मुक्तक १
कर्मशीलका मुहारभरी, मुजै-मुजा भएको छ
समृद्ध देश देख्ने चाह, धुजै-धुजा भएको छ
इमान्दारको बद्ख्वाइँ गरी, भ्रष्टहरूले रजाइँ गरी
देश बिरूद्ध लाग्नेको नै, पुजै-पुजा भएको छ ।
मुक्तक २
देशै डुबोस् चिन्ता छैन, चुस्न पाउँदा जुकै हुन्छन्
त्रिनेत्र बल्छ धन देख्दा, चाट्न तयार थुकै हुन्छन्
गरिबलाई सपना बाँड्छन्, ढुकुटीमा आँखा गाड्छन्
जहिले हेरूँ निमुखाका, चिउरा -सातु फुकै हुन्छन् ।
मुक्तक ३
गर्दै नगर्नेको भजन र, नारा सिद्धान्त घोक्नुपर्याछ
अपराधी वा वापती हुन्, पहुँच छ र बोक्नुपर्याछ
थुकेको थुक चाटिएन, आफूले कहिले ढाँटिएन
अगाडी, माथी चम्चे पुग्दा, आफूले सलाम ठोक्नु पर्याछ ।
मुक्तक ४
राजनीतिलाई मान्छेहरू, खै कुन्नि के ठान्छन् कुन्नि ?
अपच भएको सुनिदैन, हजमोला के खान्छन् कुन्नि ?
जनताले चैं सहनु पर्ने, चुप्चाप बसीरहनुपर्ने
सबले थाहा पाउने गरी, जुत्तै किन हान्छन् कुन्नि ?
मुक्तक ५
आदर्श, नीति अनुशासन, सिकाउँथ्यौ उस्तै अर्जीका कुरा
धनमा गाँठो परेपछि त, थालेछौ आफ्नै मर्जीका कुरा
मास्थिर ढाके तल्तिर ह्वाङ्गै, तल्तिर ढाके माथी छ्याङ्गै
ढाकेर कत्ति ढाकिँदैन, शायद तिम्रा फर्जीका कुरा ।
वि.सं.२०७६ चैत ८ शनिवार १०:०४ मा प्रकाशित
























