२० मङ्सिर, सुरुङ्गा (झापा) । होटल व्यवसायी सङ्घ झापाका अध्यक्ष भोला उप्रेतीसहित प्रहरीले गएराति सात जनालाई जुवा खेली रहेको अवस्थामा पक्राउ गरेको छ ।
विर्तामोडस्थित सन्दिप होटलमा जुवाको खालबाटै उनीसहित एक सहकारी संस्थाका ऋण अधिकृत टङ्क भेटवाललाई पनि प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट नगद रु एक लाख ७५ हजार बरामद गरेको छ । झापामा लामो समयदेखि जुवा खेलाउँदै आएको विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको छ । रासस
वि.सं.२०७३ मंसिर २० सोमवार ०३:३६ मा प्रकाशित