
नेपालका बाइक राइडर बिक्रम थापा सुजुकी एसिया च्यालेन्ज ड्रिमकप २०१६ को अन्तिम राउण्ड पार गरी ११ औं स्थान हासिल गर्न सफल भएका छन् । २ डिसेम्बरका दिन थाइल्याण्डमा आयोजित छनौट खेल प्रतियोगितामा २० खेलाडीमध्ये थापा १६ नम्बरमा परेका थिए भने ३ डिसेम्बरको पहिलो चरणको खेलमा १६ नम्बरको ट्रयाकबाट आफ्नो खेल सुरु गरेका उनले १४ औ स्थान प्राप्त गर्न सफल भए । त्यस्तै आज आइतबार (४ डिसेम्बर) को अन्तिम दिनको खेलमा पनि १६ औ नम्बरकै ट्रयाकबाट खेलेका थापाले ११ औ स्थान प्राप्त गर्न सफल भएका छन् ।
खेलाडीहरुले भाग लिएको उक्त मोटरसाइकल रेसरहरुको स्थानमा एसियाको १५ औ नम्बरमा नेपाललाई राख्न थापा सफल भएका छन् । नेपालले भाग लिएको पहिलो वर्षमै यो स्थानमा संसारमै आफूलाई स्थापित गर्न सफल बनाएका थापाका बारेमा आयोजक राष्ट्र तथा भागलिने अन्य राष्ट्रका खेलाडीहरुले विशेष चासोका साथ जिज्ञासा समेत राखेका थिए । संसारमै महुँगो र खतरनाक मानिएको यो खेल नेपालमा पनि खेलिदो रहेछ भनेर धेरैले जिज्ञासा राखेको थापाले बताएका छन् ।
अन्तराष्ट्रिय रुपमा खेल्ने अन्य खेलाडीले राष्ट्रको सहयोग पाए पनि आर्थिक सहयोग त परैजावोस सरकारको सहानुभुति समेत नपाएका विक्रमले आफ्नो पीडालाई मन र मुटुमै लुकाएर टिमसदस्यहरुसँगै निर्धकका साथ सबैलाई आफ्नो देशको बारेमा जानकारी दिदै एकपटक नेपाल आउनका लागि अनुरोध समेत गरेका थिए ।
वि.सं.२०७३ मंसिर २० सोमवार १०:२५ मा प्रकाशित