फाइल तस्विर
५ चैत, पेरिस । मङ्गलबारसम्म विश्वभर कूल एक लाख ८७ हजार ३८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने यसका कारण सात हजार ४७७ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये कुल ८० हजार ८४८ जना निको भएर घर फर्किएका छन् भने अझै ९९ हजार ५० जनाले सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् ।
उपचारारतमध्ये ९२ हजार ५५९ जना अर्थात ९३ प्रतिशत व्यक्तिमा सामान्य खालको सङ्क्रमण देखिएको छ भने ६ हजार ४९१ अर्थात सात प्रतिशत व्यक्तिमा जटिल खालको सङ्क्रमण रहेको छ ।
चीनमा मङ्गलबारसम्म ८० हजार ८८१ व्यक्तिमा सङ्क्रमण भएकोमा तीन हजार २२६ जनाको उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै नयाँ सङ्क्रमितको सङ्ख्या २१ र विगत २४ घण्टामा १३ जनाको मृत्यु भएको एएफपीले विभिन्न स्रोतहरूबाट लिएको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि बढी प्रभावित यूरोपेली मुलुक इटालीमा २७ हजार ९८० व्यक्तिमा सङ्क्रमण भएको र दुई हजार १५८ व्यक्तिको सङ्क्रमणका कारण मृत्यु भएको छ ।
त्यस्तै इरानमा १६ हजार १६९ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको, मङ्गलबार थप एक हजार १७८ जनामा सङ्क्रमण भेटिएको र सङ्क्रमणका कारण थप १३५ जनाको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसका कारण इरानमा मृत्यु हुनेको सङ्ख्या ९८८ पुगेको छ । (रासस/एएफपी)
वि.सं.२०७६ चैत ५ बुधवार ०९:२६ मा प्रकाशित




























