३ माघ, काठमाडौं । जनकपुरमा मुख्यमन्त्री सहित आधा दर्जन मन्त्रीको तस्वीरमा जुत्ता हानेको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिइएको छ । जनकपुरको जिरो माईलमा उपभोक्ता समितिले पाउनुपर्ने रकम भुक्तानी नगरेको भन्दै उनीहरूले ढुङ्गा हानेका थिए ।
प्रदेश( २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय र समाजिक विकास मन्त्री नवलकिशोर साहले आ–आफ्ना मातहतका मन्त्रालयले उपभोक्ता समितिमार्फत भौतिक विकास निर्माण कार्य सम्पन्न गरे पनि हालसम्म भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले शुक्रवार जनकपुरमा प्रदर्शनसहित उनीहरूको राजीनामा माग गरेको छ ।
प्रदर्शनकारीहरूले प्रदेश- २ का मुख्यमन्त्रीसहित माथि उल्लिखित मन्त्रीहरूको तस्वीरमा जुत्ता प्रहार गरेर सांकेतिक विरोध जनाइरहँदा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश चौधरी र शंकर साहलाई तत्कालै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषा लगेको छ ।
वि.सं.२०७६ माघ ३ शुक्रवार १५:१६ मा प्रकाशित






























