३ माघ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सम्पन्न भएको छ । सिंहदरबारमा शुक्रवार बसेको दलको बैठकले संसदको जारी अधिवेशनबाट अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी पारित गर्न दबाब दिने निर्णय गरेको छ ।
बैठकले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी संसदको जारी अधिवेशनबाट तत्काल पारित गर्न दबाब दिने लगायतका निर्णय गरेको कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।
कांग्रेस संसदीय दलको बैठकले सभामुखको निर्वाचन प्रक्रिया तत्काल अघि बढाउनसमेत माग गरेको छ । सभामुख चयनको प्रक्रिया शुरु भएपछि कांग्रेसले सत्तारुढ दलसँग समेत सभामुखका बारेमा छलफल गर्ने निर्णय गरेको बताए ।
कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसका महिला सांसदहरुलाई जथाभावी रुपमा बोल्दै नहिँड्न सचेत समेत गराउने निर्णय गरेको जानकारी दिए । हालै मात्र कांग्रेस नेतृ सुजता कोइरालाले लिपुलेख भारतलाई दिनुपर्ने अभिव्यक्ति दिएपछि विवादमा तानिएकी थिइन् ।
वि.सं.२०७६ माघ ३ शुक्रवार १६:१८ मा प्रकाशित






























