२ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणविरुद्धको तयारीबारे राष्ट्रिय सभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् । आइतबारको बैठकमा मन्त्री ढकालले नेपालले कूटनीतिक बाहेक सबै प्रकारका भिसाहरु स्थगित गरिएको जानकारी दिए । उनले सरकारले सबै रणनीतिहरु बनाएर आवश्यक सावधानी अपनाएको पनि बताए ।
उनले वैशाख १८ गतेसम्मका लागि विदेशीलाई दिइने भिसा (कूटनीतिक वाहेकको हकमा) स्थगित गरिएको बताए । साथै, विदेशबाट आउने नेपालीलाई १४ दिनसम्म होम क्वारेन्टाइन राखिने र होम क्वारेन्टाइनमा रहेन बिरामीहरुलाई ज्वरो नाप्ने उपकरण दिइने मन्त्री ढकालले बताए । कोरोनाको संभावित लक्षण देखिएमा होम क्वारेन्टाइनमा रहेका व्यक्तिलाई तत्काल अस्पताल ल्याउने गरी व्यवस्था मिलाइएको पनि मन्त्री ढकालले बताए ।
यस्तै, नेपाल आउने विदेशीले पनि अनिवार्य रुपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरिने पनि बताए । साथै उनले सबै जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला तहमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको जानकारी दिए ।
जनतालाई आफ्नो सुरक्षा आफैं गर्नु, सरकारले केही गर्न सक्दैनन भनेको के हो ? भनि सांसद सोधेको प्रश्नमा उनले जनतालाई सजग रहन होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको उनले स्पष्ट पारे । संक्रमण देखिए सरकारले होम क्वारेन्टाइनमा रहेकाहरुलाई सरकारले अस्पतालमा ल्याउने उनको भनाई थियो ।
वि.सं.२०७६ चैत २ आइतवार १४:०९ मा प्रकाशित






























