभियतसङ्घ, उत्तर कोरिया र पूर्व जर्मनी आदि मुलुकहरूको पनि भ्रमण गरेका थिए । उनी केवल गायक मात्र भएर देशविदेश घुमेनन् । उनी एउटा उच्च बौद्धिक व्यक्तित्व पनि थिए । उनी मुलुकको राजनीतिक, सामाजिक र आर्थिक पक्षको पनि गहिरो अध्ययन, विश्लेषण र चिन्तन गर्ने गर्थे ।
नारायणगोपालले आफ्नो योग्यताले नै गीतका सारा पारखीलाई रिझाएका थिए । आफ्नो मीठो स्वर प्रस्तुत गरेर नै यी सबैका आफन्त भएका थिए । त्यसैले यिनले पनि आफ्ना श्रोताहरूलाई धूमधाम मन पराए । यिनले ठूलालाई मन पराए, सानालाई मन पराए र आफ्नी प्रेयसीलाई झनै मन पराए
चिनारी हाम्रो धेरै पुरानो रहे झै लाग्दछ
नदेखे पनि भेट सधैँसधै भए झै लाग्दछ ।
नारायणगोपालले रेडियोमा मात्र गीत गाएनन् । उनले नेपालका विभिन्न ठाउँहरूका सङ्गीतप्रेमीहरूका माझमा उभिएर पनि गीत गाए र विदेशमा रहेका नेपालीहरूका सामुन्ने पुगेर पनि गीत गाए । उनले जीवनमा थुप्रै आधुनिक गीत गाए थोरै लोकगीत र केही नेवारी गीत पनि गाए । तर उनले जति गीत गाए अत्यन्तै राम्राराम्रा मात्र गाए । उनी गीत गाएर यस धर्तीका अविस्मरणीय प्रतिभा बने । उनको नेपाली सङ्गीतप्रतिको लगावले गर्दा उनी नेपाली सङ्गीतका विभूति बने । उनको शेषपछि राष्ट्रिय युवा सेवा कोषबाट उनका नाउँमा नारायणगोपाल युवा पुरस्कार स्थापित भयो । सो पुरस्कार हरेक वर्षउत्कृष्ट सङ्गीतकर्मीहरूले पाउन थाले । साथै नेपाल सरकारबाट उनको चित्र अङ्कित हुलाक टिकटको पनि निर्माण भयो ।
नारायणगोपाल अत्यन्तै हक्की, झवाँक्की र स्वाभिमानी थिए । उनी प्रस्ट व्यवहारका धनी थिए । उनका मनमा, मस्तिष्कमा र व्यवहारमा नेपालको गहिरो छापा लागेको थियो । उनका लागि यो नेपाल नै विश्व थियो । उनले नेपाली भाषामा करिब एक सय पच्चीसवटा गीत गाए । गीत गाउँदागाउँदै नारायणगोपालले २०४७ साल मङ्सिर १९ गते आफ्नो जीवनलाई परलोक र्पुयाए । तर उनी यस जगत् मा सधैँ श्रद्धेय, माननीय र चिरञ्जीवी छन् । उनी यही नेपाली माटोमा सधैँ बोलिरहेका छन्, उनी यही नेपाली धरातलमा सधैँ बाँचिरहेका छन् र उनी यही नेपाली साङ्गीतिक बगैँचामा स्वरसम्राट् भएर नै सधैँ गुञ्जिरहेका छन्
यो सम्झिने मन छ म बिर्सू कसोरी
तिमी नै भनिदेऊ ए ! जाने निठुरी ?

वि.सं.२०७३ मंसिर १९ आइतवार ०७:५१ मा प्रकाशित

Himalayan Life AD
सामाजिक आन्दोलनको अध्ययनमा प्रतीति विज्ञान पद्धतीको महत्व

सामाजिक आन्दोलनको अध्ययनमा प्रतीति विज्ञान पद्धतीको महत्व

प्रतीति विज्ञान (फेनोमेनोलोजी) एक दार्शनिक अभियान र एक विशेष परिघटनाको...

संविधानको खिल्ली उडाउने मुसहरको जीवन

संविधानको खिल्ली उडाउने मुसहरको जीवन

मुसहर समुदायको बारेमा मैले पहिलोपटक सन् १९९० को दशकतिर सुनेको...

डिजिटल आकाशमा पनि रातो तारा चम्किनै पर्छ

डिजिटल आकाशमा पनि रातो तारा चम्किनै पर्छ

नेपाली कम्युनिष्ट पार्टी केवल एक राजनीतिक संगठनको नाम मात्र होइन,...

जेन—जी विद्रोहले निम्त्याएको सामाजिक तथा आर्थिक संकट

जेन—जी विद्रोहले निम्त्याएको सामाजिक तथा आर्थिक संकट

नेपालमा विगतका गैह् जिम्मेवार, भ्रष्ट, कुशासन र आफ्ना दलभित्रका कार्यकर्तादेखि...

दलहरुको धुर्विकरण, नेतृत्व र कार्यकर्ताका दु:ख

दलहरुको धुर्विकरण, नेतृत्व र कार्यकर्ताका दु:ख

नेपालको राजनीतिक संस्कृतिले पछिल्ला वर्षहरूमा एक रोचक तर गम्भीर प्रवृत्ति...

क्रिकेटप्रेमीको सपनाः एनपिएलको नयाँ अध्याय

क्रिकेटप्रेमीको सपनाः एनपिएलको नयाँ अध्याय

काठमाडौँ । नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो...