विदेशमा रहेका नेपालीहरुले देशमा प्राकृतिक विपद् देखि विभिन्न विकास निर्माणका काम सम्म र विदेशमा समस्यामा परेका देखि जेलमा रहेका नेपालीहरुलाई छुटाउन बिना स्वार्थ सहयोग गर्दै आएका छन् । तर सरकारले बनाउनु पर्ने निर्माणका कामहरु पनि व्यक्तिले गर्ने र त्यसका लागि विदेशमा रहेका नेपालीले आफ्नो गाँस काटेर बुझाएको पैसाले के त्यस्ता निर्माण काम गर्न सम्भव होला, के उचित होला भन्ने जिज्ञासासहित बहस सिर्जना गरिदिएका छन् बेल्जियममा रहँदै आएका कमल सिटौलाले ।
उनले सामाजिक सञ्जालमार्फत उठाएको यो जिज्ञासालाई साँच्चीकै बहसको रुपमा ल्याउन जरुरी छ । नितान्त व्यक्तिगत उद्येश्य लिएर विदेशीएको नेपालीबाट रकम उठाएर निर्माण कार्य गरेर नेपालको विकास सम्भव होला त ? सहयोग तथा चन्दा उठाएर हाल बनिरहेका र बनाइने घोषणा गरेका केही कार्यक्रमलाई उदाहरणको रुपमा प्रस्तुत गर्दै उनले लेखेका छन् :
“नेपालको विकास र नेपालीको पीडामा मलम लगाउनको लागी गरिबी, बेरोजगारी र असुरक्षाको कारण विदेशिएका नेपालीहरुद्वारा विभिन्न शीर्षकमा चन्दा संकलन अभियानले के साँचिकै हाम्रो देश नेपाल र सारा नेपालीको समस्या समाधान होला ? यो गम्भिर रूपमा सोचनिय विषय वन्न पुगेको छ । यसै सन्दर्भमा केही विषयको उठान गर्न म वाध्य र विवश भएको छु ।
१) गौतम वुद्ध अन्तराष्ट्रीय क्रिकेट रंगशाला
धुर्मुस सुन्तली फाउन्डेसन नामक संस्थाले कृषि क्यामपस रामपुर चितवनको जग्गा समेत अधिक्रमण गरी निर्माण गर्न लागिएको भनिएको क्रिकेट रंगशाला निर्माणमा सो संस्था देश विदेशमा रहेका नेपालीहरुको चन्दामा भर परेको देखिन्छ । उहाहरूले रातदिन गरेको अनुनय विनय देख्ता लाग्दछ कि कुनै ‘जोगी’ आँफू जिउनको लागी ‘भिक्षा’ मागी रहेछ । के मूलुकको खेलकुदका पूर्वाधार वनाउने जिम्मा सरकारको होइन र ? वरू धुर्मुस सुन्तलीले सरकारलाई ‘दवाव’ सीर्जना गर्न चेतनामुलक कार्यक्रम जनस्तर सम्म पुर्याउन पहल गरे उत्तम हुने थियो की !
२) राष्कोट सामुदायीक अस्पताल
चर्चित पत्रकार रवि लामिछाने को टेलिभिजन कार्यक्रम (सिधा कुरा जनता सँग) मार्फत कालीकोट जस्तो विकट जिल्लामा त्यहाँका विपन्न जनतालाई स्वास्थ्य सेवा पुर्याउने गरि सहयोगको लागी जन स्तरमा गरिएको आव्हान सामान्य र रचनात्मक थियो जसलाई परोपकारी कार्यक्रम रूपमा लिंदै मैले पनि सानो सहयोग गर्ने मौका पाएको थिएँ । यो अभियानले सरकार र सुदुर पश्चिमका नेता भनाउँदा लाई गतिलो सवक सिकाउला भन्ने ठानिएको थियो तर त्यसले सरकारलाई झन हाइसन्चो भएको देखिन्छ । पत्रकार मीत्रले आगामी दिनमा सरकारले गर्ने काम चन्दाको आश र भरमा आफूले गर्नु भन्दा उसका जनहीत विरोधी गतिविधिलाई पर्दाफास गर्दै नंग्याउने र जनचेतना जगाउने तर्फ ध्यान केन्द्रित गरे राम्रो हेलाकी !
३) फाँसीबाट वचाउ अभियान र व्लडमनि संकलन
गरिवीको कारण रोजगारीको लागी खाडी मूलुकमा जाने नेपाली को संख्या लाखौं पुगी सकेको छ। केही वर्ष यता त्यहाँ गएका नेपालीहरू अपराध र वलत्कारको आरोपमा फाँसीको सजाय पाउन दिन गन्ति गरेर वसिरहेका खवरहरू प्राप्त हुनासाथ हामी नेपाली पन र मानवियता देखाउँदै व्लडमनि संकलन तिर लागि हाल्छौं ! हामी त्यो विषयमा वास्तै गर्दैनौंकी कतै ति नेपालीहरू गम्भिर अपराध र साँचिकै वलत्कार मै सहभागी भएका त थिएनन ? के अपराधी प्रमाणित भए त्यहाँको कानुन अनुशार उनिहरुले सजाय भोग्नु पर्दैन ? नेपालमा त उफ्रन्छौं त हामी “वलत्कारी र भ्रष्टचारी लाई फाँसी दे “ भनेर । बरू त्यो व्लडमनि मार्फत संकलित रकम नीजका परिवार र असल वेरोजगारलाई प्रोत्साहन स्वरूप केही गर्नको लागी सहयोग गरे हुन्नथ्यो की !
स्मरण रहोस् : विनोद रानाभाट वचाउ अभियान मार्फत संकलित करोडौं रकम नीज कानुन वमोजिम नेपाल फर्किए पछि का र कसरी खर्च गर्ने भनेर संकलन समिति र सामाजिक अभियान्ता विच जुवारी नै चलेको देखियो । यो पनि विकृति हो जस्तो लाग्छ ।
४) महाविर पुनले ‘चन्दा’ माग्नु भएको हो या ऋण ?
पत्र पत्रिका र सामाजिक संजालमा देखिए अनुशार ‘राष्ट्रीय आविष्कार केन्द्र’ का प्रमुख अभियान्ता महावीर पुनले आफ्नो राष्ट्र निर्माणको अभियानमा सरकार र वैंकहरूले सहयोग त के ऋण समेत नपत्याएको भनि गुनासो गर्दै विस्वासको आधारमा सार्वजनिक रूपमा ‘ऋण’ माग्नु भएको सुनियो । तर हिजो आज सामाजिक संजालमा देखिरहेको छु, उहाँको आविस्कार केन्द्रको लागी “ बृहत् चन्दा संकलन “ अभियान । के मुलुकका हर समस्याको समाधान हामीले नै गर्नु पर्ने हो ? कतै हाम्रो अभियानले भ्रष्ट सरकार र त्यसकै मतियार नेताहरुलाई मलजल त पुर्याई रहेको छैन ? चन्दा मार्फत संकलित रकमले पुन जी को लक्ष्य अनु़शार सफलता संभव होला ? मूलुक कै हीतको लागी गर्न लागिएको अभियानमा सहयोग नगर्ने सरकार विरूद्ध सिंहदरवार किन नघेर्ने ? यदि त्यसो गरे मेरो पनि सहयोग रहने छ ? त्यस्तै हामी कोही पुन जी ले अपेक्षा राखे बमोजिम “ऋण “ दिन सक्ने हैसियतमा छौं भने के कति चाहिएको हो ? सोही अनुसार सहयोग गर्ने प्रयत्न गरौं ।
अन्तमा सबै विदेशिएका नेपालीहरूमा अनुरोध छ की हामीले गर्ने आर्थिक सहयोग भनेको तत्काल राहात स्वरूप हो । जस्तै भूकम्प , वाढीपहिरो, दुर्घटना, भोकमरी, महामारी एवं चिसो मौसमले कठांग्रीएका हरूलाई तत्काल राहात प्रदान गर्न सके त्यो नै ठूलो कुरा हुनेछ । राष्ट्रको उन्नती र विकासको लागी त हामीले सिकेको सीप, विचार र अनुभव Share गर्ने हो जस्तो मलाई लाग्दछ। वरू हामी त्यस्तो अभियानमा सहयोग गरौं, जुन अभियानले जनआकांक्षा अनुरूप काम नगर्ने नेता र सरकारलाई पदच्यूत गरावस र सुशासन कायम रहोस् ।
नोट: यो मेरो नितान्त व्यक्तिगत धारणा भएको हुँदा सोही अनुशार ग्रहण गर्न अनुरोध गर्दै यहाँहरूको चाहना, भावना र अभियानलाई निरुत्साहित गर्ने मेरो पक्कै पनि अभिप्राय नरहेको समेत प्रष्ट पार्न चाहन्छु । तर यसरी कतिन्जेल चल्छरु भन्ने मेरो जिज्ञासा भने अवस्य हो । “
वि.सं.२०७६ पुस ५ शनिवार ०८:१७ मा प्रकाशित






























