back
CTIZAN AD

तरकारी बेचेरै छोरालाई इन्जिनीयरिङ पढाउँदै

वि.सं.२०७६ मंसिर ३० सोमवार

591 

shares

३० मसिंर, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ नयाँ कटानका तुलसीराम रानाले तरकारी खेती गर्न थालेको डेढ दशक भयो । धान, गहुँबाट भन्दा तरकारी खेतीमा बढी मुनाफा हुन थालेपछि व्यावसायिकरूपमा तरकारी खेती गरेर वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहेका तुलसीरामले तरकारीबाटै छोराछोरीको पढाई र घर खर्च चलेको बताए ।

एकचालीस परिवार राना थारुको बसोबास रहेको नयाँ कटानमा ३८ परिवारले आफूसित भएको खेतमा तरकारी फलाएर भीमदत्तनगर बजार, सब्जीमण्डी र स्थानीय बस्तीमा बिक्री वितरण गर्दै आएका छन ।

गत वर्ष तरकारीबाट रु दुई लाख आम्दानी भएको बताउँदै तुलसीरामले तरकारीबाटै आएको आम्दानीले माइलो छोरा कपिललाई भीमदत्तनगरमा इन्जिनीयरिङ विषय पढाइरहेको बताए । “जेठो छोरा मजदुरीका लागि वैदेशिक रोजगारीमा छ”, उनले भने, “माइलो र कान्छो छोरोको खर्च तरकारी बेचेरै टरेको छ ।”

उनले अहिले काउली, बन्दा, हरियो खुर्सीनी, बैगुन र रायोलगायतका तरकारी फलाएको बताए । “वर्षमा हिउँदे र लहरे गरी दुई पटक तरकारी खेती हुन्छ”, रानाले भने, “विगत वर्षको तुलनामा तरकारीले राम्रो मुल्य पाउँदै गएको छ ।”

विसं २०६१ देखि चार कठ्ठा बारीमा तरकारी खेती गर्दैआएका उनले तत्कालीन जिल्ला कृषि विकास कार्यालयबाट दुई पटक गरी रु १ लाख २० हजार अनुदान रकमसमेत पाएको बताए । “कृषि कार्यालयको सहयोगले पनि व्यावसायिक खेती गर्न प्रेरणा मिल्यो”, उनले भने, “समयक्रम अनुसार आधुनिक प्रणालीबाट खेती पनि गरिरहेका छौँ ।”

तरकारी जोगाउन खेतमै बास

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित जोडिएका नयाँ कटानका किसानहरुलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन भने सकस छ । निकुञ्जबाट आउने चित्तल, बँदेल र तुम्लीलगायतका वन्यजन्तुले बाली खाएर हैरान गरेको किसानहरुको भनाइ छ ।

त्यसैगरी तीन बिघा जमीन भएका स्थानीय नाथुरामले करिब दश कठ्ठा खेतमा तरकारी फलाएका छन् । विसं २०६३ देखि तरकारी खेती गर्दै आउनुभएका नाथुरामले तरकारी जोगाउन हरेक वर्ष समस्या हुने गरेको बताए । “धान काटिसकेपछि मलाई गत भदौ महिनादेखि खेतमै बास बस्नुपर्ने बाध्यता छ”, तरकारी खेतको बीचमा बनाएको झोपडी देखाउँदै उनले भने, “झोपडीमा रात बिताएर तरकारी बचाउनुपर्छ ।”

सो बस्ती क्षेत्रमा करिब सात सय मिटर क्षेत्रमा निकुञ्जको तारजाली नलगाइएका कारण वन्यजन्तु बस्ती पस्ने गरेको उनको भनाइ छ । उनले पनि जेठी छोरीलाई क्याम्पसमा कृषि विषय पढाइरहेको बताए । “रोजगारी पाउन यहाँ गाह्रो छ”, उनले भने, “बेरोजगार बस्नुभन्दा आफ्नै खेतबारीमा मेहनत गर्लान् भनेर कृषि विषय पढाउने निधो गरेँ ।”

निकुञ्जले सो क्षेत्रमा वन्यजन्तु आउन नदिन तारजाली र पक्की पर्खालसमेत बनाउँदै आएको छ । “बीचको भागमा पनि तारजाली बनाइदिएको भए खेती गर्न ढुक्क हुनेथियो”, रानाले भने, “मध्यवर्ती क्षेत्र भएकाले उपभोक्ता समितिमार्फत तारजाली जडान गर्न माग गरेका छौँ ।”

उनले भारतीय तरकारी आयातले यहाँका किसानहरुको उत्पादन खपतमा समय–समयमा समस्या हुने गरेको बताए । “अहिले भारतको तरकारी आयात कम हुँदा किसानले उचित मूल्यमा सहजै तरकारी बिक्री गर्न सकिरहेका छन”, उनले भने, “स्थानीय उत्पादनको खपतमा पनि ध्यान दिनु आवश्यक छ ।”

त्यसैगरी गाउँमा रहेको राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाले होमस्टे (घरबास) सञ्चालन गर्ने स्थानीयवासीहरुले पनि तरकारी खेती गरिरहेको बताए । “होमस्टेमा आउने पाहुनाहरुले पनि ताजा तरकारी उपभोग गर्न पाउँछन”, सचिव रानाले भने, “विगतको भन्दा तरकारीको खपत यहाँ बढ्दै गएको छ ।”रासस

वि.सं.२०७६ मंसिर ३० सोमवार १२:१६ मा प्रकाशित

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...