
काठमाण्डौं जिल्ला अदालतले चेक बाउन्सको मुद्दामा मोडल खुश्वु ओलीलाई दुईवर्षको जेल सजाय सुनाएको छ ।
सप्तरीका गोपाल कटुवालसँग दुई वर्ष अघि लिएको ३६ लाख रुपैयाँ नतिरेपछि कटुवालले ओलीविरुद्ध अदालतमा मुद्दा दायर गरेका हुन् । न्यायाधिश श्रीकृष्ण भट्टराईको एकल इजलासले ओलीलाई उक्त सजाय सुनाएको बताइएको छ ।
ओलीले कटुवाललाई रकमको चेक दिएपनि उनको खातामा रकम नभएपछि चेक बाउन्स भएपछि उनले पैसा पाएनन् । त्यसपछि कटुवालले ओलीविरुद्ध मुद्दा हालेका थिए ।
उक्त मुद्दामा गत जेठमा ओलीलाई तीनमहिना जेल सजाय र ३ हजार जरिवानासहित कटुवाललाई तिनुपर्ने पैसाको साँवा ब्याजसहित तिर्न आदेश दिएपनि अदालतको आदेश कार्यान्वयन नभएको भन्दै कटुवालले जिल्ला अदालतमा फैसलाको कार्यान्वयनको माग गर्दै निवेदन दिएका थिए ।
उक्त निवेदन पछि जिल्ला अदालतले म्याद तामेली सम्बन्धी वडामा र वडाले म्याद तामेल गर्दा पनि ओली उपस्थित नभएपछि पुन जरिवाना र बिगो बमोजिम कैद माग गर्दै २८ पुसमा फेरि मुद्दा दायर गरेका थिए । सोहि मुद्दाको फैसला गर्दै अदालतले ओलीलाई दुई वर्षको सजाय सुनाएको बताइएको छ ।
त्यस्तै चर्चित अभिनेता अनमोल केसीमाथि ठगीविरुद्धको उजुरी परेको छ । केसीमाथि फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरमेन्ट प्रालिबाट निर्माण हुन लागेको ‘धुपौरे’ मा खेल्ने सहमति गरे पनि केसीले फिल्म नखेलेर आफूहरुलाई धोका दिएको भन्दै ठगी मुद्दा दायर गरेको बताइएको छ ।
केसीले उक्त फिल्म खेल्नका लागि ५ लाख एडभान्स लिएको, तीन महिनासम्म जिम र एक्टिङ क्लासका लागि थप २ लाख ५० हजार र फिल्मका लागि अन्य कलाकार र टेक्निसियनलाई समेत ३० लाख अग्रिम रकम दिन लगाइ आफू सम्पर्क विहिन भएको पनि उजुरीमा उल्लेख रहेको बताइएको छ ।
वि.सं.२०७६ फागुन १७ शनिवार १३:५९ मा प्रकाशित