सामाजिक संञ्जालमा बिकास देखिएको छैन । बिबाद र बाधा मात्र देखाइएका छन् । आफ्नो हिजोको कमाइ, घर बाहिरको अवस्था र आजको अवस्थामा धेरै फरक भएको, आएको आपसमा भनिरहेका छन् । उनिहरू बिकास, परिवर्तन र सुविधा उपयोग पनि गरी रहेका छन् तर बाहिर उनिहरू देशमा केहि भएको छैन, सबैतिर खत्तम छ पनि भनिरहेका छन् । कतै हिजो, आफ्नोहरूको सत्ता आज गुमाइरहेका र आफ्नो हिजोको कालो कमाइ गुमाइ रहेकाहरूले देशमा केहि भएको छैन भनेर आजको अवस्था र व्यवस्था मास्न जनतामा निराशा र भ्रम छर्ने काम त गरिरहेका छैनन् ! उनिहरूकै जाल र हल्लामा हामी परि रहेका त छैनौ !
हिजो हाम्रो गाउँ र शहरका अवस्था कस्ता थिए ? के हाम्रा आँखामा झलझली हिजोको त्यो अवस्था आउदैन त ? हाम्रो गाउको बाटो कस्तो थियो ? आज कस्तो बन्दै छ र बनिसकेको छ ? हिजो हाम्रो घरको चुलो र शौचालयको फोहर कहाँ कसरी रहन्थ्यो ? आँगन नजिकै रछ्यानमा कुहिने, गन्हाउने, झिंगा र लामखुट्टे जन्मने अवस्था थिए होइन र ? आज ढलबाट सललल बग्ने गरी ति फोहर व्यवस्थापन आजको अवस्था र यही व्यवस्था चलाउनेहरूले गरेका होइनन् र ? सबैतिर यो भैसकेको छैन तर गरिहेको र हुनुपर्छ भनेर काम अगाडि बढिरहेको छैन र ? हिजो भाग्य भएका र राज्य चलाइ रहेकाहरूको मात्र बपौती थिए ती, तर आज सबैको हुदैछ र हुनुपर्छ भनिदैछ । के यो परिवर्तन होइन ? हाम्रो जमिनको मूल्य हिजो के थियो र ? आज त अमूल्य भएको छ । तर पनि उत्पादनशील जमिनमा घरघडेरीमा परिवर्तन गरेर हामी रमाइरहेका छौं । अनि भनि पनि रहेका छौं कि, सरकारले केही गरेन, नेपालमा केही हुन सकेन । दक्षिण एसियाकै लागि तरकारी खुवाउन सक्ने हाम्रो उपत्यकाको मलिलो माटोमा कसरी हामी अग्ला अग्ला भवन ठड्याइरहेका छौं त्यो कसै सामु लुकेको छैन । के तपाईको जग्गामा सत्तामा बस्नेले हो त सन्तानलाई शुद्ध हावा समेत लिन नमिल्ने गरी यति ठूला त्रंकिटका महल ठड्याउ भनेको ? पक्कै पनि त्यसो होइन होला । धेरै कमाउने निहुँमा हामीले हाम्रो जमिन कंक्रिटमापरिवर्तन गरेर चाइना, भारत लगायतका देशबाट तरकारी आयात गरेर खानु परेको अवस्थाका लागि केही हदसम्म हामी पनि जिम्मेवार छौं भनेर हामीले कहिले बुझ्ने ?
अहिलेको अवस्थामा आफ्नो बारीमा उत्पादन गरिएको भन्दा पनि भारतीय र चिनियाँ प्याज र आलु खान र ल्याउन थालेपछि बजारमा प्याज लसुन आलु लगायतका तरकारीको भाउ बढ्नै नै भयो । गोर्खा छोडेर काठमान्डौ बस्ने कुन चाही राजाहरूले गोर्खा मेरो पुर्खाहरूको जन्मस्थल हो भनेर गोर्खाको बिकास गर्न लागि परे ? कुन चाही राजाले गोर्खाका जनताको जीवनस्तरमाथि उकास्नका लागि बिशेष बजेट र बिकास दिए ? के सुर्य बहादुर थापा, लोकेन्द्र बहादुर चन्द, मरिचमान सिंहहरूले आफ्नो गाउँको र जनताको बिकास हुने कुनै बिशेष योजना र बजेट निकासा गरे त ? अह, उनीहरुबाट केही पहल भएको देखिएन । गाउँमा जाँदा बोल्ने, चुनावका बेला भोट माग्ने अनि केन्द्रमा फर्किएपछि त्यसो सबै बिर्सने गरेका कारण पनि परिवर्तन हुन नसकेको हो । तर, आफ्नो ठाउँमा बसेर आफ्नो माटो फुलाउँ भनेर लाग्नेहरुको संघर्षले केही हदसम्म गाउँको विकासमा सहयोग त पुगेको छ तर त्यो नगण्य रुपमा रहेको छ ।
हिँजो पूर्वपश्चिम उत्तर दक्षिणमा रहेका जो कोही पनि र अलिकति धनी र पैसा हुनेवालाहरुले आफ्ना छोराछोरीको उच्च शिक्षाका लागि काठमान्डौ पठाए । तीनीहरू काठमाण्डौमा बसेर पढे । काठमाण्डौमै रोजगारी र व्यवसाय गरे । यहाँ सम्म कि, काठमान्डौ बाहिरका केटाहरूले काठमान्डौभित्रका केटीहरू समेत बिहे गरे । जुन अहिले काठमाण्डौंमा बसेर काठमाण्डौं केन्द्रीत राजनीति गर्ने धेरै नेताहरु समेत छन् । उनीहरुको नाम लिइरहनु पर्छ जस्तो मलाई लाग्दैन । उनीहरुका पनि छोरा–छोरी ठूला भए, काठमाण्डौंमै कलेज पढे कति विदेशका महँगा युनिभर्सिटीमा पढ्न पुगे । केही त्यहि सानो जमिन जोडे । घर बनाए । उनीहरुले पनि आफ्ना बाबुहरुले जस्तै काठमान्डौ मै वस्ति बसाए । चाहे ति कर्णाली र सुदूरपश्चिमतिरका हुन चाहे ति बिराटनगर, पर्सा, नबलपरासी तिरका हुन् चाहे ति सोलिखुम्बु, मनाङ, म्याग्दी, पाल्पा, भोजपुर, ताप्लेजुग, नुवाकोट, सिन्धुपाल्चोक तिरका हुन् यताफेरि काभ्रे पलान्चोक, सिन्धुली, धादिगं र ललितपुरका बिकट ठाउका जनता नै किन नहुन ती ठाउहरूबाट काठमान्डौ आउनेहरू काठमान्डौमै घरजम र व्यवसाय गरि बसे । उनीहरु अधिकृत, सुव्वा, खरिदार, बहिदार र कार्यालय साहायक नै किन नहुन काठमान्डौ मै बसाइ सरे । व्यापारी, भरिया, मजदुर, विधार्थी, नेता, कलाकार, गायक, नायक, लेखक, पत्रकार सबै पेशाका मानिस राजधानी र ठुला शहर र सदरमुकामतिर नै बसे । यहाँसम्मकी निजमति सेवामा रहेकाहरुलाई कामका लागि आफ्नो गाउँमा सरुवा गर्दा पनि उनीहरु जान मानेनन् ।
गाउँमा कमाई र धन हुनेहरुले आफ्नो दाजुभाइ, दिदी बहिनी, साथीभाइ, छोराछोरी र छिमेकीहरूलाइ समेत काठमान्डौमै बस्ने स्थिती बनाइ दिए । तर, आम जनता जस्को आम्दानी, क्षमता छैन, जानु पर्छ, पढ्नु पर्छ भन्ने स्थिती र मानसिकता छैन या गाउँ छाडेर जाने इच्छा र मन नहुने त्यस्ता युवाहरु बस्ने गाउँ र ठाउँमा शहर आएर पढेका, कर्मचारी बनेका, नेता र व्यापारी बनेका, डाक्टर र इन्जीनियर बनेकाहरु, योजना आयोगमा रहेका र ठेकदार बनेकाहरूले आफ्नो ठाउँ बनाउन सोच्दै सोचेनन् । उल्टै धेरैले गाउँमा भएको सम्पति बेचेर शहरमै सम्पति बढाए । जहाँ राजनीति गर्नेहरुले समेत आफ्नो ठाउँ सम्झेनन् । जसमा आफ्नो जन्म ठाउँले मात्र नभएर देशले नै आस गरेका नेताहरु गिरीजा प्रसाद कोइराला, मनमोहन अधिकारी, माधव नेपाल, शेर बहादुर देउवा, प्रचन्ड, बाबुराम, झलनाथ खनाल वा प्रधानमन्त्री केपी ओलीले नै आफ्नो ठाउँको विकास गरौं भनेर नै सोचे !
सायद यही आरोप र गर्नुपर्छ भन्ने भावनाले वर्तमान प्रधानमन्त्री ओली झापालाइ बनाउन लागि परेका हुन् कि भन्ने देखिन्छ । यो राम्रो हो तर उनले पनि आफ्नो थलो झापालाइ मात्र पोसे र हेरे भनेर आरोप पनि खेपिरहेका छन् ।
आज विदेश र शहर नजाने कुनै गाउँवासी र टोलवासी बाँकी छैनन होला । नुन र सिटामोल पनि खान कठिन छ भनिने कर्णालीमा डलर कमाउनेहरूमा पनि कर्णालीकै वासिन्दा धेरै छन ्। तराइ मधेशमा बाढी, भोकमरी, रोग, सर्प र लामखुट्टेको प्रकोपले जनता अकाल र अभावमै मरि रहेका छन् अनि अभावमै बाँचिरहेका छन भनेर भनिए पनि आइसी कमाउनेहरूमा तराई, मधेशका नै धेरै छन् । राजधानी र शहरमा चोरी, अपहरण, लुटपाट, हत्या, आतंक, पानी, बिजुली, रोजगारीको समस्या छ भनेर रूपैया कमाउनेहरू शहर र राजधानीमा व्यवसाय र महल बनाएर बस्नेहरू पनि धेरै छन् ।
आफ्नो सत्ता गुमेपछि, आफ्नाहरूको व्यवस्था उल्टे पछि, पत्रकार र समाचार, नेता र व्यवस्था, व्यक्ति र व्यापारी हात लिएर, प्रयोग गरेर खानेहरूले ठुला ठुला पब्लिकेशन कसरी खड़ा गर्न सके ? ठुला–ठुला रेडियो र टिभी स्टेशन कसरी खोल्न सके ? अनि आज ती आफ्ना पत्रकार र पत्रिकाबाट यो व्यवस्था र सरकार ठिक भएन जनता सडकमा आउछन भनेर किन अलाप गरि रहेका छन ? अनि आज ति आफ्ना टिभी र व्यवस्था बिरोधी नेता, वक्ता बोलाएर र आफ्नै टिभीमा आफै पाहुना बनेर जनता यस्तो घटना पर्खेर बसिरहेका छन भनेर किन जनतालाइ आन्दोलित बनाउन खोजि रहेका छन ?
यो नागरिक र राज्य चलाइरहने र राज्यका संयन्त्रमा रहनेहरूले बुझ्नुपर्छ कि, देशमा केहि भए कै छैन कि ? केहि हुन नै दिइन्न ? सरकारले जनताका । जनताले आफ्नो आजको अवस्था माथी सोच र नजर पुराउनै पर्छ । के हिजोकै जस्तो अवस्था छ त देशको ? के हिजो कै जस्तो बेथिती र गरिबी छ त गाउँ र शहरको ?
दशै तिहार, छट, होली र लोसार ताका हामी राजधानी, शहर र सदरमुकामबाट आफ्नो ठाउँ र गाउँमा पक्कै पुगेका छौ । केहि बर्ष र भैपरी आउँदा हामी अरब र युरोपबाट, कोरिया र जापानबाट, अष्ट्रेलिया र अमेरिकाबाट, ब्रिटेन र कंगोबाट नेपाल जाने गरे कै छौ । आफ्नो गाउँ र ठाउँमा गएकै हौं र गएकै छौं । के ती हिजोका व्यवस्थामा रजाइ गर्नेहरूले भने झै देशमा परिवर्तन आएको छैन त ? के आफ्ना कमाइ र सरकार गुमाइ रहेकाहरूले आफ्ना पत्रकार र पत्रिका , व्यक्ति र टिभी प्रयोग गरेर देश अर्को आन्दोलन पर्खेर बसि रहेको छ भने झै स्थिती गाउँको हो त ?
यतिबेला संघीयतामा गएको हाम्रो देशमा स्थानीय सरकारले आफ्ना जनताका लागि तदारुकताका साथ काम गरेको समेत देखिएको छ । आफ्नो हातमा शक्ति रहेको यतिबेला जनप्रतिनिधहरुले आफ्नो क्षेत्र बनाउन लागि परेको उदाहरण हामीले संचारमाध्यमबाट पनि सुन्दै आएका हौं । जस्तै विदेश जानका लागि पासर्पोट, श्रम स्वीकृति लगायतका केन्द्रमा धाएर दुःख पाएर गर्नुपर्ने काम अहिले हामीले स्थानीयतहबाटै गर्दै आइरहेका छौं के यो परिवर्तन होइन र ? हामीले सोचेजति र गुगल र इन्टरनेट, फेसबुक लगायतका सामाजिक संजालमा देखेको जस्तो विदेशको विकास पक्कै भएको छैन गाउँमा तर केही परिवर्तन अवस्य भएका छन् त्यसलाई भित्रि हृदयदेखि बुझ्नुपर्छ र सम्झनुपर्छ । अनि आफू जन्मेको माटोका लागि आफ्नो कर्तव्य के हो भनेर आफूसँग जे छ त्यो दत्तचित्त भएर आफ्नो जन्मभूमिको लागि लगाउनु पर्छ बाँकी रहेका विकास गर्नका लागि त्यसले पनि ठूलो भूमिका खेल्छ । त्यसलै पनि केही परिवर्तन भएको छैन भनेर भन्ने काम आजैदेखि सबैले छौडौं ।
वि.सं.२०७६ पुस १७ बिहीवार १०:०० मा प्रकाशित






























