१० माघ, काठामाडौं । बिहिबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा राजपाका २ उम्मेद्वार विजयी भएसँगै नेकपासँगको गठबन्धन राजपालाई फापेको चर्चा भैरहेको छ । नेपाली कांग्रेस र समाजवादी पार्टीले खाता खोल्न नसकेको अवस्थामा नेकपाले १६ र राजपाले २ स्थानमा विजयी भए । यो जीतसँगै राजपा अब सरकारमा जाने चर्चा भैरहेको छ ।
सरकारमा जानेबारे यस्तो शर्त
समाजवादी पार्टी सरकारबाट बाहिरिएको फाइदा राष्ट्रियसभा निर्वाचनमा उठाएको राजपा सरकारमा सहभागि हुनेबारे भने चासो देखाएको छैन । बाहिर चर्चा भएजस्तो सरकारमा सहभागि हुने र प्रदेश २ को सरकार पनि राजपाको नेतृत्वमा नेकपा राजपाको सरकार बन्ने सम्भावना नरहेकोराजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले बताए । राजपा सरकारमा जाने कुरा कल्पनामा पनि नआएको उनले बताएका छन् ।
अहिले सरकारसँग भएको सहमति राष्ट्रियसभा निर्वाचनका लागि मात्र भएको भन्दै यो सहमतिले सरकारमा जाने कुरा नसमेटिएको उनले बताए ।उनले संविधान संशोधनको मुद्दा आफ्नो बटमलाइन भएकाले त्यसको सम्बोधन नभएसम्म सरकारको कुरा धेरै टाढाको भएको बताए ।
उपसभामुखबारे
सभामुखमा नेकपाका उम्मेद्वार अग्नी सापकोटालाई समर्थन गरेको राजपाले उपसभामुखमा भने रुचि देखाएको छ । यद्दपी पाटीको आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन । उपसभामुखमा नेकपाको धारण बुझेर मात्र आफ्नो धारणा सार्वजनिक गर्ने राजपाको रणनीति छ । नेकपाले जस्लाई समर्थन गर्छ उही पार्टीले उपसभामुख जित्ने अवस्था रहेकोले अहिले नै उपसभामुखमा दाबी गरेर पंगु बन्न नहुनेमा राजपाका शिर्ष नेताहरु एकमत छन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतालाई सभामुखमा सहयोग गर्ने बताएकोले पनि राजपा नेकपासँग हच्किएको छ । ओलीबाट ग्रीन सिग्नल पाएपनि राजपाले नेकपाबाट आधिकारिक धारणा आएपछि मात्र उपसभामुखमा दाबी गर्ने या नगर्ने निर्णय लिने बुझिएको छ ।
एमसीसीको पक्षमा राजपा
अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई राजपाले नेपालका लागि आवश्यक रहेको बताएको छ । महतोले भने, ‘एमसीसीका बारेमा पार्टीले आधिकारिक निर्णय लिएको छैन् । हामीले सुने अनुसार यो नेपालको विकास र समृद्धिका लागि हो भन्ने छ । यसलाई ठीकै मान्नुपर्छ ।’ एमसीसीलाई अवस्यकताअनुसार संशोधन गरेर पारित गर्न सकिने महतोले बताए ।
वि.सं.२०७६ माघ १० शुक्रवार ११:४० मा प्रकाशित





























