back

बाध्यतामा दलहरु

वि.सं.२०७६ फागुन २९ बिहीवार

126 

shares
NTC AD
Global IME AD

नयाँ वर्ष २०७७ आउन बाँकी छ । तर नेपालको राजनीतिमा वर्ष ०७७ एउटा रापिलो र गर्मीलो वर्ष हुने छ भनेर अनुमान भने अहिल्यै गर्न सकिन्छ । वर्ष ०७७ नेपालका सबै जसो मुलधारका राष्ट्रिय दलहरूको महाधिवेशन वर्ष हुने भएको छ । राजकीय सत्ताको मियोको रुपमा रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी देखी वैकल्पिक सत्ताको पहरेदारी गरिरहेको मुख्य विपक्षी दल नेपाली काङ्ग्रेससम्मले ०७७ मै आ–आफ्नो दलका राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने मिति तय गरेका छन् ।

नेकपा र नेपाली काङ्ग्रेस बाहेक दुई नम्बर प्रदेशको मियोमा रहेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले पनि वर्ष ०७७ मै महाधिवेशन गर्ने तयारी गरिरहेका छन् । यी राष्ट्रिय दल बाहेक संवैधानिक राजतन्त्रको पक्षपाती बताउने राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि वर्ष ०७७ मै आफ्नो केन्द्रीय महाधिवेशन सकाइसक्ने जनाएको छ ।

पार्टी सत्ताको मियो छान्ने महाधिवेशनको तयारी दल र तिनका नेताहरूले सुरु गरिसकेका छन् । सबै जसो पार्टीका महाधिवेशन नियमीत भन्दा पनि बाध्यात्मक भएकोले पनि आसन्न महाधिवेशन बढि रापिलो हुने अनुमान गर्न सकिन्छ । नेपालको संविधानमा कम्तीमा पाँच वर्षमा पार्टीको केन्द्रीय महाधिवेशन गर्नैे पर्ने व्यवस्था राजनीतिक दलहरूका लागि गरिएको छ ।

राजनीतिक राप
आसन्न महाधिवेशन सबै राजनीतिक दलका लागि बाध्यताको महाधिवेशन हो । यसकारण पनि वर्ष ०७७ मा महाधिवेशन गर्ने दलहरूको पार्टी सत्तामा पुग्न नेताहरूले सबै खालका उपाय अवलम्बन गर्ने पक्का छ ।

०७७ मा महाधिवेशन गर्ने दलहरूका लागि यो समय संविधानको बाध्यात्मक आवश्यकता हो । यदि मुख्य विपक्षी दल नेपाली काङ्ग्रेसले आफ्नो विधानको धारा १७ को व्यवस्था अनुसार नियमित महाधिवेशन गरेको भए हाल काङ्ग्रेस महाधिवेशनको चरणमा हुने थियो ।
२४ फागुन २०७२ मा शेरबहादुर देउवा नेपाली काङ्ग्रेसको सभापतिमा निर्वाचित भएका थिए ।

यस्तै हालको नेकपा बन्नु भन्दा अगाडिको महत्वपूर्ण राजनीतिक दल नेकपा एमाले आजसम्म रहेको भए उक्त पार्टी पनि महाधिवेशनमै रहने थियो । असार ३१, २०७१ मा पार्टीको नवौँ महाधिवेशनबाट हालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टी अध्यक्ष निर्वाचित भएका थिए ।

यसैगरी राष्ट्रिय जनता पार्टीलाई निर्वाचन आयोगले नै केन्द्रीय महाधिवेशन गर्न ताकेता गरेको छ । यी तीनै पार्टी मध्ये नेकपा र राजपा दुई वा दुई भन्दा बढि पार्टीको एकताबाट बनेका हुन भने नेपाली काङ्ग्रेस निरन्तर रहेको दल हो ।

२०७५ ज्येष्ठ ३ गते दुई ठूला वामदल नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को एकता पछि नेकपा बनेको हो । उक्त दलले एकता प्रक्रियाकै चरणमा दुई वर्ष भित्र महाधिवेशन गर्ने घोषणा गरेको थियो । सोहि घोषणाको दबावले उक्त दलले ०७७ चैत्र २५ मा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

यसैगरी ७ वैशाख २०७४ मा तराई केन्द्रीत ६ राजनीतिक दलहरू मिलेर राजपा नेपाल गठन भएको हो । उक्त दलले पनि एकताकै चरणमा दुई वर्ष भित्र महाधिवेशन गर्ने घोषणा गरेपनि तीन पटकसम्म महाधिवेशन सारीसकेको छ । यसकारण पनि नेकपा र राजपामा नेतृत्व चयनको काम रापिलो बनेको छ ।

यस्तै नेपाली काङ्ग्रेस भित्र पनि गुटहरूको चलखेल र नेताहरूको जुँगाको लडाईले काङ्ग्रेसको पार्टी सत्तामा को हावी होला भन्ने अनुमान गर्न सकिने अवस्था बनेको छैन । तर पार्टी सत्तामा पुग्न काङ्ग्रेस भित्र पनि अन्य दलमा जस्तै सबै खालका उपाय अवलम्बन हुनेमा शंका गर्नु नपर्ने बताइन्छ ।

उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी पार्टीले पनि यसै वर्ष महाधिवेशन गर्नुपर्ने हुन्छ । २०७१ जेठमा संघीय समाजवादी पार्टीसगँ र २३ वैशाख २०७६ मा नयाँ शक्ती पार्टीसँग एकता गरी बनेको समाजवादी पार्टी नेपाल पनि ०७७ मै महाधिवेशन गर्ने तयारीमा छु ।
डा. बाबुराम भट्टराई, अशोक राई जस्ता नेताहरू रहेको समाजवादीमा पनि पार्टी सत्ताका लागि तिब्र प्रतिस्पर्धा हुने पक्का छ ।

यता राजावादी मानक तयार पारेको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि ०७७ को सुरु मै महाधिवेशन गर्ने गरी अगाडि बढेको छ । अध्यक्ष कमल थापालाई ‘काउन्टर’ गर्ने नेतृत्व नभएपनि फुटको इतिहास नै. निर्माण गरेको राप्रपामा अन्य पदको बाँडफाँड उत्तिकै जटिल मानिन्छ । ०७७ को ज्येष्ठ १५ मा राप्रपाले महाधिवेशन गर्ने तयारी गरेको छ ।

देश दौडाहामा नेकपा
नेकपाको दौड
फागुन ५– बुटवलबाट विशेष अभियानको सुरुवात
फागुन ६– कर्णाली प्रदेशमा विशेष अभियान
फागुन ९– सुदुरपश्चिम प्रदेशमा विशेष अभियान
फागुन १२– गण्डकी प्रदेशमा विशेष अभियान
फागुन १५– बागमती प्रदेशमा विशेष अभियान
फागुन १८– प्रदेश नं २ मा विशेष अभियान
फागुन २१– प्रदेश १ बाट विशेष अभियान समापन

काङ्ग्रेसको कार्यतालिका
नेपाली काङ्ग्रेसको आन्तरीक जीवनमा चौधौँ महाधीवेशनको रक्त सञ्चारीत भइसकेको छ । ०७७ को असोज मसान्त भित्र क्रियाशील सदस्यता नविकरण र वितरण सक्ने काङ्ग्रेसको कार्यतालीका रहेको छ । असोजबाट सुरु भएको महाधिवेशन प्रक्रिया फागुन ७ मा उत्कर्षमा पुग्नेछ । पुष ११ को निर्णय बाट सार्वजनिक कार्य तालीका १३ माघको बैठकले केहि फेरवदल गरेको छ ।

पछिल्लो समय महाधीवेशनका लागि आवश्यक पर्ने संघीय संरचनाको कार्य मध्ये ३३० वटा प्रदेश, क्षेत्रीय र १६५ वटा संघीय क्षेत्रको समायोजनको काम काङ्ग्रेसले सकाएको बताएको छ ।

काङ्ग्रेसको महाधिवेशन तालिका
०७७ असोज मसान्त – क्रियाशील सदस्यता नविकरण र वितरण
०७७ मङ्सीर ९ – वडा अधिवेशन
०७७ मङ्सीर ११ – पालीका अधिवेशन
०७७ मङ्सीर १५ – प्रदेश निर्वाचन क्षेत्र अधिवेशन
०७७ मङ्सीर १७ – संघीय निर्वाचन क्षेत्र अधिवेशन
०७७ मङ्सीर २५ – जिल्ला अधिवेशन
०७७ पुष १५ – प्रदेश अधिवेशन
०७७ फागुन ७ – राष्ट्रिय महाधिवेशन
मुख्य विपक्षी दल समेत रहेको काङुग्रेसले महाधिवेशन तालीकानै सार्वजनिक गरेपनि तयारी भने सुस्त देखिन्छ । संघीयता अनुकुल पार्टी संरचना निर्माण नगरी सकेकोले काङ्ग्रेसको महाधिवेशन प्रभावित हुने होकी भन्ने आशंका समेत गर्न सकिन्छ ।

महाधिवेशन जनतासँग जोडीने मेसो
स्थानीय, प्रादेशीक र संघीय निर्वाचन पछि राजनीतिक दलहरूको जनतासँगको सम्बन्ध बिल्कुलै टुटेको देखिन्छ । ठूला दलका तल्ला कमिटीहरू प्राय निस्क्रिय देखिन्छन् । महाधिवेशन, कमिटीहरूलाई सक्रिय पार्ने र जनतासँगको टुटेको सम्बन्ध स्थापित गर्ने राम्रो जुइनो पनि हो ।

देशको सबैभन्दा ठूलो दल नेकपा दुई ठूला दलको एकता पछि संक्रमणकालीन अवस्थामा छ । केन्द्रको आदेशमा तोकीएका स्थानिय नेतृत्व खासै चलायमान देखिदैनन् । पार्टीका नियमीत बैठक, आलोचना आत्मालोचनाको संस्कृति नेकपाबाट हटिसकेको छ ।
मुख्य विपक्षी दल काङ्ग्रेस पनि उस्तै अवस्थामा छ । अहिलेसम्म नयाँ संरचना अनुसार अन्तरिम समितिलाई निर्माण गर्न नसकेर काङ्गे्रसले पनि अव्यवस्थित दलकै परिचय दिइरहेको छ ।

तराईको महत्वपूर्ण दल राजपामा पनि पुरानै रोग छ । पार्टीको पुरानो धङधङीबाट अझै माथि उठ्न सकेको छैन । पार्टी एकताको ३ वर्ष पुग्नै आँट्दा पनि ६ दलिय घङ्घङीले राजपालाई गिजोलीरहेको छ । संघीय समाजवादीमा पनि तीन क्लस्टरको भिडन्त राम्रै देखिन्छ ।
समाजवादीमा पनि तीन क्लस्टरको भिडन्त राम्रै देखिन्छ । तराईमुलसहित बहुमतको नेतृत्व अध्यक्ष उपेन्द्र यादव, खस आर्यको नेतृत्व डा. बाबुराम भट्टराई र पहाडी जनजातीको नेतृत्व अशोक राइले गरेका छन् । यी तीन क्लस्टरको गुमराहमा समाजवादी रहेको देखिन्छ ।
पार्टीहरू गुटका महासंघ बनिरहँदा तिनको जनता र कार्यकर्तासँगको सम्बन्ध पातलीनु स्वभाविक हो । तर महाधिवेशनले एकपटक फेरि पार्टीहरूलाई कार्यकर्ता र जनतासँग जोड्ने पुलको काम गर्दछ ।

यसकारण अहिले जनतासँग टाढीएका दललाई जनतासँग जोड्न पनि महाधिवेशनले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । आगामी २ वर्ष पछि त फेरि दलहरू निर्वाचनमार्फत जनतासँग जानै पर्दछ । यसैले पनि वर्ष ०७७ सबै दलका लागि महत्वपूर्ण हुने निश्चित छ । वर्ष ०७७ मा महाधिवेशन गर्नु पर्दा निर्वाचनमा असर पर्न सक्ने तर्फ दलहरू सचेत देखिन्छन् ।

समिकरणको वर्ष ०७७
राजनीतिमा समिकरणको खेल भइरहन्छ । वर्ष ०७७ देशका सबै जसो मुख्य दलहरूको महाधिवेशन वर्ष भएका कारण यस वर्षका समीकरणमा धेरैको चासो हुनु स्वभाविक मान्छन राजनीतिक विश्लेषक, श्याम श्रेष्ठ । समिकरणले पार्टी सत्ताको नेतृत्व स्थापित र विस्थापित दुबै गर्ने श्रेष्ठको दावी छ ।

राजनीतिमा समिकरणहरू भत्कीनु र बन्नुलाई स्वभावीकै मानिन्छ । तर वर्ष ०७७ का समिकरणको महत्व तुलनात्मक हिसाबले पेचीलो हुने देखिन्छ । सत्ताको साँचो आफ्नो हातमा लिएर बसेको नेकपामा पूर्व समूह सँगै पूर्व समूहका पनि भित्री उपसमूह छरपस्टै देखिन्छन् । यी समूहले बनाउने र भत्काउने समिकरणले नेकपाको पार्टी सत्तामा राम्रै प्रभाव पार्न सक्छन् ।

समिकरणको खेलबाट मुख्य विपक्षी नेपाली काङ्ग्रेस पनि अछुतो छैन । पार्टी सत्ताका लागि समीकरणको खीचडी विगत भन्दा यसपटक धेरै पाक्ने अनुमान गरिएको छ । नेपाली काङ्ग्रेस भित्र शसक्त नेतृत्वको अभाव खड्कीएको बेला समिकरणको फेरवदलले जसलाई पनि पार्टी सत्तामा पु¥याउने र ओराल्ने सम्भावना रहेको विश्लेषक पुरु आचार्यको विश्लेषण छ ।

समिकरण बन्ने र भत्कीने क्रम केवल नेकपा र काङ्ग्रेसमा मात्रै सीमित नहुने आङ्कलन गर्न सकिन्छ । यी दुई दलमा भन्दा अझ बढि समिकरणको खेल तराई केन्द्रीत दलहरूमा हुन्छ । समाजवादी र राजपाले वर्ष ०७७ मा महाधिवेशन गरेभने सबै भन्दा बढि समिकरणको चलखेल यी दुई दल भित्र हुने बताइन्छ ।

शिर्ष दौड
राजकीय सत्ता प्राप्तीको महत्वपूर्ण प्रवेशद्वार पार्टी सत्ता हो । महाधिवेशनले पार्टी सत्ताका लागि यस्तो द्वार खोल्छ । यसैले नेताहरू पार्टी सत्ताको प्राप्तीका लागि हरेक किसीमका उपाय अवलम्बन गर्न पछि पर्दैनन् ।

वर्ष ०७७ मा हुने प्राय सबै दलको महाधिवेशनमा शिर्ष नेतृत्वका लागि दौड अहिलेबाटै सुरु भएको छ । सत्तारुद्ध दल नेकपामा वर्तमान अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टी सत्ताको शिर्ष दौडका सबैभन्दा ठुला दावेदार हुन् । पार्टी श्रोतका अनुसार ओलीले दोहो¥याउन चाहे उनको विपक्षमा निर्वाचन लड्ने नेतृत्व नै नहुने सम्भावना वढि छ ।

नेकपाको एकताका महत्वपूर्ण पात्र तथा वर्तमान अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ओली जस्तै अर्का नेता हुन् जसले एकपटक नेकपाको कमान्ड समाल्न चाहान्छन् । दाहाललाई एकताकै समयमा निर्विरोध अध्यक्ष बनाउने भित्री सहमतिले पनि दाहालको यात्रालाई आगामी महाधिवेशनमा सहज हुने देखिन्छ ।

दाहाल बाहेक पूर्व महासचिव तथा वरिष्ठ नेता माधव कुमार नेपाल पनि उक्त दौडका दरीला ‘क्याडेट’ हुन् । तत्कालीन नेकपा एमालेको ०५० देखी ०६५ सालसम्म एकल नेतृत्व गरेका नेपालको यात्राले दाहाललाई कति सहज या असहज बनाउला त्यो त समयले नै बताउला । ओली, दाहाल र नेपाल बाहेक उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्यहरू ईश्वर पोखरेल र रामबहादुर थापा पनि अध्यक्षका प्रत्यासी मान्न सकिन्छ ।

मुख्य विपक्षी दल नेपाली काङ्ग्रेसमा पनि यो दौडमा धेरै नेता देखिन्छन् । वर्तमान सभापति शेरबहादुर देउवा एकपटक जसरी पनि दोहोरिन चाहान्छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल देउवालाई रोकेर उक्त ताज आफूले लिने हतारो मै छन् ।

देउवा र पौडेललाई यसअघिनै ‘काउन्टर’ गरीसकेका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि सभापति दौडका शसक्त उमेदवार हुन् । पछिल्लो समय वंश राजनीतिले दक्षीण एसीयामा कमाल देखाउन नसकेको अवस्थामा नेपालबाट वंश राजनीतिको मियो धान्ने उद्देश्य महामन्त्री डा. सशांक कोइरालाको भए त्यसलाई अन्यथा भन्न नमिल्ने जानकारहरू बताउँछन् । वी.पी. कोइरालाका पुत्र सशांक बाहेक नोना पुत्र डा.शेखर र गिरिजा पुत्री सुजाता कोइरालाले पनि वंश राजनीतिको आडमा सभापतिमा आँखा लगाउनु अस्वभावीक भएन ।

वंश राजनीतिका अन्य दुई नेताहरु उपसभापति बिमलेन्द्र निधी र पूर्व महामन्त्री प्रकाशमान सिंह पनि सभापतीका लागि दौडिएका नेता हुन् । जननायक गणेशमान सिंहका पुत्र प्रकाश सँग गणेशमानको लिगेसी छ भने विमलेन्द्रलाई भद्र, सालीन र तराइका निष्ठा मानिने पुर्व महामन्त्री महेन्द्र नारायण निधीको लिगेसी रहेको छ ।

विमलेन्द्र र प्रकाश बाहेक अर्का नेता अर्जुननरसिंह केसीले पनि सभापतिमा उठ्न सक्ने सन्देश दिइसकेका छन् । तराई केन्द्रित दलहरू मध्ये राजपाको शिर्ष दौडमा सबै छ नेताहरू देखिन्छन् । भने समाजवादीमा पनि डा. भट्टराई, यादव र राईको दाबीलाई स्वभावीक मान्न सकिन्छ ।

रापमा राजपा
तराईका छ वटा दल एकिकृत भएर बनेको राजपामा महाधिवेशनको सकस देखिन्छ । उक्त दलले महाधिवेशन गर्न नसकेर २ पटक विधान संशोधन र तिन पटक महाधिवेशन स्थगन भएको छ ।

राजपा नेतृत्व असार मसान्तसम्म महाधिवेशन गर्ने बताइरहन्छ । तर ६ दलका ६ वटा टाउकाको छ थरी विचारले आगामी असार मसान्त पनि ढल्किने हो की भन्ने आशंका गरिएको छ ।

राजपाको रौतहटमा तीनवटा समानान्तर जिल्ला कमिटी गठन गरिएको छ । ०७५ अशोजमा महाधिवेशन गर्ने गरी सदस्यता नविकरण र वितरण गरिएपनि सदस्यता नविकरण र वितरण सकिएको छैन । बारा, पर्सा, कपिलवस्तु र काठमाडौँमा दुई–दुई वटा समानान्तर जिल्ला सतितिहरू रहेका छन् ।
राजपा यात्रा
०७४ बैशाख – ७ राजपा गठन
०७४ बैशाखमै – दुई वर्ष भित्र महाधिवेशन गर्ने घोषणा
०७५ बैशाखमा – पुरानो घोषणा सच्चाइयो
०७६ बैशाख ७ – ९ – महाधिवेशन गर्ने घोषणा
०७६ बैशाख ८– ११ – पदाधिकारी बैठक
०७६ असार – २९ महाधिवेशन मिती तय

बाध्यताको महाधिवेशन
सबै पार्टीका आसन्न महाधिवेशन बाध्यताका महाधिवेशन हुन । यसकारण आउँदो महाधीवेसन रापिलो र तापिलो हुने निश्चित छ । अझ समिकरणमा आउने सम्भावीत परिवर्तनले महाधिवेशनलाई अझ रोचक हुने निश्चित छ । नेपालको संविधान २०७२ को भाग २९ धारा २६९ उपधारा ४ (क) मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनु पर्छ भन्ने व्यवस्था छ ।

यस व्यवस्थाको बाध्यताले अहिले दलहरूलाई थिचेको छ । नेकपा र नेपाली काङगे्रससहित सबै दलको आसन्न महाधिवेशन बाध्यताको महाधिवेशन भएको छ । समयमा महाधिवेशन गर्न नसक्दा अवैध भइने डर दलहरूलाई छ । महाधिवेशन समयमा गर्नै पर्दा शक्तिको दौड दौडिनु पर्ने बाध्यता दल र तिनका नेतालाई छ ।

काङ्ग्रेसको महाधिवेशन : विचार, संगठन र निर्वाचनको संगम
पुष्पा भुषाल, केन्द्रीय सदस्य नेपाली काङ्ग्रेस
महाधिवेशन पार्टीको सबैभन्दा निर्णायक निकाय हो । हामी पार्टीको चौधौँ महाधिवेशनको तयारीमा छौँ । पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकले तय गरेको कार्यतालिका अनुसार पार्टीको महाधिवेशन केन्द्रित गतिविधीलाई बढेका छन् ।

अहिले नेपालको राजनीतिमा कम्युनिष्ट धार शक्तीशाली भएकोले प्रजातान्त्रीक धारको नेता पार्टीको रुपमा नेपाली काङ्ग्रेसलाई स्थापित गराउने चुनौती हामी माझ छ । यसकारण चौधौँ महाधिवेशन खास हुने छ । यस महाधिवेशनमा काङ्ग्रेसले नेतृत्व निर्वाचित मात्रै गर्ने छैन, विचारमा पनि शसक्तीकरण गर्ने छ ।

राजनीतिक दल सम्बन्धी नयाँ ऐन आएपछिको महाधिवेशन भएकोले समावेशीता पनि दलको महाधिवेशनको मुख्य एजेन्डा हुने छ । महिला लगायतका मुख्य क्लस्टर व्यवस्थापनमा काङ्ग्रेस पहिलो पार्टी बन्ने निश्चित छ ।

यस बाहेक महाधिवेशनको मुख्य एजेन्डा विचार, संगठन र निर्वाचननै हुनेछ । प्रताजन्त्रको थियो धान्न हामीले अझै कोशीस गर्नु पर्ने छ । यसकारण विचार मन्थन यो अधिवेशनको मुख्य एजेन्डा हो । लगत्तै हुने स्थानीय निर्वाचनको सुक्ष्म तयारी पनि आशन्न महाधिवेशनको एजेन्डा बन्ने छ ।

एकता महाधिवेशन सानदार र सम्झन लायक हुनेछ
राम कुमारी झाँक्री, केन्द्रीय सदस्य,नेकपा
कम्युनिष्ट पार्टीका लागि महाधिवेशन सबैभन्दा महत्वपूर्ण अङ्ग हो । दुई ठूला बाम दलहरूको एकता पछि हुन लागेको महाधिवेशन भएकोले यस महाधिवेशनले ज्यादै महत्व राख्छ भन्ने मेरो मान्यता हो ।

महाधिवेशन आउन अझै १३ महिना बाँकि रहेकोले तयारीको समय यथेष्ट छ । यो समयलाई नेतृत्वले तल देखी माथी सम्म संगठन सुदृढीकरणमा लगाउनु पर्छ ।

कम्युनिष्ट पार्टीको महाधिवेशन भएकोले विचारको वहस महत्वपूर्ण हुने भइ हाल्यो । यसका लागि ३ महिने अभियानले महत्वपूर्ण भुमिका खेल्ने छ । बैशाखभरीमा एकताका सबै बाँकी काम टुङग्याएर भदौ सम्म संगठन र वैचारिक रुपमा पार्टीलाई स्थापीत गराउने जिम्मा अहिले हाम्रो काँधमा रहेको छ ।

मैले देखेको, आगामी महाधिवेशन नेकपाको लागि असाध्यै सानदार र स्मरणीय हुने पक्का छ । आशन्न अधिवेशनले वैचारिक रुपमा नेकपालाई अझ शसक्त बनाउने पक्का छ ।

समाजवादीमा महाधिवेशनको पत्तो नै छैन
रेणुका गुरुङग,केन्द्रीय सदस्य, समाजवादी पार्टी
वर्ष ०७७ प्राय सबै राजनीतिक दलहरूको महाधिवेशन वर्ष हो यसवाट समाजवादी पार्टी पनि अछुतो छैन । हाम्रो पार्टीले पनि छिट्टै महाधिवेशन गर्नैपर्दछ । पछिल्लो समय नयाँ शक्ति सँग एकतापछि पार्टीले महाधिवेशन नगरेको अवस्थामा आसन्न महाधिवेशन एकदमै महत्वपुर्ण हुन्छ भन्ने मलाई लागेको छ ।

समाजवादीको आगामी महाधिवेशनमा चर्चा हुने मुख्य विषय समावेशिता नै हो । यो समस्या समाजवादीमा मात्र छैन नेपालका सबै दलमा छ । अरु दलमा जस्तै समाजवादीमा पनि ३३ प्रतिशत महिला नेतृत्वमा छैनन् । हाम्रो महाधिवेशनमा मुख्य छलफलको विषय यहि हुन्छ ।

तर दुःखको कुरो हाम्रो पार्टीमा अहिलेसम्म महाधिवेशनको खास छलफल भएको छैन । तर हामी ०७७ मै पार्टीको महाधिवेशन होस भन्ने चाहन्छौँ । यसभन्दा ढिलो गर्दा आगामी स्थानीय र आम निर्वाचन प्रभावित हुन्छ । यसैले ०७७ मै महाधिवेशन गर्नुको विकल्प छैन ।

वि.सं.२०७६ फागुन २९ बिहीवार १५:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

१. विषय–प्रवेश नेपाल र अष्ट्रेलिया बहुआयामिक सम्बन्ध भएका दुई मित्र...

लघुवित्त अराजक गतिविधीको चेपुवामा   – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त अराजक गतिविधीको चेपुवामा – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त सामाजिक व्यवसाय भएता पनि व्यापारी बन्न पुग्यो र नाफा...

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

ढाड दुख्नेङ विमारीहरूका लागि राडीपाखी वरदान नै हो। हातले बुनेका...

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच...

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

विष्णु गुरुङ एकता,पोखरा हालैका वर्षहरूमा, समाजमा महिलाहरूले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण...