१९ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीले राजनीतिक प्रतिवेदन सर्वसम्मत पास गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । त्यसक्रममा उनले राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएको इण्डो प्यासिफिक रणनीति अमेरिकाले चीनलाई घेर्न ल्याएको भन्ने शब्द हटाइने र अबदेखि पार्टीका दस्तावेजमा कूटनीतिक मर्यादा अनुकुलका शब्दहरुमात्र राखिने बताएका थिए ।
केन्द्रीय कमिटीले राजनीतिक प्रतिवेदन पास गरेसँगै नेकपा नेता तथा सचिवालय सदस्य बामदेव गौतम वैधानिक रुपमा पार्टीको उपाध्यक्ष भएका छन् । केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएसँगै गौतम उपाध्यक्ष बनेका हुन् ।
गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकले गरेको थियो । विधानमा संशोधन गर्नुपर्ने भएकाले स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा ल्याएर वैधानिक प्रक्रिया पुरा गरिएको हो ।
वि.सं.२०७६ माघ १९ आइतवार १६:१९ मा प्रकाशित






























