रवीन्द्र मिश्रलाई धेरैले विकृत राजनीति सच्याउने भावी राजनेताका रूपमा हेरेका थिए । पढेलेखेका, देशविदेश घुमेका, लामो समय पत्रकारिता गर्दा यावत विषय बुझेका, वाकपटुता भएकाले त्यस्तो आशा गर्नु अन्यथा थिएन । उनको पार्टीको नाम ´साझा´ जनजिब्रोमा झुन्डिने खालकै हो, चुनाव चिन्ह तराजु पनि जनतालाई चिनाउन कसरत गर्न नपर्ने खालकै पाएका हुन् । यिनले कुनै नयाँ विचार र दर्शन ल्याएर देशलाई नयाँ गति दिन्छन् कि भन्ने जनताको आशा स्वयंले मारिदिए आफै ´राजनेता´को खोजीमा निस्किएर !
बाबुराम त टेष्टेड थिए, उनको नेता छान्ने जागिरमा नियुक्तिलाई स्वाभाविक मान्न सकिएला तर रविनलाई त्यहाँ देख्दा म त छाँगाबाट खसेझैं भएँ !
राजनेता बन्न खोज्दा खोज्दै व्यापारिक कार्यक्रमको निर्णायकमा स्खलित हुन बाबुरामलाई तीस वर्ष लाग्यो, रवीन्द्रले यो काम तीन वर्षमै पूरा गरिदिए !
आफ्नो निर्णयमा पुनर्विचार गरेर नाम फिर्ता लिन्छन् कि भनेर दुई दिनसम्म पर्खिएँ तर साझाबाट कुनै वक्तव्य नआएकोले यति लेख्ने धृष्टता गरें ।
यो देशमा राजनेताको खडेरी परेको धेरै भयो । खोजी व्यापक भए पनि भेटिएन । शाही शासनकालमा राजा ज्ञानेन्द्रले ´स्वच्छ छविको´ प्रधानमन्त्री खोज्न कत्रो मेहनत गरे तर भेटेनन् । बरु परापूर्वकालमा हात्तीले लावण्य देशमा असल राजा नवराज भेटेको थियो । अहिलेको राजनेता खोज्ने प्रक्रिया हेर्दा त बरु त्यो काम हात्तीले नै कुशलतापूर्वक गर्न सक्छ जस्तो लाग्यो । एउटा हात्तीलाई पचास किलोको माला बोकाएर देश दौदाड गराउँ, सुँढले जसको गलामा माला पहिराउँछ त्यसैलाई राजनेता मानौं ।
वि.सं.२०७६ मंसिर २८ शनिवार १२:५४ मा प्रकाशित






























