२१ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पोलिटब्युरो बैठक ३ महिने कार्ययोजना सहित ७ प्रदेशका लागि संयोजकहरु तोकेको छ ।
प्रवक्ता पम्फा भुसालका अनुसार मंगलबार बसेको पोलिटब्युरो बैठकले एक नम्बर प्रदेशको संयोजकमा गोपाल किराती, दुई नम्बर प्रदेश संयोजकमा मातृका यादव, तीन नम्बर प्रदेश संयोजकमा हितमान शाक्य, चार नम्बर प्रदेश संयोजकमा देव गुरुङ, ५ नम्बर प्रदेश संयोजकमा वर्षमान पुन ‘अनन्त’, ६ नम्बर प्रदेश संयोजकमा शक्तिबहादुर बस्नेत र ७ नम्बर प्रदेश संयोजकमा लेखराज भट्ट तोकिएका छन् ।
त्यसैगरी बैठकले अन्तराष्ट्रिय विभागको इञ्चार्जको जिम्मेवारी नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई दिएको छ भने संयोजकमा लक्ष्मण पन्त तोकिएका छन् ।
त्यसैगरी बैठकले ३३ सदस्यीय कार्यालय बनाएको छ भने ९९ सदस्यीय सचिवालय र ३९९ सदस्यीय राजनैतिक परिषद बनाउने निर्णय गरेको छ । महाधिवेशन आयोजक समिति ठूलो भयो भन्ने गुनासो आइरहेको बेला बैठकले ३९९९ जनाको जम्बो समिति बनाउने निर्णय गरेको छ ।
बैठकले मंसिर २७ गतेदेखि पुस १० गतेसम्म प्रदेशस्तरीय बैठक गर्ने निर्णयसमेत गरेको छ ।
वि.सं.२०७३ मंसिर २१ मंगलवार १४:१५ मा प्रकाशित