नेकपाका केन्द्रीय सदस्य नारायण शर्माले यदु गौतम काण्ड अनपेक्षित र पीडा दायी भएको बताएका छन् । तत्कालिन नेकपा एमालेका रुकुम सचिव यदु गौतमको २०५५ फागुन २१ गते हत्या भएको थियो ।
आजैका दिन यदु गौतमको स्मृति गर्दै नेता नारायणशर्माले यदु गौतमको संस्मरणमा श्रद्धान्जलि शब्दसहित लेखेका संस्मरण यहाँ प्रस्तुत गरेका छौं ।
हार्दिक श्रद्धाञ्जली क. यदु गौतमप्रती !
दाङमा गुरुको नामले चिनिनुहुन्छ बर्गदी निवासी बहुमुखी प्रतिभा नारायण गुरु । सबैले उहाँलाई गुरुजी भन्छौं र उहाँ साँच्चिकै सबै सचेत र शिक्षित दङालीका गुरु नै हुनुहुन्छ । तर त्यही दाङमै त्यही नामकै र लगभग त्यही कामकै अनुशरण गरेकै कारणले होला मलाई यदुजीले नारायण गुरु नै भन्ने गरेको कहिल्यै बिर्सन सक्दिन ।
२०३७ सालमा दाङ जिल्ला पार्टीले रुकुममा शिक्षकको कभरमा पार्टी काम गर्ने र रुकुमको कम्युनिस्ट आन्दोलनलाई गति दिने भनेर मलाई चौरजहारी माविमा पठाएपछी यदुजीसङ्ग त्यहीं भएको प्रथम भेटबाटै हामी दुई मात्र होइन पूरै परिवार नै अत्यन्त नजीक भयौं र यस्तो सम्म विश्वास गर्ने वातावरण बन्यो कि जीवनसङ्गिनी पनि मैले प्रस्ताव गरेपछी हेर्दै नहेरी, सोधपुछै नगरी सहर्ष स्वीकार गर्नु भयो । मैले जति कोसिस गरेपनी भेटघाट र कुराकानी गराएर मात्र बिहे गर्ने गराउन सकिन । ४० रु.को एउटा नयाँ साडी र ५० पैसाको थोरै सिन्दूर र अवीरले प्युठानी कम्युनिस्ट आन्दोलनका एक हस्ती सालिकराम भण्डारीकी छोरीको रुपमा रहेकी भान्जी तीर्था, जो अहिले सांसद हुनुहुन्छ, सङ्ग विवाह गराइएको कुरा पनि अहिलेसम्म अद्वितीय र अविस्मरणीय नै लाग्छ ।
नेपालको क्रान्तिकारी अखिलको आन्दोलनमा र राप्तिको कम्युनिस्ट आन्दोलनमा यदुजी एक भिन्नै परिचय हो । खासगरी “सादा जीवन र उच्च विचार तथा कठोर संघर्ष र कडा परिश्रम“ का दृष्टिले ! साथै, वैचारिक तीक्षणता, पार्टीगत सकृयता, व्यावहारिक कार्यकुशलता, कार्यकर्तासङ्गको आत्मीयता र सामाजिक सेवा अनि पारिवारिक मित्रता र अन्तर्घुलनजस्ता विलक्षण गुणहरुले पूर्ण यदुजीलाई चिन्ने जो कसैले पनि बिर्सन सक्ने व्यतित्व होइन उहाँ ।
पहिले नेकपा चौथो महाधिवेसन पक्षका हुँदै मशाल र माओवादीसम्म आइपुग्दा नपुगदै पार्टीको जनयुद्धको नीतीप्रति असहमति प्रकट गरि यदुजी तत्कालीन एमालेमा पुग्नु हुँदा हामीले अर्थात् माओवादी पार्टी र नेता (कार्यकर्ताले भन्यौं कि उहाँले ‘३ ग’ गर्नुभयो अर्थात् गडबडी गर्नुभयो, गल्ती गर्नुभयो र गद्दारी गर्नुभयो । फलस्वरूप त्यस्तालाई दण्ड दिने तत्कालीन पार्टीको केन्द्रीय नीति र जिल्ला पार्टीको निर्णय अनुसार उहाँ चेतावनी हुँदै सफायासम्मको अनपेक्षित कार्वाहीमा पर्नु भयो जो नेपाली कम्युनिस्ट आन्दोलनमा एक अभूतपूर्व, अनपेक्षित, अद्वितीय र अविस्मरणीय घटना÷दुर्घटनाको रुपमा पीडादायी बनेर रहिरहेको छ ।
यस सन्दर्भमा सबभन्दा दुखद विडम्बना र दुर्भाग्य के भयो भने केही बर्षको अन्तरालमा नै हजारौं सहिद, बेपत्ता, घाइते–अपाङ्ग, जेलनेल र घरबारबिहीन भएपछी मूल नेतृत्वसहित हामी माओवादीहरु सबैजसो त्यही एमाले, जो झन् पछि झन् सुधारवादी र उदारवादी हुँदै आएको स्पष्ट छ, मा मिसियौं र हामीले त्यसलाई महान र ऐतिहासिक एकता नाम दियौं । यस कोणबाट हेर्दा के देखिन्छ भने कि त यदुजी निकै दूरदर्शी राजनीतीज्ञ हुनुहुन्थ्यो र उहाँले हिंजै सही पार्टी र बाटो अबलम्बन गर्नु भएको थियो, कि भने आज हामीले गरेको एकता नै उही यदुजीले गरेजस्तै गडबडी, गल्ती र गद्दारी हो भन्नुपर्ने हुन्छ ।
हुनपनी अहिले हाम्रो एकीकृत पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसका उच्च–सर्वोच्च नेता र पार्टी नेतृत्वको दुईतिहाइको शक्तिशाली सरकारका उच्च–सर्वोच्च पदस्थ शासक–प्रशासकहरुका मति, गति र नियत नियती हेर्दा हामी पूर्व सच्चा माओवादीले नै गल्ती गरेछौं कि भन्ने भान हुन्छ ! यदी त्यस्तो होइन भने हिजो यदुजीले पनि गल्ती गर्नु भएको थिएन भन्ने निष्कर्ष निस्कन्छ र हामीले पश्चात्ताप गर्नुपर्ने हुन्छ । हामीले भन्नै पर्ने पनि हुन्छ र भएको छ कि यदुजी महान् हुनुहुन्थ्यो । उहाँको मरण महान् थियो र उहाँ अजर र अमर हुनुहुने छ ।
हार्दिक श्रद्धाञ्जली कमरेड यदु गौतम ! भावपूर्ण सम्झना र सलामी शिष्य यदु गौतम ।
गहिरो समवेदना यदुजीका बुवा उमाकान्त गौतम, जीवनसङ्गिनी तीर्था, भाइ मुक्ती र सुयोग्य सन्तति सुबानीलगायत सबैलाई !
वि.सं.२०७६ फागुन २१ बुधवार ११:२६ मा प्रकाशित






























