५ चैत्र । स्पेनमा मङ्गलबार थप दुई हजार व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका अनुसार स्पेनमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमणका कारण ४९१ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ११ हजारभन्दा बढी पुगेको छ ।
कोरोना भाइरसका कारण बढी प्रभावित हुने मुलुकमध्ये स्पेन विश्वमा चौथो र युरोपमा दोस्रो मुलुक बनेको छ । भाइरसका कारण सबैभन्दा बढी चीन प्रभावित बनेको भए पनि पछिल्ला केही दिनमा चीनमा नयाँ सङ्क्रमण दर सरदर एक अङ्कमा झरेको बताइएको छ । चीन पनि बढी प्रभावित मुलुक इटली बनेको छ भने इरान तेस्रो स्थानमा रहेको छ ।
सङ्क्रमणको प्रभाव युरोपका अन्य राष्ट्रहरू फ्रान्स र जर्मनीमा पनि जटिल रहेको बताइएको छ । अमेरिकामा सङ्क्रमणका कारण कूल ९३ जनाको मृत्यु भएको छ भने चार हजार ७४४ जनामा सङ्क्रमण भेटिएको छ ।
वि.सं.२०७६ चैत ५ बुधवार ०९:२८ मा प्रकाशित




























