२ चैत, काठमाडौं । १ सय ५१ देशमा फैलिसकेको कोरोना भाइरस (कोभिड १९) को जोखिमसँग जुध्न दक्षिण एशियाली देशहरुले साझा रणनीति बनाउने विषयमा आइतबार (आज) छलफल गर्ने भएका छन् । सार्क क्षेत्रका देशका सरकार प्रमुखहरुले भिडियो सम्वादमार्फत छलफल गर्न लागेका हुन् । भिडियो सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुकी ५ बजेपछि सम्वोधन गर्ने बताईएको छ ।
सिंहदरबारको आफ्नै कार्यकक्षमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओली भिडियो सम्वादमा सहभागी हुने कार्यक्रम छ । भिडियो सम्मेलनमा विभिन्न देशले कोरोनाको सङ्क्रमणसँग जुध्न अपनाइरहेका उपाय, त्यसको अनुभव र अब गर्न सकिने कामकाबारेमा राय प्रस्तुत गर्ने तयारी छ ।
शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरुद्ध लड्नका लागि सार्कले संयुक्त पहल गर्नुुपर्ने भन्दै साझा रणनीति बनाउन प्रस्ताव गरेका थिए । सबै राष्ट्रले मोदीको प्रस्तावमा समर्थन गरेका थिए । सार्क राष्ट्रमा नेपाल, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंका रहेका छन् ।
सार्क राष्ट्रमध्ये भारतमा बाहेक अरु देशमा कोरोना भाइरसको कारण कसैको ज्यान गएको छैन । भारतमा हालसम्म २ जनाको ज्यान गएको छ भने सय बढी संक्रमित भउका छन् ।
वि.सं.२०७६ चैत २ आइतवार १२:२३ मा प्रकाशित






























