Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रिय साहिलो भाइ, नेताहरु धनी बनेको तिमीले देख्नै पाएनौं



uday-gautam

तिम्रो भौतिक अवशान सार्थक बन्नको लागि हामीले अझै कहीले सम्म पर्खिनु पर्ने हो त्यो भने हेर्ने इच्छा अपुरै होला जस्तो छ । हामीले त्यति बेला गरिब देखेका हाम्रा नेताहरु धेरै अहिले धनी बनि सक्नु भयो । सन्तोषलाई बोर्डिङ्ग स्कुल पढाउन अरुले सल्लाह दिंदा तिमीले ठाडै इन्कार गरेको कुरा म अहिले झल्झली सम्झी रहेको छु । कुरा तिम्ले सोचे जस्तो कहाँ भयो र यहाँ त अर्कै भयो प्रिय भाइ । बा ले इण्डियामा जाँदा हेरेको कमला सर्कस जस्तै भयो । छोटो समयमानै कुराहरु पर्दामा हेरे जस्तै भयो ।

जसलाई गुमाइन्छ उसको बारेमा सस्मरण लेख्ने कुरा निकै पिडादायक हुदो रहेछ । बाह्र वर्ष बिते हरेक वर्ष मंसिर महिना लागेपछि जल्लादहरुले भाइलाई धपाउदै  अनि लेखेट्दै गरेको सपना देखिन्छ । बिगतको सम्झनाले मन मस्तिष्कलाई पुरै लथालिङ्ग बनाउँछ । अनि मंसीर १७ प्यारो भाइ साहिलाले सहादत गरेको दिनले मनमा हुण्डरी मच्चाउछ ।

श्रद्धान्जलीको निम्ति दुइ शब्द लेख्न थाल्यो भने आँखामा साउनको भेल बगेझैं हुन्छ । मन मष्तिष्कलाई जति सुकै कठोर बनाउन खोज्यो भने पनि थाम्न सकिदैन । केही लेख्न थाली हाल्यो भने पनि कलमको गति रोकिएर, कागज भिज्नु सिवाय केही भएन । श्री जनसेवा संस्कृत मा वि, त्यो बिद्यालय जहाँ सेवा गर्दा गर्दै दर्जनौ पटक खुनी शाशकहरुले वारेन्ट जारी गरे, घरमा पुर्जी टास्ने काम गरे । र, अन्त्यमा एउटा निशस्त्र ब्यक्तिलाई दुश्मनहरुले कायरतापुर्वक हत्या गरे ।

हामीले परिवारको एउटा महान अनि प्रिय सदस्यलाई सदाको लागि गुमायौ । जनसेवा मा.वीले एउटा होनाहार कुशल शिक्षक गुमायो भने जनताले आफ्नो आँखाको नानी गुमायो । शोकको घडिमा हजारौं जनताले पिडा बोध गरे । मानिसको मुल्याङ्कन अबशानपछि मात्र हुने रहेछ । शायद हाम्रो सामाजिक चलन पनि यस्तै भएर होला । एउटा महान शहिदको सम्मानको खातिर हामी बाचेकाहरुले सलाम बाहेक के नै पो दिन सक्छौ र ?
कतिपय अवस्थामा परिवारको एउटा सदस्यलाई गुमाएर शहिद बनाइयो , सहिद महान हुन भन्ने कुरा औपचारिक आभूषण मात्र हुन जस्तो लाग्छ किनकि देशलाई सहिदको महत्व भन्दा नाबालक छोरा छोरीलाई बाबु आमाको महत्व कति र कस्तो हुन्छ बताई रहनु पर्दैन ।

भाइ कृष्ण गौतमको दुब्लो पातलो झुस्स दारी पालेको अनी ढाका टोपी लगाएको जिवन्त अनुहारको उपस्थिती अब हाम्रो घरमा हुने छैन भनेर सम्झ्यो भने पनि मात्र त्यो पिडा असैह्य हुन्छ । त्यो पीडालाई शब्दमा ब्यक्त गर्न असम्भव छ । हामी घाँस काट्न संगै जान्थौं । उसले अलि ठूलो डोको लिएर हिड्ने बानी थियो त्यसले मलाइ हुनसम्म मनोबैज्ञानिक दबाब दिन्थ्यो । दाजु भए पछि भाइले भन्दा सानो डोको लिएर हिड्ने कुरा पनि भएन । जब राती हुन्थ्यो घरमा जाने कुरामा झगडा हुन्थ्यो । घासको भारी टम्म नपारेसम्म घरमा नजाने उसको अडानको अगाडि मेरो केही चल्दैनथ्यो । डर लाग्छ , अध्यारो भै सक्यो छिटो घर जाम भन्यो भने के को डर , कहाँ छ भुत ? लौ देखा भनेर सानैदेखि आफु खाटी भौतिकबादी भएको कुरा निर्धक्कसंग भन्ने उसको स्वभाव पछि सम्म रह्यो । हरेक काम गर्न सुरु गरे पछि प्रतिकुल अवस्थामा पनि त्यसलाई फत्ते गर्नु पर्ने उसको अडान मलाई भने अली झर्को लाग्थ्यो ।

रातिमा पढ्न शुरु गरेपछी बत्ति ननिभाइकन छर्लङै बिहानसम्म पढ्ने, कबिता लेख्न शुरु गरेपछी पुरै डायरी सक्नुपर्ने, लेन देन हिसाब किताब ५ पैसा पनि रिट्ठो नबिराइ डायरिमा टिप्ने, किनमेल गर्दा र गरिसकेपछी सबै चिजको फेहरिस्त तयार गरेर राख्ने, जस्ताको तस्तै हिसाब बालाइ महिनै पिच्छे बुझाउने, भारि बोक्नु प¥यो भने उठ्नै नसक्ने गरी बोक्ने, धाराबाट पानी बोक्दा २ वटा गाग्रिमा एकै चोटि पानी ल्याउनु पर्ने स्वभाव थियो भाई कृष्णको ।

krishna-gautam

कुनै पनि काम शुरु गरेपछि त्यसलाई सतप्रतिशतनै पूरा गरेरै छाड्नु पर्ने उसको जन्मजात स्वभाब जीवनको अन्तिम घडीसम्म पनि जस्ताको तस्तै रह्यो । दुस्मनको कब्जामा परेपछी पनि आफ्नो आस्थामा अडिग रहेको र गोपनियता भङग गरेर गद्दारी गर्नु भन्दा मृत्युलाई रोजेको कुरा प्रत्यक्षदर्शीहरु बताउछन् ।

घरमा लिप पोत गर्न शुरु गरेपछि तलमाथी चारै तिर सक्नु पर्ने उसको बानी थियो । आमा मात्र एकजना महिला घरमा भएकोले हामीहरुले घरायसी काममा पनि आमालाई सघाउनु पथ्र्यो । धान कुट्ने, कोदो पिस्ने, भैंसीलाई कुढो पकाउने, दाउरा चिर्ने ,बटुल्ने, बेला बखत खरानीमा लुगा पकाउने, बोकेर खोलामा लैजाने धुने सबै सबै । पुजा,आजा ,ब्रत उपवास र सुची निचिका काम आमालाई बाक्लै गर्नु पर्ने । भएका र खेर गएका जम्मा जोड्दा १६ वटा सन्तानलाई हाम्री आमाले जन्म दिनु भएछ । भाडा माझ्ने, लिप पोत गर्ने सबै काम हामीले गर्नु पथ्र्यो ।  घर लिप्ने काममा समेत भाई कृष्णको राम्रो दक्षता थियो । उसले गरेको काम आमालाई धेरै चित्त बुझ्दथ्यो । आमालाई भाडा नमझाउने नियम हामीले २०३६ साल तिरै बनाएका थियौँ ।
हाम्रो घरमा आउने सङगठनका साथीहरुले आफ्नो जुठो भाडा आफै माझ्थे । कहिलेकाही धेरै साथीहरु आउँदा भने आमालाई सम्झाउन निकै गाह्रो पथ्र्यो । घरमा बा पण्डित भएकोले बा का संगतका छुट्टै खाले पाहुना आउंथे । भागवत पुराण स्वर्ग नर्कका आदि कुरा गर्थे । हाम्रो घरमा एउटा मसाल कोठा थियो । त्यो कोठामा माक्र्सबादका कुरा हुन्थ्यो अनि वर्ग संघर्षका जटिल सैद्धान्तिक तर्क बितर्क चल्थ्यो । सधैं पार्टी संगठनका साथीहरु आएर त्यहि बस्ने हुँदा त्यसलाई आमाले मसाल कोठो भन्न थाल्नु भयो । हुँदा हुँदा त्यो कोठा गाउँमा नै चर्चित हुन थाल्यो। त्यो कोठामा आएर बस्नेहरुले भने रुख्खा सुख्खा जस्तो पनि खाने अनि भाडा पनि आफै माझ्ने गर्थे ।

यो सस्मरणमा भाइ कृष्णलाई म के भन्न चाहन्छु भने “कृष्ण १ तिमी यो भौतिक संसारमा नभए पनी गाउ घर,छर छिमेक, वारी पारी मात्र हैन सारा जिल्ला अनी अञ्चल भरिकै जनसमुदायले तिम्रो साहादातमा शब्दमा बयान गर्न नसकिने पिडा बोध गरेको छ । तिमी साच्चिकै जनसमुदायको मुटुको ढुक–ढुकी बनी सकेका रहेछौ । स्वदेश, बिदेश, मधेस पहाड सबै ठाउमा बस्ने तिम्रा सहपाठीहरु, गुरुहरु सङगठनका सहयोद्धाहरु ,बिद्यालय परिवार, भाइ बहिनीहरु, उत्पिडित जनसमुदाय लगायत सबै तह र तप्काले आफ्नो सम्पतिभन्दा पनि ठुलो कुरा गुमाएको महशुस गरेको छ ।

तिम्रो भौतिक अवशान सार्थक बन्नको लागि हामीले अझै कहीले सम्म पर्खिनु पर्ने हो त्यो भने हेर्ने इच्छा अपुरै होला जस्तो छ । हामीले त्यति बेला गरिब देखेका हाम्रा नेताहरु धेरै अहिले धनी बनि सक्नु भयो । सन्तोषलाई बोर्डिङ्ग स्कुल पढाउन अरुले सल्लाह दिंदा तिमीले ठाडै इन्कार गरेको कुरा म अहिले झल्झली सम्झी रहेको छु । कुरा तिम्ले सोचे जस्तो कहाँ भयो र यहाँ त अर्कै भयो प्रिय भाइ । बा ले इण्डियामा जाँदा हेरेको कमला सर्कस जस्तै भयो । छोटो समयमानै कुराहरु पर्दामा हेरे जस्तै भयो । त्यो महान अभियानमा तिमिसंगै हिंड्ने हरु धेरैको अहिले ठुला–ठुला शहरमा घर बनि सकेका छन् । कुरा त यहाँ अर्कै भयो । आमुल परिवर्तनको लागि भएको त्यो महान त्यागले अझै मुर्तरुप लिन सकेको छैन ।

कहीले काही त यस्तो लाग्छ कतै शिर्शिकोट्मा बगेको त्यो रगतको भेल पानी बन्ने त होईन ? तैपनी हामीले आशा भने अझै मारी सकेका छैनौ । तिम्रो बलिदानी महान छ भन्ने कुरामा भने कुनै शँका छैन हामी मा । मुक्ती या मृत्युको महान यात्रामा हामीले तिमीलाई कहिल्यै पनि बाटोमा काडा तेस्र्याउने काम गरेनौ ।आफ्नो उद्धेश्यमा तिमी प्रस्ट थियौ र उदेश्य प्राप्तिका एजेन्डाहरु पनि अकाट्ट्य थिए भन्ने कुरा पनि त्यत्तिकै सत्य हो । शायद हाम्रो समाजनै बर्गमा बिभाजित भएर होला बैचारिक असमानता र बर्गिय सोचको कारणले कोहि पनी यो दुनियामा सबैको नजरमा प्रिय हुन सक्दो रहेनछ । विश्वका महान बिचारक र दार्शनिकहरुलाई पनि तत्कालिन समाजले राम्ररी पचाउन नसकेको कुरा हामीलाई थाहा छ । स्वयम बुद्ध भगवानले पनि त्यो प्रवृत्तिका बिरुद्ध संघर्स गर्नु परेको थियो।  त्यसको अपवाद तिमि पनी हुने कुरा भएन ।

पन्चायती व्यबस्थाकै पालादेखी हाम्रो जस्तो रुढिवादी समाजमा र अझ त्यसमा पनि कट्टर ब्रम्हाण्ड परिवारमा एउटा प्रगतिशिल क्रान्तिकारी बिचार बोकेर अगाडि बढ्नु कति जोखिम थियो अनी कति अप्ठ्यारो । छोराहरु बिग्रे भनेर हाम्रो बुवाको मन बिगार्न पञ्चहरु कम्मर कसेर लागेका थिए । एउटा ठुलै पञ्चले  त २०३६ सालमा गाउँ छाडेर हिडेमा तराइमा जग्गा मिलाइदिने र राजतन्त्रको बिरुद्धमा निर्मल जनसेवा मा.विमा गरेको भाषण गल्ती थियो भनेर कागज गरेमा राजकाज मुद्दा पनि फिर्ता गराइदिने आस्वाशन दिएका थिए । तैपनी बुवालाई हामी गलत बाटोमा लागेका छैनौ भन्ने पक्का थियो । दूरगामी परिवर्तनका लागि निरन्तर प्रतिबद्ध राजनीतिक अभियानको बाटोमा हामी लाग्यौं । तिमि त झन महासमरको यात्रामा सहभागी भएको कारण आज महान सहिद बन्यौ । दुश्मनहरुको कब्जामा परेपछी कायरहरुले तिम्रो प्राणपखेरु लिनुभन्दा पहिले पानी सम्म पनि पिउन दिएनछन । प्रत्यक्ष्य दर्शिहरुले हामीलाई त्यही कुरा भने ।

भाइ हामीले चालेका हरेक अभियानहरुले आमुल परिवर्तनका दूरगामी लक्षहरुलाई आत्मसात गरेको कुरा अब कसैबाट पनि छिपेको छैन । तर अफ्सोच त्यो महान यात्रामा तिमी हिडेपछी हाम्रो भेट जम्मा एक पटक भयो । म पनि भैरबनाथ गणको ४ महिने कठोर यातनापछि नाफाको जीवन जिउदै छु । हामीले चिनेका थुप्रै साथीहरुलाई त्यहा जल्लादहरुले एकै चिहान पारे । लामो भलाकुसारी गर्नै पाइएन तिमीसँग । भाइ ! तिम्रो अगाडि समाजमा सम्पन्न भएर बस्ने अवसरको कमी थिएन । विकल्प नभएर राजनीतिमा लाग्ने वा लहैलहैमा राजनीतिमा लाग्नेहरूको श्रेणीमा तिमी पर्दै पर्दैनौ । योग्यता र क्षमताको धनी भएर पनि हेपिएका र चेपिएका दिन दुःखीहरुको मुक्तीको लागि आफ्नो प्राणलाई बली बेदीमा चढाउने सम्मको हिम्मत तिमीले गर्यौ त्यस्मा हामी गौरब अनुभुती गरेका छौ र गरि रहने छौ ।सधैं जनताको आँखाको नानी, विद्यार्थीहरुको प्यारो गुरु र सहकर्मीहरुको असल मित्र हुनुका साथै आफ्नो आस्था प्रति पहाड्जस्तै अडिग रहने तिम्रा गुणहरु भावी पुस्ताको लागि समेत मार्ग निर्देशन बन्ने छ ।

प्रिय भाइ कृष्ण गौतम तिम्रो  १२ औं स्मृति  दिवसको अवसरमा  भावपूर्ण श्रद्धान्जली सहित युगौं युगसम्म तिमि हाम्रो मुटुमा रही रहने छौ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सैन्य पदका उम्मेदवारको लिखित परीक्षाको

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा