१९ माघ, काठमाण्डौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले फोनिजका पूर्वमहासचिव प्रदीप थापा थापालाई सम्मान गरेको छ ।
अमेरिकाबाट संचालित नेपालीज्मका प्रधानसम्पादक समेत रहेका थापाको ५० औं जन्मदिनका अवसरमा शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका अवसरमा समाजशास्त्री डा. कृष्ण भट्टचन, फोनिजका अध्यक्ष दण्ड गुरुङ र महासचिव तथा उपपराष्ट्रपतिका प्रेस सल्लाहकार मनोज घर्तिमगरले थापालाई शिरमा फेटा लगाइदिएर सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा फोनिजका अध्यक्ष दण्ड गुरुङले फोनिज स्थापनाको २० औं वर्षको अवसरमा थापालाई सम्मान गरिने घोषणा गरिएको भएपनि सम्मानपत्र अहिले हस्तान्तरण गरिएको बताएका थिए ।

उक्त अवसरमा पत्रकार थापाले अमेरिकामा रहेर युएस नेपाल अनलाइनमार्फत् अमेरिकामा रहेका नेपालीहरुका लागि निभाएको सक्रिय भूमिकाको प्रसंसा गरिएको थियो । झण्डै १२ वर्ष युएस नेपाल अनलाइन चलाएका थापाले हालै नेपालीज्म नामक अनलाइनको सुरुवात गरेका छन् । उनले पहिले थोरैको संख्यामा अमेरिकामा रहेका नेपालीको लागि युएस–नेपाल अनलाइन चलाएको भएपनि अहिले नेपालीको संख्या बढ्दै गएकोले मिडियाको नाम परिवर्तन गरेर नेपालीज्मडटकम राखिएको बताएका थिए ।

उक्त कार्यक्रममा प्रदेश नं २ का प्रमुख तीलक परियार, अमेरिकाको न्युयोर्कका लागि पूर्ववाणिज्यदूत तथा साहित्यकार कृषु क्षेत्री, अष्ट्रेलियाका लागि पूर्वराजदूत लक्की शेर्पा, सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिकाका प्रमुख वंशलाल मोक्तान पूर्वसांसद फटिक थापा, प्राध्यापक तथा समालोचक डा. खगेन्द्र प्रसाद लुइटेल, समाजशास्त्री डा. कृष्ण भट्टचन, वरिष्ठ साहित्यकार उषा शेरचन, वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, वरिष्ठ गायिका तारा थापा, साहित्यकार नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाई गायक तथा बाल्टिमोरका लागि नेपालका महावाणिज्यदूत प्रेमराजा महत, पूर्वसंचारकर्मी तथा अधिकारकर्मी भारती थपलिया गिरी, अन्नपूर्णपोष्टका सम्पादक अखण्ड भण्डारी, पत्रकार तथा साझा पार्टी नेपालका नेता प्रकाशचन्द्र परियार लगायतले थापाले मिडिया क्षेत्रबाट नेपाली समुदायमा पुर्याएको योगदानको प्रसंसा गर्दै ५० औं जन्मदिवसको शुभकामना व्यक्त गरेका थिए ।

अस्मिता परियार र कृष्टिना थापाद्धारा संचालित उक्त कार्यक्रममा सामाजिक अभियन्ता इन्दिरा राना मगर, दिक्षा चापागाईँ, मगर फिल्मका निर्देशक संजोग लाफा मगर डा. प्रमोद ढकाल, डा.राम आर्चाय, लिला लुइटेल, साहित्यकार भगिरथी श्रेष्ठ, पत्रकार गणेश पाण्डे, क्यानडामा रहेका लायन्स मित्र काफ्ले, एड्वान नेपालकी महासचिव विन्दु थापा परियारलगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा डा. विष्णुमाया परियारले उपस्थित सम्पूर्णमा धन्यवाद व्यक्त गरेकी थिइन् ।

वि.सं.२०७६ माघ १९ आइतवार १६:०१ मा प्रकाशित






























