२७ मसिंर,खार्तुम । सुडानको सर्वोच्च परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले आफूलाई सहयोग र समर्थन गर्न अरबी देशहरूलाई आग्रह गरेका छन् ।
उनले बिहीबार सबै अरबी मुलुकहरूबाट सहयोग र ऐक्यबद्धताको अपेक्षा गरेको बताएका छन्।खार्तुममै आयोजना गरिएको अरब देशहरूको प्रसारण सङ्घ (एएसबीयू)को कार्यक्रममा बोल्दै उनले यस्तो बताएको विदेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
“हामी सबै दाजुभाइ र साथी हौँ, त्यसैले एकले अर्कालाई सहयोग र समर्थन गर्नुपर्दछ,” उनले सम्बोधनका क्रममा भने ।
उनले अहिले सुडान गम्भीर मोडमा रहेकाले सबै अरबी मुलुकहरूको समर्थनको खाँचो रहेको पनि बताए ।
सुडानमा लामोसमयदेखि अन्दोलन र द्वन्द्व भइरहेको छ । सुडानको सरकारी पक्ष र विद्रोही तथा शसस्त्र समूहहरूका बीचमा वार्ताको प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन् ।
यही डिसेम्बर ५ देखि शुरु भएको सङ्घको सम्मेलन १२ तारिखका दिन सकिएको हो । उनले यस सङ्घलाई पनि सक्रिय र नेतृत्वदायी भूमीका खेल्न पनि आह्वान गरे ।
वि.सं.२०७६ मंसिर २७ शुक्रवार ११:३० मा प्रकाशित





























