२६ पुष, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीसँग बोल्ने क्रममा नेकपाको तर्फबाट रिक्त सभामुख पदका लागि उम्मेदवारी दिने निर्णय भएको जानकारी दिएका हुन् । उनले भने, “त्यसका लागि उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वाचित हुनुभएका शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुहुनेछ ।”नेकपाले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा भने कुनै निर्णय नगरेको श्रेष्ठले बताए ।
सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपा भित्र छलफल जारी भएपनि ठोस निर्णय हुन सकेको छैन । निर्णय हुन नसक्दा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । प्रतिनिधिसभाको बैठक आइतबारका लागि बोलाइएको छ । गत असोजदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलिले पूर्व एमालेबाट सभामुख हुनुपर्ने यसअघिको अगाडिबाट पछि हटेका छन् । उनी अडानबाट पछि हटेसँगै सभामुखमा पूर्व माओवादी केन्द्रका तर्फबाट अग्नि सापकोटा वा पम्फा भुसालको सम्भावना रहेको बताइएको छ ।
वि.सं.२०७६ पुस २६ शनिवार १८:४४ मा प्रकाशित